विमर्श उप्रेती
धुलाबारी / गत असार २ गते एक १७ वर्षीया किशोरी बलात्कृत भएको घटना सार्वजनिक भयो । अहिले उक्त घटनाले समाजलाई तरंगित बनाएको छ ।
किशोरीले बलात्कृत भएको भन्दै न्यायका लागि सम्बन्धित निकायलाई हारगुहार गरिरहेकी छन् । तर, यो घटना लामो समय पश्चात सार्वजनिक हुनुले साँच्चै किशोरीले भनेजस्तै हो या अरु कुनै कारण हुनसक्छ भन्ने विषयले अन्यौलता सिर्जना गरेको छ । यता, अभियुक्त भनिएका विष्णु खड्का सम्पर्क बिहीन छन् । यदि उनी निर्दोष थिए भने किन सम्पर्क बिहीन बने भन्ने प्रश्न चोटिलो बनेको छ । घटना बाहिरिएको भोलिपल्ट इलाका प्रहरी कार्यालय धुलाबारीमा पीडक विरुद्ध किटानी जाहेरी पर्यो । मेचीनगर ९ की ती किशोरीले अभियुक्त खड्का विरुद्ध किटानी जाहेरी दिएकी हुन् । उनले प्रहरीमा दिएको उजुरीमा घरधनी खड्काले आफूमाथि पटक–पटक बलात्कार हुँदै आएको उल्लेख छ ।
गत असार २ गते उनी धुलाबारीमा आपत्तिजनक अवस्थामा फेला परेपछि घटनाको रहस्य खुलेको थियो । घटना बाहिरिकै दिनदेखि आरोपी ६० वर्षीय खड्का फरार छन् । खड्काको पुरानो घरमा भाडामा बस्दै आएको पीडित परिवारले आफू अन्यायमा परेकाले न्यायको माग गर्दै आएका छन् । जाहेरी दिएको झण्डै तीन महिना हुँदा समेत अभियुक्त पक्राउ नपर्दा न्याय पाउनेमा पीडित परिवार विश्वस्त हुन सकिरहेका छैनन् ।
आफू भाडामा बसेको घरको भूईँतलामा खड्काले मदिरा पसल सञ्चालन गरेको र त्यहीबेलादेखि उनले बलात्कार गर्दै आएको पीडित किशोरीको भनाई छ । पीडित किशोरीकी आमाका अनुसार खड्काले ‘ब्ल्याकमेल’ गर्दै करणी गर्दै आएका रहेछन् । उनले सामान्य र विपन्न परिवार भनेरै हामीमाथि यस्तो जघन्य अपराध गर्दै आएको थाहा पाएपछि न्यायका लागि सम्बन्धित निकायमा जाहेरी दर्ता गरिएको बताईन् ।
पीडित किशोरी
म न्यायको पर्खाइमा छु । यदि न्याय मरेको छैन भने त्यस्ता गलत प्रवृत्ति र चरित्रका हरेकलाई कानूनी कार्वाही हुनुपर्छ । र, मात्र यस्ता जघन्य अपराध न्यूनिकरण हुन्छ र मजस्ता धेरै किशोरीहरुले यस्तो नियति व्यहोर्नु पर्दैन । समाजले दोहोरो भूमिका खेलिरहेको छ । यस्तो प्रवृत्तिले गर्दा नै अपराधीहरु उम्कने गरेका धेरै घटनाहरु छन् । तर, मैले जुन अत्याचार सहनु परेको छ त्यो अरुले भोग्नु नपरोस् ।
गोपाल खड्का अध्यक्ष, मेचीनगर ९ नम्बर वडा कार्यालय
उक्त परिवारले रातदिन होहल्ला गर्ने गरेको भन्दै छरछिमेक र स्थानीयले उनीहरुलाई स्थानान्तरणको पहलका लागि सहयोग माग्दै वडा कार्यालयमा निवेदन दिएका थिए । हामीले वडाको सिफारिससहित नगरपालिकामा पठायौं । त्यसपछि नगरपालिकाले पुनः इलाका प्रहरी कार्यालय धुलाबारीमा समस्या समाधानका लागि पत्र पठाएको रहेछ । इलाकाले सो विषय आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने र वडाले नै हेर्नुपर्ने भन्दै पुनः वडामा पत्र पठायो । घटनाको वास्तविकता बुझ्न हामीले सम्बन्धित परिवारलाई पटक–पटक पत्राचार गर्यौं । उनीहरुलाई छलफलमा आउन बारम्बार अनुरोधसहितको पत्र काट्यौं । तर, परिवारका कोही पनि आएनन् । कोही पनि उपस्थित नभएपछि वडाले बाध्य भएर घरमा पत्र टाँस गरेको मात्र हो । वडाले घर छोड्न उर्दी गरेको थिएन । घटनासँग वडालाई जोडेर सञ्चारमाध्यममा आएका समाचारप्रति हामी दुःखी छौं । वडाका विषयमा जसरी खबर सार्वजनिक भए वास्तविकता त्यस्तो थिएन । विकृति विसंगति र अपराधमुक्त बनाउन वडावासी सबै सदैव सजग रहनुपर्छ । घटनाका पीडकलाई सजाय हुनुपर्छ र पीडितले न्याय पाउनुपर्छ भन्ने हाम्रो प्रतिबद्धता हो । त्यही अनुसार वडा कार्यालयले पहल गरेको हो । तर, थर मिलेकै कारण गलत अफवाह फैलाएर मेरो नाम जोड्नु दुःखद छ । वडा कार्यालयमा घरधनी पुष्पा खड्काले उक्त परिवार विगत दुईवर्षदेखि घर भाडामा बसेको, हालसम्म शर्त बमोजिमको भाडा रकम नबुझाएको र उनीहरु सधैं होहल्लाले गाउँ समाजलाई समेत असर परेको हुँदा उनीहरुलाई तत्काल भाडा रकम असुल उपर गरी घर खाली गराइदिनुहुन भन्ने व्यहोरा उपर वडा कार्यालयले छलफलका लागि पटक पटक परिपत्रसँगै बोलाएको हो । त्यसैलाई घर निकाला जस्ता आरोप लगाइएको हो ।
टीकाबहादुर कार्की, प्रहरी निरीक्षक इलाका प्रहरी कार्यालय धुलाबारी
पीडित परिवारबाट विष्णु खड्का विरुद्ध गत असार ३ गते किटानी जाहेरी परेको थियो । त्यसै दिन मुद्दा दर्ता गरेका छौं । अदालतको पक्राउ आदेशपछि फरार अभियुक्तको खोजी कार्य तीव्र पारेका छौं । घटना बारे अनुसन्धान कार्य जारी छ । आरोपी पक्राउ गरेरै छाड्छौं ।जन संसद दैनिकबाट ।