कला

‘रातो टीका निधारमा’ ट्रेलर रिलिज, साम्राज्ञीको गाउँले भूमिका

प्रदर्शनरत फिल्म ‘मारुनी’ बाट लोभलाग्दो प्रशंसा बटुलिरहेकी अभिनेत्री साम्राज्ञी आरएल शाहले भेट्रान निर्देशक अशोक शर्माका छोरा अंकितसँग रोमान्स गरेको फिल्म ‘रातो टीका निधारमा’ को ट्रेलर सार्वजनिक भएको छ । असोज १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले वैदेशिक रोजगारीको कथा वाचन गर्ने ट्रेलरले प्रस्ट्याउँछ ।

ट्रेलरमा देखाइए अनुसार अभिनेत्री साम्राज्ञीले यो फिल्ममा गाउँले युवतीको भूमिका निभाएकी छन् । उनले पहिलो पटक यस प्रकारको भूमिका निभाएकी हुन् । अंकित भने वैदेशिक रोजगारीमा पठाउने एजेन्टको भूमिकामा छन् । कमेडी फ्लेवरमा तयार पारिएको ट्रेलरले फिल्मप्रति दर्शकमा उत्सुकता र कौतुहलता जागृत गर्न सफल हुने देखिन्छ ।

साम्राज्ञी र अंकितसँगै यस फिल्ममा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले फिल्मको निर्माण गरेका हुन् । फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ ।

अशोक शर्मा निर्देशित फिल्मको गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् । फिल्मका लागि सहदेव ढुंगाना, डा.कृष्णहरि बराल र रवि मल्लले गीत लेखेका छन् । निर्देशक शर्माकी छोरी कृति फिल्मकी सहायक निर्देशक हुन् । मित्र देव गुरुङको काँधमा सम्पादनको जिम्मेवारी छ ।

यो फिल्ममा झण्डै २ दशक अगाडिको सुपरहिट फिल्म ‘अल्लारे’ मा समावेश चर्चित गीत ‘रातो टीका निधारमा’ लाई रि-एरेञ्ज गरेर राखिएको छ । केही दिनमा उक्त गीत सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । फिल्म ‘जय भोले’ मा सहायक निर्देशक भएर काम गरेका निर्देशक शर्माका छोरा अंकितले यही फिल्मबाट अभिनयमा डेब्यू गर्न लागेका हुन् ।फिल्मीखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button