काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको परिधिभित्रबाटै प्रजातान्त्रिक ढंगले नेपाली जनताको विश्वास जितेर सनातन हिन्दूराष्ट्र पुनस्र्थापना गर्ने उद्घोष गरेका छन् ।
‘देशको सर्वाङ्गीण विकासको लागि पार्टी संगठन बलियो बनाउन सबै कार्यकर्ताहरुमा आह्वान गर्दछु’, नवलपुर जिल्लाको कावासोतीमा आयोजित गण्डकी प्रदेशको बिस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले भने, ‘जनता कांग्रेस र कम्युनिस्टको विकल्पको खोजीमा छन् । अब असफल बाटो र नीतिको आवश्यकता छ ।’
बालुवाटार जग्गा काण्ड, एनसेल कर, मेलम्ची खानेपानी, बुढीगण्डकी आयोजना, ३३ किलो सुनकाण्ड जस्ता ठूलाठूला काण्डमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दुबै मुकदर्शक बनेको आरोप पनि थापाले लगाए । उनले कार्यकर्ताहरु वडा तहसम्मको संगठन निर्माणमा लाग्ने हो भने राप्रपाको प्रगतिलाई कसैले रोक्न नसक्ने दाबी गरे । अध्यक्ष थापाले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न सबैले इमान्दारीपूर्वक मेहनत गर्न आवश्यक भएकोले संगठनलाई केन्द्रमा राखी उच्च मनोबलका साथ अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा वरिष्ठ नेता दीपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष तोरण गुरुङ, भीमप्रसाद गौचन, प्रदेश अध्यक्ष हेमजङ्ग गुरुङ, सहायक महामन्त्री बिन्दु पहाडी, जिल्ला अध्यक्ष दलबहादुर केसी लगायतले बोलेका थिए । बैठकमा क्षेत्रभित्रका पदाधिकारी, सदस्य, प्रदेश कार्यसमिति, जिल्ला अध्यक्षहरुको सहभागिता रहेको छ ।ई-हुलाकी