मूल खबर

‘सपनाजस्तो लाग्छ, सेलिब्रेटी पो भएछु’

टीका बन्धन काठमाडौं।मासिक १५ लाखको जागिर छोडेर नेपाल र नेपालीको नामका लागि पर्वतारोहण गर्ने उहाँको नाम नेपालीलाई भने बिरलै थाहा छ। उहाँ हुनुहुन्छ– म्याग्दी दाना गाउँपालिका–३ का निर्मल पुर्जा (निम्स)।

बेलायती सेनाको ‘स्पेसल फोर्स’को निकै आकर्षक सेवा सुविधा छोड्नुभएका उहाँले छोटो अवधिमा हिमाल आरोहणमा विभिन्न शीर्षकमा विश्व कीर्तिमान राख्नुभएको छ।

उहाँले तीन महिनाभित्र सर्वोच्च शिखर सगरमाथासहित विश्वका ८ हजार मिटरभन्दा बढी उचाइका १४ मध्ये ११ वटा हिमालको सफल आरोहण गरिसक्नुभएको छ।

कीर्तिमानै कीर्तिमान

एकै सिजनमा नेपालका ६ वटा हिमाल ३१ दिनमा आरोहण गरेको विश्व कीर्तिमान अब उहाँको नाममा छ। ‘फास्टेस्ट समिट अफ दी टप थ्री माउन्टेन’ (सगरमाथा, केटु र कञ्चनजंगा)को कीर्तिमान पुर्जाले कायम गर्नुभएको छ। यसै गरी ‘फास्टेस्ट समिट अफ दी टप फाइभ माउन्टेन’ (सगरमाथा, केटु, कञ्चनजंगा, लोत्से र मकालु) आरोहणको कीर्तिमान पनि उहाँकै नाममा अभिलेख भएको छ।

पुर्जाले अन्नपूर्ण, कञ्चनजंगा, धौलागिरि, सगरमाथा, लोत्से, मकालु, नाग्गा पर्वत, जी वान, जी टु, के टु, ब्रोड पिज जस्ता ११ वटा हिमाल आरोहण गरिसक्नुभएको छ।

उहाँका नाममा दर्ता भएका यस्ता कीर्तिमान गत अप्रिल महिनायताका हुन्। ‘सात महिनामा १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य हो, ११ वटा चढिसकें, अब अक्टोबरभित्र मनास्लु, छोयु र सिसा पाङ्मा हिमाल चढ्ने तयारीमा छु।’ –बुधबार साँझको भेटमा उहाँले भन्नुभयो।

सगरमाथा, लोत्से र मकालु आरोहणमा विगतको ५ दिन ३ घन्टा ३५ मिनेटको पुरानो रेकर्र्ड तोड्दै ४८ घन्टा ३० मिनेटमा यी हिमाल आरोहण गरेपछि आफ्नो नाममा नयाँ विश्व कीर्तिमान कायम भएको पुर्जाले बताउनुभयो।

पाकिस्तानमा ८ हजार मिटर उचाइमाथिका पाँचवटा हिमाल छन्, ती सबै उहाँले २३ दिनमा आरोहण गरेर अर्को कीर्तिमान राख्नुभएको छ।

निकै छोटो अवधिमा यस्तो रेकर्ड राखेपछि पर्वतारोहणसँग आबद्ध पाकिस्तानको अल्पाइन क्लबले पुर्जालाई विशेष सम्मान गरिसकेको छ।

हिमाल आरोहणमा एकपछि अर्को विश्व कीर्तिमान राखेपछि विश्व चर्चित उपन्यास ‘ह्यारी पोर्टर’ प्रकाशन गर्ने संस्था आफूबारेको पुस्तक प्रकाशनको तयारीमा जुटेको उहाँले बताउनुभयो।

बेलायती सेनामा गोर्खा फौज आबद्ध भएको २ सय वर्षभन्दा बढीको इतिहासमा स्पेसल फोर्समा सामेल हुने पुर्जा पहिलो नेपाली नागरिकसमेत हुनुहुन्छ।

मेम्बर अफ ब्रिटिस इम्पायर (एमबीई)बाट विभूति भइसक्नुभएका उहाँ बेलायत र यूरोपमा निर्मलभन्दा बढी ‘निर्मल निम्स एमबीई’का नामले चर्चित हुनुहुन्छ। स्पेशल फोर्सबाट पेन्सन अवधिभन्दा ६ महिना अगावै स्वेइच्छाले जागिरबाट अलग हुँदै उहाँ हिमाल आरोहणमा लाग्नुभएको हो।

बेलायती सेनाको पेन्सन अगावै किन आरोहणमा भन्ने प्रश्नमा पुर्जाले मुस्कुराउँदै भन्नुभयो– ‘सेवामै रहेको भए निकै पैसा कमाउने थिए, तर नेपाल र नेपालीको नाम संसारमा अझै फराकिलो ढंगमा चिनाउने रहरले जित्यो।’ तन मनदेखि नै काममा केन्द्रित भएपछि सफलता हासिल हुने उहाँको भनाइ छ।

पुर्जाको ध्यान व्यक्तिगत कृतिमान राख्नमा मात्रै केन्द्रित छैन, आरोहणका क्रममा जोखिममा रहेका आरोहीलाई उद्धार गरेको अनुभव पनि छ। यही वर्ष यहाँले अन्नपूर्णमा एक र कञ्चनजंगामा तीनजनालाई सफल उद्धार गर्नुभएको छ।

सन् २०१२ मा साथीहरूसहित सगरमाथा आधार शिविरको यात्रामा पुग्नुभएका उहाँलाई त्यसपछि हिमाल आरोहण गर्ने र विश्वकीर्तिमान कायम गर्ने रहर जागेको थियो।

विश्वप्रसिद्ध बेलायती घडी ‘ब्रेमन्ट’ले पुर्जालाई सद्भावना दूत घोषणा गर्दै आरोहणका लागि आर्थिक सहयोग उपलब्ध गराइरहेको छ। नेशनल जिइयोग्राफिक च्यानल (अमेरिका), आउटसाइड म्यागेजिन (अमेरिका), दी टेलिग्राफ (बेलायत), स्काई स्पोस्ट्र्स (बेलायत), गुड मर्निङ च्यानल (बेलायत), रेड बुल टेलिभिजन (अस्ट्रिया) जस्ता विश्व चर्चित सञ्चार माध्यमले उहाँका अन्र्तवार्ता र समाचार तयार गरिसकेका छन्।

त्यसैले अहिले पुर्जाका फ्यान बेलायती सेना मात्रै छैनन्, हलिहुडका स्थापित कलाकार, राजनीतिज्ञ, व्यवसायीसमेत छन्। ‘विदेशीले अहिले त विदेशीले ‘निम्स दाई’ भन्दै बोलाउँछन्, अटोग्राफ लिन निकै चर्चित सेलिब्रेटीहरू आउँदा कहिलेकाहीँ त सपना जस्तो लाग्छ, उल्टै म पो सेलिब्रेटी भएछु’–३५ वर्षीय पुर्जाले बताउनुभयो।

सरकारले उहाँको सम्मानलाई कदर गर्दै नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा पुर्जालाई सद्भावना दूत बनाउने तयारी गरिरहेको छ।

नेपाल समाचारपत्रबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button