रमेश थापा
यासोक/ पाँचथरको सुख्खाक्षेत्र कुम्मायक र तुम्बेवा गाउँपालिकामा फौजी किराको प्रकोप नियन्त्रण बाहिर गएको छ ।
किसानको बारीमा लगाएको मकै, जुनेलो, बोडी मस्याम फौजी किराको प्रकोपबाट नष्ट भएको हो । खडेरीका कारण मकै सखाप भएपछि किसानले मकै र जुनेलो लगाएका थिए । तर बिरुवा हुर्कन नपाउँदै किराले छिया छिया पारेपछि किसान पीडामा परेका हुन् । एकातर्फ खडेरीले मकैको बिउ जोगाउन नपाएका किसान पछिल्लो समयमा किराको प्रकोपबाट मारमा परेका छन् । किसानको पीडा सम्बोधन गर्न तुम्बेवा गाउँपालिकाले किटनाशक औषधी किसानलाई वितरण गरेको थियो । तर त्यो औषधी पर्याप्त नहुँदा किरा नष्ट गर्न नसकिएको किसानले जनाएका छन् । स्थानीयतहले फौजी किरालाई नियन्त्रण गर्ने प्रयास गरे पनि सार्थक पहल नहँुदा किसानले लगाएको बाली बारीमै नष्ट भएको हो ।
सुख्खाले वर्षभरिको मेहेनत बारीमै खेर गयो, जसो तसो गरेर भए पनि अब ता होला भनेर फेरि मकै र जुनेलो छरेको थिएँ, उम्रन नपाउँदै त्यो पनि मर्न थाल्यो’ कुम्मायक–१ सिम्लेका स्थानीय मानभक्त बोहोराले गुनासो पोख्दै भने । अन्न फल्ने १० रोपनी जग्गामा मकै लगाएँ त्यो पनि खडेरीले सक्यो । अहिले केही सुधार होला भनेर मकै र जुनेलो छरेँ, त्यसमा पनि किरा लाग्यो उनले भने । बोहोरा एक प्रतिनिधि पात्र मात्र हुन् । जिल्लाको कुम्मायक र तुम्बेवाका १० वटा वडाका आधा जनसङ्ख्या फौजी किराको प्रकोपका कारण प्रभावित भएका छन् ।
जिल्लाको आठ स्थानीयतह मध्ये २ स्थानीय तहमा किराको प्रकोप भएको भन्दै स्थानीयतह र किसानको गुनासो बढ्न थालेपछि प्रभावित क्षेत्रमा कृषि ज्ञान केन्द्रका प्राविधिक टोलीले अनुगमन गरेको छ । तुम्बेवा गाउँपालिकाको चुवाडे, आङ्ना, हाङ्गुम, वलने त्यस्तै कुम्मायकको सेपेनी, हात्तिपोखरी, धुपिङ र सिम्लेलगायतका बस्ती प्रभावित भएका छन् । सुख्खा मैसम र बढी तापक्रम भएको स्थानमा यो किराको प्रकोप बढी देखा पर्ने हुन्छ ।
एउटै किराको लार्भाबाट ठूलो क्षति हुने भएकाले जिल्लामा फौजी किरा नियन्त्रण बाहिर गएको हो । जिल्लामा सबैभन्दा बढी कुम्मायक र तुम्बेवा गाउँपालिका र कम प्रभावको रूपमा फिदिम नगरपालिकामा समेत प्रकोप देखा परेको अनुगमनमा भेटिएका ज्ञान केन्द्र पाँचथरका प्रमु्ख सागर विष्टले बताए ।
किरा नियन्त्रणका लागि कृषि विकाश निर्देशनालय, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय र प्रदेश १ को बाली संरक्षण प्रयोगशालासँगको सहकार्यबाट सिफारिस भएका कीटनाशक औषधिको प्रयोगबाट किरा नियन्त्रणको तयारीमा रहेको विष्टको दाबी छ । किराको प्रकोप रोक्न जनचेता अभिवृद्धि गर्ने, स्थानीयतहमा रहेका कृषि प्राविधिक किसान र स्थानीयतह बीच परार्मश गरेर फौजी किरा नियन्त्रण गर्ने ज्ञान केन्द्रको लक्ष्य छ ।
पछिल्लो समयमा प्रदेश १ को भोजपुर, उदयपुर सङ्खुवासभामा देखिएको यो प्रकोप एक महिना नहँुदै पाँचथरमा पनि देखा परेको छ । छोटो समयमा ठूलो क्षति गर्ने यो किरा नियन्त्रण गर्न गम्भीर समस्या देखा परेको छ । यो प्रकोपबाट किसानले एक पछि अर्को पीडा भोग्दै आएका छन् । त्यसमा पनि सुख्खाक्षेत्रका किसानको समस्या जिउँका तिउँ छ । किसानको समस्या प्रति स्थानीय तह पनि जानकार छ । तर कीटनाशक औषधिको अभाव र पर्याप्त परामर्शको अभाव रहेको जनप्रतिनिधिकै गुनासो छ । फौजी किरा नियन्त्रण बाहिर भएको अवस्थामा कृषि ज्ञानकेन्द्रले अनुगमन त गरेको छ । तर त्यो प्रभावकारी होला कि नहोला भन्नेमा दुविधा पैदा भएको छ ।blastkhabar/from