काठमाडौं – कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपको छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलका लागि नेपालले टोलीमा कम्तिमा एक परिवर्तन हुने भएको छ ।
कुवेतविरुद्ध भएको पहिलो खेलमा घाइते भएका अजित भण्डारीको स्थानमा अर्का डिफेन्डर रवी सिलवाल टोलीमा अटाएका छन् । अजित कुवेतसँगको खेलमा ५५ औं मिनेटमा मैदान बाहिरिएपछि दिनेश राजवंशीले उनको स्थान लिएका थिए । उनको खुट्टामा गम्भीर चोट लागेको बुझिएको छ । प्रारम्भिक परिक्षण गर्दा उनको खुट्टा भाँचिएको शंका रहेको छ । काठमाडौं आएर विस्तृत परिक्षणपश्चात उनको चोटबारे थाहा हुनेछ ।
अजितको स्थानमा अग्ला कदका डिफेन्डर रवीले खेल्नेछन् । रवी यसअघि पनि कालिनको टोलीमा रहेर खेलिसकेका छन् । गत सिजन लिगमा संकटालाई उपविजेता बनाउँदा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यसअघि उनले मनाङ मर्स्याङ्दीबाट पनि व्यावसायिक फुटबल खेले ।
नेपालले मंगलबार हुने दोस्रो खेलमा चाइनिज ताइपेइको सामना गर्दैछ । शनिबार विहान कुवेतबाट नेपाल फर्कने टोली शनिबार बेलुका नै ताइपेइ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।(हाम्रो खेलकुद)