अस्पतालको मूलगेट नै हिलाम्मे। बर्खामा पानी जम्ने। नजिकै फोहोरको थुप्रो। बिरामीले पालो कुर्ने ठाउँ, पार्किङ क्षेत्र, अस्पतालको कुना जताततै अव्यवस्थित। अस्पतालको वालमा सेतो रङभन्दा बढी हरियो लेउ। बिरामी पालो कुर्ने ठाउँमा टुक्रुक्क दुइटा पुराना बेन्च। ओपिडी कोठामा एउटा मेच र एउटा टेबल मात्रै।
हेर्दै अस्तव्यस्त अस्पतालप्रति बिरामीको भरोसा र विश्वास टुटिसकेको थियो। उनीहरू लहान पुग्थे तर नजिकैको स्वास्थ्य संस्था जान नाक खुम्च्याउँथे।
यस्तै अस्तव्यस्त अवस्थामा गुज्रिएको कटारी अस्पतालको अहिले कायाकल्प भएको छ।
यो क्षेत्रका मात्रै होइन, सिन्धुली, ओखलढुंगा र सोलुखुम्बुका बिरामीसमेत यही अस्पतालमा उपचार गराउन आउँछन्। प्रदेश १ कै उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतालमध्ये एक मानिन्छ, कटारी अस्पताल। पछिल्ला केही महिनादेखि सुरक्षित प्रसूति सेवामा सिजेरियन सेक्सनसमेत थपिएको छ। नवजात शिशुका लागि एसएनसियु सेवा सुरु भएको छ। अल्ट्रासाउन्ड सेवा अस्पतालमै छ। ओपिडी व्यवस्थित छ। बिरामी भर्ना गरेर उपचार गराउनेको संख्या बढेको छ। दिनमै डेढ–दुई सय बिरामीले सेवा पाउन थालेका छन्। जम्मा १५ बेडको अस्पताल भए पनि अहिले सेवा सुविधाका हिसाबले ५० बेडको स्तरमा उक्लिन थालेको छ।
निकट भविष्यमै चौबीसै घन्टा फार्मेसी र ल्याब सेवा सुरु हुँदैछ। सर्पले टोकेको उपचार यहीँ गराउने तयारी अन्तिम चरणमा पुगेको छ। करारमा जनशक्ति भर्ना गरेर भए पनि सेवा प्रवाह गरेरै छाड्ने अठोट त्यहाँका डाक्टरहरू जुटेका छन्।
अस्पताललाई यो अवस्थासम्म ल्याइपुर्याउन डा गौरव साह र डा पवन साहको मेहनत महत्वपूर्ण छ। डा गौरवले अस्पतालको थोत्रो हार्डवेयर (संरचना) लाई सबल बनाए। त्यसरी बनेको हार्डवेयरमा सफ्टवेयर (सेवा) थप्ने काममा डा पवन लागिपरेका छन्।
प्राथमिक स्वास्थ्य केन्द्र हुँदा डा अनिल बराल (हाल वीर अस्पताल नेफ्रोलोजिस्ट) ले नेतृत्व गरेपश्चात् तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलको पहलमा कटारी अस्पतालको भवन निर्माण भएको थियो। भवन बनेपछि डा नन्दकिशोर चौधरी (हाल कान्ति बाल अस्पताल बालरोग विशेषज्ञ) ले अस्थायी रूपमा अस्पतालको सेवा सुविधामा सुधारको प्रयास गरेका थिए।
डा गौरव लोकसेवाको आठौं तह (मेडिकल अधिकृत) मा स्थायी नाम निकालेर कटारी अस्पताल आएसँगै व्यवस्थित बनाउन सुरु गरेका थिए।
गगन थापा स्वास्थमन्त्री भएका बेला अस्पताल सुधारका निम्ति अन्तिम समयमा आएको बजेटलाई प्रयोग गरी पूर्वाधार विकासको काम गराए। उनले सरसफाइ र शुद्ध खानेपानीको लागि प्लान्ट नै जडान गर्न लगाए। एउटै कोठामा बिरामी जाँच्ने, रगत निकाल्ने, खकार जाँच गराउने सम्पूर्ण जाँच हुन्थ्यो। डा गौरवले ल्याब फरक कोठामा राखे। खकारको जाँच र बिरामी जाँचका लागि फरक–फरक कोठाको व्यवस्था मिलाए। बिरामीको सहजताको लागि छुटसहित अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गराउन सफल भए डा गौरव। छिटोरछरितो र भरपर्दो सेवा प्रवाह हुन थालेपछि बिरामीहरू बढ्न थाले। बिरामीहरूको अपेक्षा थप सेवा (विशेषज्ञ) का लागि हुन थाल्यो।
अस्पतालमा कम्तीमा एमडिजिपी डाक्टरको आवश्यकता डा गौरवलाई पनि महसुस भयो। उनले नै डा पवनलाई कटारी आउन अनुरोध गरेका थिए। झन्डै १० वर्षदेखि दुर्गमका अस्पतालमा सेवा दिइरहेका डा पवनमा नयाँ सुरुवात गरेका प्रशस्त अनुभव थिए। यस अस्पतालमा पनि विशेषज्ञ सेवाहरू नयाँ सुरुवात गर्नुपर्ने नै थिए।
उदयपुर जिल्ला अस्पताल गाईघाटमा कार्यरत उनी कटारी अस्पताल आए। त्यहाँ आएलगत्तै शल्यक्रियाबाट प्रसूति सेवा सुरू गरे। यसले अस्पतालमा प्रसूति गराउन आउनेको संख्या बढ्यो। त्यसअघि सिजेरियन गर्नुपरे अन्त जानुपर्ने डरले सामान्य प्रसूति हुन पनि महिलाहरू आउन हिचकिचाउँथे। डा पवनले शल्यक्रिया अस्पतालमै गर्ने भएकाले ढुक्क भएर प्रसूति सेवा लिन आउने गर्छन्। कुनै समय वर्षमा २० जनाले प्रसूति सेवा लिने अस्पतालमा अहिले दिनमै चार जनासम्म सुत्केरी हुन्छन्।
‘१५ श्ययाको अस्पताल स्तरोन्नति भए पनि आकस्मिक प्रसूति शल्यक्रिया सेवा नहुँदा समस्या थियो,’ कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ भन्छन्, ‘कटारीमै सेवा नहुँदा यस क्षेत्रका सर्वसाधारण आकस्मिक प्रसूति शल्यक्रियाका लागि महँगो मूल्य तिरेर धरान, विराटनगर, काठमाडौंसम्म पुग्न बाध्य थिए। अब त्यो बाध्यता हटेको छ।’
उदयपुरका साथै छिमेकी जिल्ला सिन्धुली, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुका महिलासमेत यहाँ आउने गरेका छन्। बालरोग, हाडजोर्नी, स्त्रीरोग तथा प्रसूति सुरक्षित गर्भपतन सेवालगायत नियमित स्वास्थ्य सेवा अस्पतालले दिइरहेको छ।
अहिले अस्पतालको वातावरणलाई बिरामीमैत्री बनाउन बगैंचा निर्माण भइरहेको छ। अस्पतालका कर्मचारीहरूको निरन्तर खटन, लगन र मनोबलमा स्थानीय निकाय र प्रदेश सरकारको पनि ध्यान आकृष्ट भएको छ। यसलाई हाल नगरपालिकाले उच्च प्राथमिकतामा राखेको छ।
नगरपालिका प्रमुख श्रेष्ठले प्रदेशकै नमुना अस्पताल बनाउने गरी व्यवस्थापनमा सहयोग गरिरहेको बताए। हाल नगरपालिका अन्तर्गत रहेको अस्पताललाई प्रदेश मातहत राख्न पहल गरिरहेको उनको भनाइ छ।स्वास्थ्य खबरपत्रिका