कला

पुजन र अनुपमा ईमेज अवार्डमा मनोनयन !

जीवनको यात्रामा मनसँग मन मिलेर त्यहि मनबाट स्निग्ध र निश्छल प्रेम जन्मेर जीवनको यात्रामा यात्रारत् पुजन ल्वागुन र अनुपमा प्रधान जीवनका साथीहरु मात्र होईनन् नेपाली पन, नेपाली मन र जीवनको पाटोको कथा गाउने युगल जोडीहरु पनि हुन् भन्ने लाग्छ मलाई ।
मनसँग मनको मेल भएर उनीहरु दाम्पत्य जीवनमा कसिएका त हुन् नै तर, मलाई लाग्छ संगीतप्रति अगाध स्नेह र झुकावका उनीहरु दुुवैको अर्को अन्तरमनको आकषर्णले पनि यो जोडीलाई जीवन साथी बनाउन कम भूमिका खेलको छैन होला ।
मेचीको किनारबाट धेरै पर भएर पनि नेपाली गीत र संगीतलाई पलपल धड्कन बनाएर मरिहत्ते गर्ने यो जोडीको साँच्चै नेपाली गीत संगीतप्रतिको चिन्तन र चिन्ता गजबको लाग्छ । आफ्नो नित्यकर्मको थोरै फुुर्सदको समयमा पनि कसरी सुन्दर सृजना जन्माउने र जन्मिएको सृजनालाई सांगीतिक न्यायको रङ्रोगनले सजाउने उनीहरु छलफल गर्छन् । सांगीतिक धारकै कुरा गर्दा पुजन संगीतकार हुन् भने अनुपमा गायिका । पारिवारिक माहौल पनि गजब्बकै लाग्छ संगीतमय नै ।
गीतहरुमा सजीवता खोतल्ने पुजन र गायकीमा गीत र संगीतको भाव, ताल, लय, सुरुमा डुबुल्की मार्न खोज्ने अनुपमा उति साह्रो चर्चामा आउनै पर्छ भन्ने कलाकार पनि होईनन्, निरन्तर आफ्नो कर्ममा नै तल्लिन बन्न रुचाउने यो जोडीको मिलनले उनीहरुको ब्यवहारिक पक्षको जीवन यात्रा त इष्र्या गरौँ जस्तो लाग्ने त बनाएकै छ, अझ सांगीतिक प्रेमलाई समेत उजिल्याउने क्रममा रहेको लाग्छ । अहिलेसम्म पुजन र अनुपमाले दर्जनांै नेपाली गीतहरुमा संगीत र स्वर भरिसकेका छन् । उनीहरुका गीतमा अक्सर मानवीय पक्ष, सामाजिक चेतना र कतै न कतै मान्छेको जीवन बोलेको भेटिन्छ ।
पुजन र अनुपमाको गीत र संगीतको यात्रालाई हेर्दा लाग्छ उनीहरु मनसँग मन जोडिदिने, गीतमा जीवनको भोगाईमा रहेका विविध पाटाहरुलाई गीत र संगीतको माध्यमबाट अभिब्यक्त गर्ने जोडी कलाकार हुन् । शायद यसै भएर पनि हुनुपर्छ नेपाली गीत संगीतको क्षेत्रमा महत्वपूर्ण मानिने ईमेज अवार्डमा उनीहरुले आफ्नो सृजनालाई खरो रुपमा दर्ज गर्न सफल भएका छन् । यस वर्षको ईमेज अवार्डमा पुजन ‘वेष्ट म्यूजिक कम्पोजिसन द ईयर’ बन्न सफल भएका छन् भने अनुपमा वेष्ट भोकल परफमेन्समा मनोनयन हुन सफल भएका हुन् । त्यसो त गत सालको ईमेज अवार्डमा यो जोडी ‘ग्रुप अफ ड्यू क्याटेगोरी’ मा परेर अवार्ड हात पार्न समेत सफल भएको थियो । त्यो बेला उनीहरुको ‘हावा घरैमा’ बोलको युगल गीतबाट उनीहरु पुरस्कृत भएका थिए । पुजन र अनुपमाको सांगीतिक र जीवनको यात्रा साँच्चै एउटा जीवनको सुन्दर, शालिन र शौम्य गीत जस्तो लाग्छ । परिवारका सदस्यको साथ र सहयोग अनि श्रोताहरुको माया नै उनीहरुको सांगीतिक यात्राको निरन्तरता भएको पुजन र अनुपमा बताउँछन् । कुनै सांगीतिक योजना ल्याउन भन्दा पहिला यो जोडी त्यसलाई कसरी राम्रो पार्ने भन्ने सरसल्लाह गर्ने गरेको बताउँछिन् अनुपमा । उनी भन्छिन्–‘गीत त सबै गीत नै हुन् तर, हामी कुनै प्रोजेक्ट बाहिर ल्याउनुअघि आपसमा सल्लाह गर्छौं, हामीले हाम्रा श्रोतालाई दिने भनेको सांगीतिक कोसेलीमा नयाँ पन र फरक पन के दिने भनेर सल्लाह हुन्छ ।’
पुजन पनि हम्मेसी कुनै गीतलाई हतारमा छानेर चल्छ भन्ने पाराले काम गर्दैनन् उनी भन्छन्–‘हामी नेपाली गीत संगीतको क्षेत्रमा नयाँ गीत ल्याउने तयारीमा छौँ ।’
‘पुजन र अनुपमाले एउटा नयाँ गीत श्रोता माझ ल्याए भनेर गीतको संख्या थप्नुलाई मात्र म काम मान्दिन’ उनी भन्छन्–‘नेपाली संगीत क्षेत्रले पनि असल चिज पाओस् र हाम्रा सम्पूर्ण श्रोताहरुका लागि पनि नयाँ कोसेली बनोस् भन्ने कुरामा मेरो ध्यान जान्छ ।’
यस पटकको ईमेज अवार्डमा यो सांगीतिक जोडी फेरि आ–आफ्नो कर्मको क्षेत्रबाट मनोनयन बन्न सफल भएको छ । ईमेज अवार्डमा मनोनयनमा परेपछि छोटो प्रतिक्रिया दिँदै उनीहरुको भनाई थियो–‘हाम्रो कामको मूल्यांकन भयो, दुवैलाई सांगीतिक यात्राका लागि ठूलो हौसला मिलेको छ, सबैलाई धन्यवाद प्रकट गर्दछौं ।’ janasamsadonline

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button