० प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई सिंगापुरबाटै गर्नुभएको सम्बोधन विवादमा परेको छ । यसबारे राजपाको धारणा के छ ?
–सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको भिडियो कन्फ्रेन्सबारे कतिपयले प्रश्न उठाउनु भएको छ । यसबारे विवाद गर्न जरुरी छ जस्तो मलाई लाग्दैन । सम्बोधन जहाँबाट गरे पनि हुन्छ ।
० भिडियो कन्फरेन्सनको सुरक्षालाई लिएर प्रश्नहरू उठाइएका छन् नि ?
–भिडियो कन्फरेन्सन आधुनिक प्रविधि हो । अहिले त्यसको प्रयोग चारैतिर भइराखेको छ । उपलब्ध प्रविधिको प्रयोग गर्दा असुरक्षा हुन्छ भन्ने कुरा सही होइन ।
० उपचारका लागि सिंगापुरमा रहनु भएका प्रधानमन्त्री अलि बढी देशका बारे चिन्तित हुनु भएको हो ?
–प्रधानमन्त्रीलाई चिन्ता हुनु स्वभाविक हो तर चिन्ता लिनुहुँदैन । देशको चिन्ता गर्ने प्रधानमन्त्री मात्र हुनुहुन्न अरु मन्त्रीहरू पनि छन् । यस्तो बेला देशको भन्दा पनि आफ्नो उपचारमा केन्द्रित हुनुपर्छ ।
० समृद्ध नेपाल, सुखी नेपालीको नारा प्रधानमन्त्रीले दिनु भएको छ । यही भएर अलि बढी चिन्तित बन्नु भएको हो कि ?
–त्यो खाली वकवास मात्रै हो । विकास सधैं भइरहेको छ । पञ्चायतकालमा पनि बाटो बनेको थियो । केही ठाउँमा बाटो खन्नु मात्रै विकास होइन । देशलाई समृद्ध बनाउन जनमानसमा रहेको असन्तोष हटाउनु पर्छ । पार्टीहरूबीचको बेमेल मेट्नुपर्छ । यी सबैको सम्बोधन हुने गरी काम गर्नुपर्छ । हामी कहाँ बजेट सञ्चालन गर्ने नियम नै छैन । असारे बजेट बन्यो तुरुन्त बनायो, तुरुन्तै सकियो । काठमाडौंकै कुरा गर्दा पानी पर्न भ्याएको छैन हिलो भरिन्छ, घाम लाग्न नभ्याउँदै धुलोले शहर छोपिन्छ । तर, सधैं असारमा बाटो त खनेको खनेकै छन् ।
० केपी ओली नेतृत्वको सरकारले काम त गरिरहेको छ नि होइन र ?
–अनि कसको नेतृत्व भएको सरकार हुँदा चाहिँ कामै भएको छैन र ? दिनप्रतिदिन जनतामाथि अनावश्यक ट्याक्स उठाएको छ । त्यसको ८० प्रतिशत खाएर २० प्रतिशत मात्रै काममा लगाए पनि काम हुन्छ ।
० स्थानीय जनताहरू करले पीडित भएका हुन् त ?
–स्थानीयमा भन्दा बढी केन्द्रमै राखेको कर जहाँ उठायो त्यही खर्च गरे त हुन्थ्यो । ८० प्रतिशत कर रकम केन्द्रमै फजुल खर्च गरेर सकिएको छ ।
० एनसेलको कर निर्धारण त बदर भएको छ । यसमा तपाईंको धारणा के छ ?
–देशमा व्यापक रुपमा भ्रष्टाचार भएको छ । कर कार्यालय, कर उठाउने, मन्त्रीहरू, कर्मचारी, नेता, व्यापारी सबै भ्रष्टाचारी छन् । यस्तो भ्रष्टहरू भएको मुलुकमा यो सम्पूर्ण कुराको सम्भवै छैन ।
० सर्वोच्चको फैसलाले एनसेलको करीव १८ अर्ब ३३ करोड कर घट्ने देखिन्छ नि ?
–अदालत राजस्व अनुसन्धान कार्याल, भन्सार विभाग होइन, जसलाई देशमा कर कति उठ्छ थाहा होस् । अदालतले घाटा नाफा हेर्ने होइन कानून अनुसार फैसला गर्ने हो ।
० त्यसो भए एनसेलको मुद्दामा सर्वोच्च निर्णय ठीक छ ?
–न्यायलयमाथि हामीले विश्वास गर्नुपर्छ । न्यायालयले जे निर्णय गरेको छ, ठीक छ । यसमा बिमति राख्नुपर्ने कारण छैन ।
० राजपाले महाधिवेशन गर्ने कुरा थियो । यो अगाडि बढेको छ कि कता पुग्यो ?
–मधेस केन्द्रित ६ दल मिलेर राजपा बनेको छ । यसरी बनेको दलले महाधिवेशन गरेर नीति र नेतृत्व टुंग्याउनु आवश्यकता छ । यद्यपि, यसका लागि अहिले जुटिसकेको अवस्था भने छैन ।
० समय त दुई महिना पनि छैन कसरी सम्पन्न गर्न सक्नुहुन्छ महाधिवेशन ?
–वडादेखिको अधिवेशन गर्नुपर्ने अवस्था छ । त्यसैले ढिला भइरहेको छ । कार्यकर्ताहरू पनि महाधिवेशनमा जुट्न ढिला भयो भनिरहनु भएको छ ।
० राजपा र उपेन्द्र यादव–बाबुराम समूहको पार्टीबीच एकताको कुरा पनि आएको छ । यतातिर चाहिँ के कस्तो प्रगति भइरहेको छ, बताइदिनुहोस् न ?
–एकता त पार्टीसँग हुन्छ । उपेन्द्र र अन्य व्यक्तिसँग एकता हुने होइन । लिडरसँग मात्रै एकता हुँदैन, पार्टीसँग हुने हो । अधिवेशनले एकता रोक्दैन ।
० पार्टी एकीकरणको पक्षमा तपाईं हुनुहुन्न ?
–पार्टीसँग पार्टी मिल्नुपर्छ । वार्ता र संवादहरू त्यसतर्फ केन्द्रित हुनुपर्छ । व्यक्ति मात्र मिलेर हुँदैन ।
० तर, तपाईंहरूको एजेन्डामै विमति देखिन्छ सैद्धान्तिक कुरा हेर्दा ?
–पार्टीको सिद्धान्त नै ठूलो कुरा हो । नत्र देशमा चारवटा ठूला पार्टी किन चाहियो एउटै भए भइहाल्छ नि । सिद्धान्त, विचार, एजेन्डा र कार्यक्रमले नै छुट्टा–छुट्टै पार्टी हुनु परेको हो । त्यसकारण एक ठाउँमा बसेर काम गर्नलाई विचार सिद्धान्त मिल्नुपर्छ ।
० प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा तपाईंहरू हुनुहुन्न नि ?
–त्यो पक्षमा कहिल्यै थिएनौं हामी ।
० तर, उपेन्द्र यादव र डा. बाबुरामको प्रत्यक्ष राष्ट्रपतिको एजेन्डा हो नि ?
–केही विचारमा परिवर्तन पनि गर्नुपर्ने हुन्छ । सधैं एउटै एजेन्डा लिएर पनि हुँदैन ।
० नेतृत्वको पनि कुरा मिल्छ ?
–नेतृत्वको कुरा नमिल्ने कुरै छैन । दुवै पार्टीको नेतृत्व, सिद्धान्त छ, त्यसलाई आ–आफ्नो तरिकाले निर्वाह गरिरहेका छन् भने त्यसलाई बहस र छलफल गरेर मिलाउन सकिन्छ ।
० प्रधानमन्त्रीले त संविधान संशोधन नगर्ने भनेपछि तपाईंहरू पनि यो मुद्दा छाडेर विकास निर्माणतिर लाग्नुभएको हो ?
–जबसम्म शोषित, पीडित, उत्पीडित, पिछाडा वर्ग, दलित, मधेसीको पक्षमा संविधान संशोधन हुँदैन । त्यसले देशमा व्यापक असन्तोष निम्त्याउँछ । यो सब नहुँदासम्म कसरी विकास हुन्छ । एउटा थारुलाई चलाउँदा एकैठाउँबाट १० हजारभन्दा बढी संख्यामा उठिहाल्छन् । सरकारले त्यस्तो डर, त्रास देखायो, दमन गर्न खोज्यो । त्यहाँ थारुहरू डराएनन् । त्यसकारण त्यस्तो खालको असन्तोष कायम राखेर देशमा केही हुनेवाला छैन । (नेपाली रेडियो नेटवर्कले गरेको अडियो कुराकानी सान्दर्भिक लागेर ट्रान्स्क्राइब गरी प्रस्तुत गरेका हौं–सम्पादक)
sanghunews.com/from