एजेन्सी – भारत एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार पाकिस्तानलाई ६० रनले पराजित गर्दै एक खेल अगावै भारत सेमिफाइनलमा पुगेको हो । पाकिस्तानको हारसँगै अफगानिस्तान पनि एक खेल अगावै समिफाइनलमा पुगेको छ। समुह ए बाट पाकिस्तान र कुवेत एक खेल अगावै उपाधि होडबाट बाहिरिएका छन् ।
३ सय ६ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान ४६.४ ओभरमा अल आउट हुँदै २ सय ४५ रनमा समेटियो । पाकिस्तानका लागि कप्तान तथा विकेटकीपर रोहेल नाजिरले १ सय १७ रनको उत्कृष्ट शतकीय इनिङ खेलेपनि अन्य ब्याट्सम्यानको साथ नपाउँदा हार टार्न सकेनन् । ४१ ओभरको पहिलो बलमा आकश सिंहले एलबी डब्लू आउट गर्नुअघि नाजिरले १ सय ८ बलमा १२ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै हरिस खानले ५३ बलमा २ चौका र १ छक्का सहित ४५,मोहम्मद आमिरले १२ र निशम शाहले ११ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । भारतका लागि अथर्भ अन्कोलेकरले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सुशान्त मिश्राा र विद्याधर पाटिलको नाममा समान २ विकेट रह्यो ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ५ रन बनाएको थियो । भारतका लागि अर्जुन अजाद र ठाकुर तिलक बर्माले शतक प्रहार गरे । अर्जुनले १ सय ११ बलमा ११ चौका र ४ छक्का सहित १ सय २१ रनको उत्कृष्ट शतकीय इनिङ खेले । तिलकले १ सय १९ बलमा १० चौका र १ छक्का सहित १ सय १० रनको महत्वपूर्ण योगदान दिए । यी दुई ब्याट्सम्यान बाहेक भारतका अन्य ब्याट्सम्यानले भने ठूलो इनिङ खेल्न सकेनन् ।
धुब्रचन्द जुरेल १० र शाश्वत रावत १८ रनको योगदान दिए । पाकिस्तानका लागि निशम शाह र मोहम्मद अब्बास अफ्रिदीले समान ३ विकेट लिए । अमिर अली र मोहम्मद आमिरको नाममा समान १ विकेट रह्यो ।
लगतार दोस्रो हारसँगै पाकिस्तान समुह चरणबाटै बाहिरिएको छ । पाकिस्तान पहिलो खेलमा अफगानिस्तानसँग डक वर्थ लेविस पद्धतीको आधारमा ८५ रनले पराजित भएको थियो ।