झापाको भद्रपुर–धुलाबारी–शान्तिगर सडक ठेक्का खोलेको ६० दिन बितिसक्दा समेत ठेकेदार छनौट गरि सम्झौता भएको छैन ।
प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय झापाले ठेक्का खोलेको ६० दिन बितिसक्दा पनि ठेकेदार सूचिकृत नगरेको भन्दै त्यस क्षेत्रका प्रदेश सांसदहरूले विरोध जनाएका छन् ।
प्रदेशसभामा इलाम क्षेत्र नम्बर १ प्रदेशसभा क्षेत्र २ का सांसद काजिमान कागतेले प्रादेशिक सडक अन्तरगतका चारवटा सडक आयोजनाको गत असार १० गते ठेक्का खोलिएपनि त्यसपछि कार्यालयले सवै प्रक्रिया गुपचुप राखेर आर्थिक चलखेल गर्न खोजेको आरोप लगाउनु भयो ।
पूर्वाधार विकास कार्यालय झापाले गाग्रेभञ्ज्याँङ–जीतपुर–बेलासे सडकका लागि ५५ करोड, सुखानी–दानाबारी–राजदुवाली सडक ४८ करोड, फिक्कल–नयाँ बजार सडक ५५ करोड र भद्रपुर–धुलाबारी–शान्तिनगर–इरूङटार सडक ४८ करोडको लागत अनुमान तयार पारी ठेक्का आह्वान गरेको थियो ।
‘६० दिन वितिसक्दा पनि ठेकेदार छानेर काम दिएको छैन, करोडौं चलखेलको कुरा आइरहेको छ’ वहाँले सोध्नु भयो,े ‘कति दिनमा सम्झौता हुनुपर्ने ? किन ठेक्का हाल्ने ठेकेदारसँग सम्झौता हुँदैन ?’ सांसद कागतेले प्रदेश सरकारले सडक पूर्वाधार निर्माणका लागि हरेक ठेक्कामा यस्तो चलखेल हुने गरेको भन्दै छानबिन र कारवाहीको माग गर्नु भयो ।
घटाघटमा ठेक्का आह्वान गरिएपनि पूर्वाधार विकास कार्यालयका कर्मचारीले ठूला ठेकेदारसँग मिलेमतो गरी घटीमा ठेक्का हाल्ने ठेकेदारलाई निरूत्साहित गर्न विभिन्न बहाना गरेर ठेक्का रद्द गर्न समय लम्ब्याएको स्रोतले जनाएको छ ।रेडियो साथी