सीताराम अधिकारी, धादिङ।विश्वमै दुर्लभ र लोपोन्मुख अवस्थामा रहेको लोभीपापी गरुड संरक्षण अभियानमा गाउँपालिका र विद्यार्थी लाग्ने भएका छन्।
दक्षिणी धादिङको गजुरी गाउँपालिकाको किराञ्चोकस्थित लामाचिरा, पर्वाङल रुम्टा, तिलाहार क्षेत्रलाई चरन क्षेत्र बनाएर लामो समयदेखि बसिरहेको लोभीपापी गरुड, भुँडीफोर, हिलेगिद्ध संरक्षण गर्ने विद्यार्थी र गाउँपालिकाले एकसाथ प्रतिबद्धता जनाएका हुन्।
गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले गाउँपालिकाले यो पक्षी संरक्षण गर्न योजना बनाएर लाग्ने बताउनुभयो। किराञ्चोक मावि पर्वाङका विद्यार्थीहरूले भने सिकारीबाट बचाउनेलगायतका बासस्थान संरक्षण र आहारा संरक्षणको अभियान नै चलाएर दुर्लभ पक्षी संरक्षणमा लाग्ने सामूहिक प्रतिबद्धता गरेका हुन्।
जोगाउनुपर्ने सूचीमा रहेको लोभीपापी गरुड भन्ने यकिन भएपछि गाउँबासीसमेत संरक्षण अभियानमा लाग्ने र अरूलाई सचेत गराउने लामाचिराका किरण न्यौपानेले बताउनुभयो।
लोभीपापी गरुडले ठूलो करम, सिमल, आँप र सल्लाको ठूलो बोटमा बासस्थान बनाएर बस्ने गरेको छ। नेपालमा पाइने ८ प्रकारका गरुडमध्ये एक भएको लोभीपापी गरुडका विज्ञ प्रशान्त घिमिरेले बताउनुभयो।
लोभीपापी गरुडले विषालु सर्प, भ्यागुता, गँगटा, किसानका खेतबारीमा पाइने कीरा खाएर बस्ने भएकाले यो किसानको सहयोगीका रूपमा रहेको छ। यो लजालु स्वाभाव भएको गरुड हो।
कालो शरीर, सेतो घाँटी, कालो टोपी जस्तो टाउको र सेतो ठोड, रातो चुच्चो भएको दुर्लभ चरा लोभीपापी गरुड हो।नेपाल समाचारपत्रबाट ।