
गत वर्ष प्रदर्शनमा आएको व्यवसायिक र समीक्षात्मक दुबै रुपमा सफल फिल्म ‘प्रसाद’ को टिमसँग भर्सटायल अभिनेता विपिन कार्कीको दोस्रो पटक टिमअप भएको छ । उनको प्रमुख भूमिका रहने ‘सेल्फी किङ’ नामक फिल्मलाई ‘प्रसाद’ का निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले मिलेर निर्माण गर्दैछन् । विशाल सापकोटाले फिल्मको निर्देशन गर्नेछन् । यो उनको डेब्यू फिल्म हो ।
आइतबार राजधानीमा एक कार्यक्रमका बीच यस फिल्मको औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ । फिल्ममा विपिनको जोडी अभिनेत्री लक्ष्मी बर्देवासँग बाँधिएको छ । फिल्मको एक आइटम गीतमा भने अभिनेत्री केकी अधिकारीले नृत्य प्रस्तुत गर्नेछिन् । यसअघि अभिनेत्री स्वस्तिमा खड्काले फिल्मको आइटम गीतमा नृत्य गर्ने चर्चा थियो ।
यसै वर्षको अन्त्यतिर प्रदर्शनमा ल्याउने तयारी गरिएको फिल्ममा भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्मको कथा निर्देशक सापकोटा स्वयंको हो । प्रवल कोइराला र राजेश विशुरल सह-निर्माताको रुपमा रहेको फिल्मलाई सुशन प्रजापतिले खिच्ने जिम्मेवारी पाएका छन् ।
जीवन थापाले फिल्मको सम्पादन गर्नेछन् । सुवास भुषालको संगीत रहने फिल्मको गीतमा अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको गायन रहनेछ । निर्मल लामाले फिल्मको गीतमा कोरियोग्राफी गर्नेछन् । फिल्मको घोषणा सभामा बोल्दै अभिनेता विपिनले राम्रो टिम र स्क्रिप्टका कारण ‘सेल्फी किङ’ गर्न राजी भएको बताए । फिल्मको कथा आफ्नो वास्तविक जीवनसँग धेरथोर मिल्ने पनि उनको भनाई छ ।
फिल्मले एक चर्चित टेलिभिजन हाँस्यकलाकारको सफलता र व्यक्तिगत जीवनको कथा वाचन गर्नेछ । फिल्ममा विपिनले गोपाल दाहाल अर्थात् हाँस्यकलाकारको भूमिका निर्वाहा गर्नेछन् । पहिलो पटक निर्माताको रुपमा आएका निर्देशक राउतले न्यू कमरलाई प्रोत्साहन र हौसला दिने उद्येश्यले आफू फिल्म निर्माणमा होमिएको बताए । उनी अहिले फिल्म ‘मेरो एउटा साथी छ २’ को तयारीमा छन् ।
फिल्मीखबर,