जी एन शर्मा कविता
मानौँ कि उ र उनीहरु जनता र देशका मुक्तिदाताहरु हुन्
क्षण भरमै यो देशलाई कायापलट गर्न सक्छन्
तमासा गर्छन् हामी दुधले स्नान गरेका जस्तो गरेर
माखो मारेका होइनन् समाज र हाम्रा लागि
कुन दुलामा थिए ? के थियो हिजो अस्ती सम्म तिम्रो भूमिका ?
मलाई सोध्न मन लागेको छ र ति आफै महानको पगरि गुथ्नेहरुसँग
मुख र आँखामा पट्टि कसेर कहाँ थियौ अहिले सम्म ?
अहिले स्वघोषित पण्डित र ज्ञानका चक्षु बनेर फलाक्तै हिडदैछन् बजार र सडकमा
बिच्च बिच्चमा भनेझै
बे मतलबका डिङ हाँकेर बोल्छन् ,
सारा जगनै पलट गरुँलाझै गरेर घाँटी बजाउँछन्
हामी बिच्च बिच्चमा भनेझै हो मा हो थपेर तालि बजाउँछौँ
मृत्यु वा मुक्तिको सपथ खाएर
शीरमा कात्रो बाँधेर
शहिदको रगतसँग साटिएर आएको लोकतन्त्रको विरुद्ध
धावा बोल्ने तिमी गतिला प्रतिगमनका गोटी हौ , हाम्ले चिन्न बाँकी छ र ?
तिमी मालिकको तलुवा चाटेर बाहिर सिँहको रुपमा बिच्च बिच्चमा जति गर्जे पनि
तिमी स्याल हौ भन्ने जगतले चर पाएको छ
हो , हामीलाई थाहा छ , हामी एक्काईशौँ शदिका नेपाली नागरिक हौँ
हाम्रा सपना माथि हाम्रै मान्छेले रेटेका छन्
हाम्रा अपेक्षाका मुनाहरु बेवारिसे बनेकाछन्
तर , हाम्रो आस्था र विश्वासको पहाडमा तिमी खेलबाड नगर
तिम्रा कस्मेटिक भाषणहरु कति धेरै रेडिमेड छन् र तिमी कति सक्कली हौ थाहा छ !
हजारौँको बलिदानलाई तिम्रो स्याकुने सपनाले तुहाउने दुस्साहस नगर
हामीलाई थाहा छ !
हाम्रो आशामा तुषारो परेको छ
हिजोका किरिया कसम आज थला परेका छन्
हुने भएन नहुने भएको छ
तर, दुलाबाट बाहिर फुत्त निस्केर लोकतन्त्रको हरियालाई फाँटमा होक्काँ गर्ने को हौ तिमी ?
तिम्रा भ्रमका लड्डुहरु बिच्च बिच्चमा जति बाँडे पनि
स्वाभिमान र स्वतन्त्रताका हिमायति जनताले तिम्रो सक्कल राम्ररी नियालेका छन्
चारै तिर विकृति र बिसंगति देख्ने तिमी हिजो सम्म कुन डिनरमा साप्रा चपाउँदै थियौ ?
आफ्नै आँगनमा खाल्डो परुन्जेल कुन भोजमा मस्त थियौ ?
बिच्च बिच्चमा तिमीले जति बजार र सडकमा रमिता देखाए पनि
तिमी केवल कुसुले मात्रै हौ
सयौ शहिदको रगतका सामु
तिमी र तिम्रा मालिकको केही चल्नेवाला छैन
किनकी तिमी को हौ र के हौ बिच्च बिच्चमा सबैले बुझिसकेका छन्
अब फेरि तिम्रो परिचय बिच्च बिच्चमा गराउनु पर्दैन