विनोद सिंह विष्ट
बैतडी। प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजनाअन्तर्गत बैतडीलाई मकैजोन घोषणा गरिएको भएपनि उक्त क्षेत्रमै किसानलाई मकै जोगाउन मुस्किल परेको छ ।
मकैको उत्पादनमा बढाउने र मकै प्रशोधन गर्ने लक्ष्यसाथ कार्यालय स्थापना भए पनि जङ्गली बँदेल र बाँदरकै कारण मकै उत्पादनमा ह्रास आउने सङ्केत देखिएको मकै जोन कार्यालय बैतडीका प्रमुख दानसिंह महराले जानकारी दिनुभयो ।
मकै उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले किसानलाई अनुदानमा मकैको बीउ उपलब्ध गराएको भए पनि भित्र्याउने समयमा जङ्गली जनावरले मकैबाली सखाप पार्दा उत्पादनमा कमी आउने देखिएको उहाँले बताउनुभयो ।
जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सुर्नया, दोगडाकेदार र पञ्चेश्वर गाउँपालिकामा उक्त कार्यक्रम लागू भए पनि मकै जोगाउन धौधौ परेको उहाँले बताउनुभयो ।
मकैबाली मुख्य खाद्यबाली भए पनि पछिल्लो समयमा यसको उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो । जङ्गली जनावरले मकैबाली सखाप पारेको विषयमा सबै ठाउँमा जानकारी गराएको भए पनि समस्या समाधानको उपाय भने ननिस्केको सो कार्यालयका प्रमुख महराको भनाइ छ ।
बैतडीमा पछिल्ला वर्षमा मकैको उत्पादनमा गिरावट आउन थालेको छ । गत वर्ष बैतडीमा १९ हजार ७६४ मेट्रिक टन मकै उत्पादन भएको थियो । आर्थिक वर्ष २०७३/७४ मा २३ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो ।
मकैबाली जङ्गली बँदेलले नष्ट :
बैतडीका विभिन्न ठाउँमा किसानले लगाएको मकैबाली जङ्गली बँदेलले नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् । मकैबाली भित्र्याउने समयमा जङ्गली बदेलले मकैबाली नष्ट गर्दा भोकमरीको सम्भावाना बढेको दोगडाकेदार ३ श्रीकोटका प्रकाश चन्दले बताउनुभयो। “खेतमा लगाएको मकैबाली जोगाउन रातभर पहरा दिने गरेका छौँ”, उहाँले भन्नुभयो, “पहरा दिए पनि बथानमा आउने जङ्गली बदेलले मकैबाली नष्ट गर्ने गरेको छ ।”
जिल्लाको पुर्चौंडी क्षेत्रका विभिन्न स्थानमा पनि जङ्गली जनावरले मकैबाली नष्ट गर्दा किसान मर्कामा परेका छन् । बँदेल, दुम्सी, भालुलगायतका जङ्गली जनावरले मकैबाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।
यस्तै पाटन नगरपालिका–७ का विभिन्न स्थानमा पनि जङ्गली बँदेलले मकैबाली नष्ट गरेको स्थानीय रामीराम विकले जानकारी दिनुभयो। मकै बचाउन टहरा बनाएर किसानले पहरा दिने गरेकोसमेत गरिएको छ ।
बैतडीमा मुख्य खाद्यबालीको रुपमा रहेको मकैबाली पछिल्लो समयमा जङ्गली जनावरले नष्ट गर्दै जाँदा उत्पादनमा कमी आउने गरेको छ। मकैबालीमा विभिन्न कारणले क्षति पुग्ने गरेको भए पनि किसानले भने क्षतिपूर्ति पाउने गरेका छैनन् । बाली बीमा नगरेका कारण किसानले क्षतिपूर्ति पाउन नसकेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो ।
मकैबाली लगाउने क्षेत्रफल घट्यो :
बैतडीमा मकैबाली लगाउने क्षेत्रफल घटेको छ । जिल्लामा गत वर्षदेखि मकैबाली लगाउने क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । बैतडीमा जङ्गली जनावरको प्रकोपका कारण मकैबाली उत्पादन हुने क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो ।
बैतडीमा हाल १२ हजार २०० हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेको छ । उहाँले भन्नुभयो, “केही वर्षअघिसम्म १४ हजार ५०० हेक्टर क्षेत्रफलमा मकैखेती हुँदैं आएको भए पनि जङ्गली जनावरका कारण किसानले मकैबाली लगाउन छोडेका छन् ।”
बाँदर र बँदेलले वर्षेनी मकैबालीमा क्षति गर्ने भएकाले मकैबालीतर्फ किसानको आकर्षण घट्दै गएको छ । जङ्गली जनावरका साथै पहाडबाट तराईमा बसाइँसराइका कारणले पनि मकै उत्पादन हुने क्षेत्रफल कम भएको निमित्त प्रमुख चन्दको भनाइ रहेको छ ।krishipatrika