मूल खबर

चुनावको माहोलमा तातिँदै धराननेकपा र काङ्ग्रेस वडाभेलापछि टोलभेलामा व्यस्त

धरान/ धरानमा चुनावी माहोल तातिन थालेको छ । नगरका राजनीतिक दलहरूले स्थानीय तहको चुनावलाई लक्षित गरेर नगर भेला, वडाभेला र टोल भेला गर्न थालेका छन् । निर्वाचन आयोगले रिक्त रहेका स्थानीय, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिको निर्वाचन क्षेत्रमा मङ्सिर १४ गते उपनिर्वाचन गर्ने घोषणा गरेपछि धरानमा प्रमुख दलहरू नेकपा र काङ्ग्रेस मतदाताको मन जित्न चुनावी माहौल बनाउन थालेका हुन् ।

धरान उपमहानगरपालिकामा ०७५ साउन १ गते प्रमुख तारा सुब्बाको निधन भएपछि उक्त प्रमुख पद रिक्त भएको छ । चुनावी चटारोमा सबैभन्दा बढी काङ्ग्रेसलाई लागेको छ । नेपालको राजनीतिक इतिहासमा धरानमा बामपन्थी उम्मेदवारले मात्र एकछत्र जित निकाल्दै आएको छ । यसअघि भएका स्थानीय, प्रदेश र सङ्घीयको निर्वाचनमा बहुमत ल्याएर नेकपाले सरकार बनाएको अवस्थामा सुनसरी क्षेत्र नम्बर १ को धरान उपमहानगरपालिकामा काङ्ग्रेसको लागि जित हासिल गर्नु फलामको चिउरा चपाउनु बराबर हुने भएकाले नेकपाबाहेकका अरू दलसँग गठबन्धनको रणनीति अपनाउने तयारीमा जुटेको छ ।

गएको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेका तारा सुब्बाले २० हजार ९ सय ७५ मत ल्याएर काङ्ग्रेसका नगरसभापति तिलक राईलाई पराजित गरेका थिए । राईले १६ हजार १ सय २ मत प्राप्त गरेका थिए । नेकपाले धरानमा आन्तरिक तयारी गरे पनि तत्कालीन माओवादी केन्द्रसँग एकता भएकाले जसलाई प्रमुखको टिकट केन्द्रले दिए पनि सजिलै जित हासिल गरिन्छ भनेर ढुक्क अवस्थामा छ ।

नेकपा धरानका कार्यकर्तामा उपनिर्वाचन भए प्रमुख पदमा सजिलै जित्न सकिन्छ भन्ने पुरानो मनोविज्ञान रहेको छ । नेकपाले एकता अभियानसँगै चुनावी अभियानकै रूपमा २० वटै वडाको भेला सकेर टोल कमिटीस्तरीय भेला गर्न व्यस्त भएको नगरअध्यक्ष नारायण सुवेदीले बताए ।

उनले पार्टीले चुनावमा मतदाताको घरदैलोमा पुग्नका लागि विभिन्न एजेण्डा तयार गरेको बताए । धरानको गौरवका विकास, निर्माण र भविष्यसँग जोडेर चालू रहेका ठूला आयोजना पूरा गर्ने, स्मार्ट सिटीको अवधारणा तयार गर्ने, खानेपानी आयोजना पूरा गर्ने, सुकुम्बासीलाई व्यवस्थापन गर्ने, प्रदेश सरकारले तयार गरेको डिपिआरको आधारमा आधुनिक बसपार्क निर्माण गर्ने चुनावी एजेण्डाहरू रहेको सुवेदीले बताए । धरानमा सङ्गठनको हिसाबमा काङ्ग्रेसभन्दा नेकपा बलियो भएको दाबी गर्दै उनले नेकपामा चुनावी माहोल तातिएको बताए ।

काङ्ग्रेस नगरसभापति तिलक राईले अबको चुनावमा नेकपाको उम्मेदवारलाई पराजित गर्न कठिन मेहनत गर्नुपर्ने बताए । उनले भने, ‘हामीले नगरप्रमुख तारा सुब्बाको निधन भएको केही महिनादेखि उपनिर्वाचनको माग गर्दै आएका थियौं । निर्वाचन आयोगले चुनावको मिति तोकेपछि चुनावी एजेण्डा तयार गरेर नगरभेला, वडाभेला गरिरहेका छौं ।’

काङ्ग्रेसले उपनिर्वाचनमा धरानमा सक्रिय रहेका साना दलहरूसँग गठबन्धन गर्ने तयारी गरेको छ । उसले चुनावलाई नै लक्षित गरेर भदौ २५ देखि २७ गतेसम्म हुने बृहत् नगरसभामा चुनावी माहौल तताउन काङ्ग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा, केन्द्रीय नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, विजयकुमार गच्छादारलाई भानुचोकको खुलासभामा सहभागी गराउने भएको छ ।

नगरसभापति तिलक राईले चुनावी माहोल तातिएकाले नगरसभाको बन्दसत्रमा धरानमा रहेका २० वटै वडाका निर्वाचित प्रतिनिधि, सभापति, पदाधिकारी तथा मतदान केन्द्रका पदाधिकारी भेलापछि गहन छलफल गरेर धरान घोषणा–पत्र जारी गर्ने बताए । काङ्ग्रेसका जिल्ला सभापति राजीव कोइरालाले उपनिर्वाचनमा धरानको जल्दाबल्दा समस्याहरूलाई सम्बोधन गर्ने बताए । उनले भने, ‘कम्युनिष्टले सधैँ जिते पनि विकास निर्माणमा पछि परेको धरानमा विकासको लहर ल्याउन एकपटक मौका दिन मतदातासँग भोट माग्नेछौं ।’

चुनावी अङ्क गणित
०७४ असार १४ गते सम्पन्न धरानको स्थानीय तहको चुनावमा कुल मतदाता ७९ हजार २ सय ८२ मतमध्ये ५३ हजार ८ सय १२ मत खसेको थियो । खसेको मतको २० हजार ९ सय ७५ मत तारा सुब्बाले प्राप्त गरेका थिए । काङ्ग्रेसका तिलक राईले १६ हजार १ सय २ मत प्राप्त गरेका थिए । त्यसबेला माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ११ हजार १ सय ८० मत पाएका थिए । त्यसबेला माओवादी केन्द्रले सङ्घीय समाजवादीसँग गठबन्धन गरेको थियो ।

निर्वाचन आयोग सुनसरीका अनुसार ०७६ असार मसान्तसम्ममा थपिएका सहित गरी ९६ हजार ६ हजार ७१ जना मतदाता पुगेका छन् । निर्वाचन आयोगमा पछिल्लो समयमा ३ हजार ९ सय २४ पुरुष र २ हजार ३ सय १ महिला मतदाता थपिएका छन् । कुल मतदातामध्ये धरानमा महिला मतदाताको सङ्ख्या बढी छ । कुल मतदातामध्ये ५ हजार ३ सय ५९ मतदाता महिला रहेको निर्वाचन आयोगले जनाएको छ।

स्थानीय चुनावमा काङ्ग्रेसले धरानका २० वटा वडामध्ये १, २, ५, १४ र १८ वडामा मात्र जित हातपारेको थियो । तत्कालीन माओवादी केन्द्रले वडानम्बर १७ मा मात्रै विजय हासिल गरेको थियो । बाँकी सबै वडामा तत्कालीन एमालेले आफ्नो प्रभुत्व जमाएको थियो । काङ्ग्रेसले साना दलसँग गठनबन्धन गरे पनि धरानमा ती साना दलको मत सबै जोड्दा पनि ६ हजार नकट्ने भएकाले माओवादी केन्द्र र एमाले एकीकरण भएको अवस्थामा अबको उपनिर्वाचनमा पनि उनीहरूको पल्ला भारी हुने अनुमान गरिएको छ ।

तर काङ्ग्रेसले मतदाताहरू कुनै पनि दलको पेवा नहुने भएकाले तत्कालीन समयमा एमाले र माओवादी केन्द्रका उम्मेदवारलाई मतदान गर्नेहरूले पनि आफूहरूलाई मतदान गर्ने दाबी गरेको छ । नेकपाले भने धरानमा बामपन्थी विरासत दरिलो भएकाले पार्टी सङ्गठन मजबुत भएको जनाउँदै पहिलेभन्दा दोब्बर मतले जित हासिल गर्ने दाबी गरेको छ । ब्लाष्ट खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button