काठमाडौं । नेपाल र चीनबीच तीन नयाँ समझदारी पत्रमा हस्ताक्षर भएको छ। सोमबार काठमाडौंमा सम्पन्न परराष्ट्रमन्त्रीस्तरीय बैठकमा दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।उक्त हस्ताक्षरपत्रमा भएका तीन नयाँ समझदारीमा मनाङमा अस्पताल निर्माण, गृह मन्त्रालयलाई ५ हजार टेन्ट उपलब्ध गराउने र नेपालमा चिनियाँ भाषा सिकाउन चीनबाट स्वयमसेवी शिक्षक ल्याउनेसम्बन्धी रहेका छन्।
दुई देशबीच भएको सो समझदारी पत्रअनुसार चीनले मनाङमा अस्पताल निर्माण गर्न नेपाललाई २ करोड २० लाख चिनियाँ युआन ९३५ करोड ५७ लाख ४० हजार रुपैयाँ दिनेछ। यस्तै प्राकृतिक प्रकोपका बेला तत्काल पीडितलाई राहतस्वरुप उपलब्ध गराउने उद्देश्यले गृह मन्त्रालयलाई ५ हजार थान टेन्ट चीनले उपलब्ध गराउने जनाएको छ।
दुई देशबीचको बैठक सम्पन्न भएपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा दुई देशका अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका थिए ।