एजेन्सी – युरो २०२० छनोट अन्तर्गत इंग्ल्यान्डले घरेलु मैदानमा कोसोभोमाथि ५- ३ को रोमान्चक जित दर्ता गरेको छ । पहिलो मिनेटमै गोल खाएको इंग्ल्यान्डले त्यसपछि सम्हालिंदै जित दर्ता गरेको हो ।
खेलको ३४ औं सेकेन्डमा नै कोसोभोले गोल गर्दै खेलमा अप्रत्याशित अग्रता लिएको थियो । डिफेन्डर माइकल किनको गल्तिको फाइदा उठाउँदै भालोन बेरिशाले गोल गरे । यद्यपि उक्त गोलले नतिजामा भने खासै असर गरेन । इंग्ल्यान्डले पहिलो हाफमा नै ५ गोल गर्दै फराकिलो अग्रता कायम गर्यो ।
खेलको आठौं मिनेटमा नै किनको पासमा रहिम स्टरलिङले गोल गर्दै खेल बराबरीमा ल्याए । रहिमकै पासमा कप्तान ह्यारी केनले १८ औं मिनेटमा गोल गर्दै इंगलिस टोलीलाई अगाडी बढाए । ३८ औं मिनेटमा इंग्ल्यान्डले अग्रता दोब्बर पार्यो । जेडन सान्चोले देको क्रसलाई कोसोभोका मेर्गिम बोज्बोदाले आफ्नै पोस्टमा छिराए ।
त्यसपछि पहिलो हाफको अन्तिम दुई मिनेटमा इंग्ल्यान्डले दुई गोल थप्यो । दुवै गोल रहिमको पासमा सान्चोले गोल गरेका थिए । इंग्ल्यान्डका लागि रहिम र सान्चोले उत्कृष्ट तालमेल देखाउँदै कोसोभो डिफेन्सलाई समस्या दिइरहे । यद्यपि दोस्रो हाफमा भने इंग्ल्यान्डले गोल थप्न सकेन ।
दोस्रो हाफको ४९ औं मिनेटमा कोसोभोका लागि बेरिशाले नै काउन्टर अट्याकमा गोल गरे । त्यसपछि ह्यारी मगाएरले पेनाल्टी क्षेत्रभित्र भेदात मुरिकीलाई लडाएपछि प्राप्त पेनाल्टीमा उनैले गोल गरे । ६५ औं मिनेटमा कप्तान केनले पेनाल्टी मौका पाएपनि त्यसमा गोल गर्न नसक्दा इंग्ल्यान्डको अग्रता बढेन ।
समूह ‘ए’ कै अर्को खेलमा चेक गणतन्त्रले मोन्टेनेग्रोमाथि ३-० को जित दर्ता गर्यो । विजयी टोलीका लागि टोमस सुचेक, लुकास मसोपुस्त र भ्लादिमिर दारिदाले गोल गरे । जितसँगै चेक अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चेकको ५ खेलमा ९ अंक छ भने समान खेलमा कोसोभोको ८ अंक छ । शीर्षस्थानको इंग्ल्यान्डले ४ खेलमा १२ अंक जोडेको छ । मोन्टेनेग्रो र बुल्गेरियाको २-२ अंक रहेको छ ।hamrokhelkud