काठमाडौं,
नेपाली कांग्रेसका संसद अमरेशकुमार सिंहले दुई छिमेकी देशका विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा भिन्दाभिन्दै व्यवहार गरिएको बताएका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंह नाम नलिइकन चीनको विदेशमन्त्रीलाई भन्दा भारतीय विदेशमन्त्रीलाई फरक व्यवहार गरिएको भन्दै आपत्ति जनाएका हुन्।
भारतीय विदेशमन्त्रीको स्वागतको स्तर, प्रधानमन्त्रीसँग भेटको व्यवस्थापन र सत्तारुढ दलका अध्यक्षले गरेको भेटमा विभेद गरेको भन्दै आपत्ति जनाएका हुन्। भाषण उनले चीन र भारतको भने नाम लिएका थिएनन्।
‘दुुवै देशका परराष्ट्रमन्त्रीको भ्रमण भयो। एउटा परराष्ट्रमन्त्रीलाई स्वागत गर्न परराष्ट्र सचिव जान्छ, अर्को छिमेकीको परराष्ट्रमन्त्री आउँदा मन्त्री जान्छ’ सिंहले भने, ‘एउटा परराष्ट्रमन्त्रीलाई प्रधानमन्त्री भेट्दा राजा रैति जस्तो गरि भेट्छ, अर्कोलाई बराबरीको अवस्थामा भेट्छ। के परराष्ट्र मन्त्री र प्रधानमन्त्रीको बराबरीका हैसियतमा भेट्न मिल्छ? भेटेको र झण्डा राखेको छ ? दुवै सरकारी भ्रमण थियो निजी भ्रमण थिएन।’
उनले भारतीय विदेश मन्त्रीसँग प्रोटोकलका कुरा उठाएर नभेट्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहालले चिनियाँ विदेशमन्त्रीलाई भेटेको उनको भनाइ थियो।
नेपाल भारत उच्चस्तरीय राजनीतिक संयन्त्रमा बैठकमा भाग लिन आएका भारतीय विदेशमन्त्री एस जयशंकरलाई परराष्ट्र सचिव शंकरदास बैरागी र नेपाल भ्रमणमा आएका चिनियाँ स्टेट काउन्सिल तथा विदेशमन्त्री वाङ यीलाई स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले विमानस्थलमा स्वागत गरेका थिए।
सांसद सिंहले नेपालले असंलग्न परराष्ट्र नीति छाडेको भन्दै आपत्ति समेत जनाए। उनले समान रुपमा व्यवहार नहुँदा त्यसको शिकार नेपाल हुनसक्ने बताए।
‘दुवै छिमेकीलाई समान व्यवहार गरेनौँ भने त्यसको शिकार पनि हामी कहीँ न कहीँ हुँन्छौ’ सिंहले भने, ‘विगत हाम्रो पुर्खा र हाम्रो पार्टीले पनि नेपाल असंलग्न राष्ट्र हो, हामी कसैको यसलाई हुन सक्दैन भनेर भनेको छ । त्यत्रो शीतयुद्धको हुँदा पनि, दुई ध्रुवको लडाई हुँदा पनि कसैको पक्षमा लागेनौं । हामी अमेरिका वा रुस कसैको पक्षमा पनि लागेनौं।’
उनले सरकारको लिएको परराष्ट्र नीति के हो? भन्दै ध्यानाकर्षण गर्न चाहेको बताए। ‘यो सरकारको अपरिपक्क र बचकना परराष्ट्र नीतिको कारण हामी नेपाल र नेपालीको रुपमा रहन्छौँ वा रहँदैन भन्ने समाचार सम्प्रेषण भएको छ’ सिंहले भने, ‘भर्खरै तीन वटा विषय हेर्दा इन्डो प्यासेफिक र बीआरआईको बारेमा जुन कुार आएको छ। यसअघि मैले पनि यो विषयमा कुरा उठाएको थिए, इन्डो प्यासेफिक र बीआरआई दुवै रणनीतिक महत्वका परियोजना हुन्। यसमा सरकारले बृहत राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नु पर्छ।’नेपालखबर