टेकनाथ रिजाल
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७६÷७७ को साउन महिनाको अर्थ मन्त्रालयको विविध शीर्षकबाट भएको निकासा तथा रकमान्तर विवरण सार्वजनिक गरेको छ । यो खर्च विनियोजित बजेटको विभिन्न शीर्षकका रूपमा रहेको अर्थ मन्त्रालय स्रोतको भनाइ छ । सो विवरणमा उल्लेख भएअनुसार नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७६÷०४÷०६ र मिति २०७६÷०४÷१६ को निर्णयानुसार मानव अधिकारवादी नेता टेकनाथ रिजालसहित अन्य १२ जना व्यक्तिहरूलाई आर्थिक सहायता उपलब्ध गराउन रु. ५९ लाख रकम आर्थिक सहायताबापत गृह मन्त्रालयलाई निकासा गरेको छ ।
टेकनाथ रिजाल जस्ता भुटानी आन्दोलनकारीलाई नेपालका गरीब जनताले पाल्नु पर्ने बाध्यता के हो ? नेपाल सरकारले स्पष्ट पार्नुपर्ने माग बुद्धिजीवीहरूको रहेको छ । मानव अधिकारवादीको गफ दिने अनि नेपाली जनताले पचासौं लाख खर्च गरेर पाल्नुपर्ने किन ? भन्ने प्रश्न उठेको छ ।
नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७६÷०४÷१६ को निर्णयानुसार कञ्चनपुर घटनामा घाइते अर्जुन भण्डाराको नियमित कुरुवासमेतको व्यवस्थापन खर्च बापत मासिक रु. २५ हजार राहत रकम जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरमार्फत उपलब्ध गराउन गराउने गरी रु. ३ लाख रुपैयाँ आर्थिक सहायताका रूपमा गृह मन्त्रालयका नाममा निकासा दिने निर्णय गरेको छ ।
त्यसैगरी सर्वोच्च अदालतको आदेशबमोजिम पूर्वी चौकी–५, डोटीका खोपपश्चात् मृत्यु भएका ४ जना बालबालिकाका अभिभावकलाई जनही रु. १० लाखको दर क्षतिपूर्ति रकम उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा ४० लाख रुपैयाँ अन्य फिर्ता (वैदेशिक समेत) निकासा गरेको छ ।
धादिङ जिल्ला बेनीघाट रोराङ निवासी केशव विसुराललाई रु. ३ लाख आर्थिक सहायता उपलब्ध गराउन मन्त्रिपरिषद्बाट मिति २०७६÷०३÷१२ मा निर्णय भएको तर निकासा भए पनि भुक्तानी आदेश नबनेको कारण रकम निकासा नभएकोले दोहोरा नपर्ने गरी रु. ३ लाख गृह मन्त्रालयलाई उपलब्ध गराउन आर्थिक सहायतास्वरूप रकम निकासा गरेको छ ।
भ्रमण खर्च नियमावलीको अधीनमा रही भुक्तानी गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव ९–११ जुलाई २०१९ रसियामा भएको कार्यक्रममा अस्वस्थताका कारणले भाग लिन नसक्दाको टिकट रद्द खर्च र सोही कार्यक्रममा भाग लिन गएका सहसचिवको भ्रमण खर्चसमेतको रकम रु. ३ लाख १३ हजार २ सय ४५ रुपैयाँ प्रतिनिधिमण्डलको भ्रमण तथा स्वागत खर्चबापत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भुक्तानी गर्ने प्रयोजनार्थ निकासा दिने निर्णय गरेको छ ।
त्यसैगरी अर्थ मन्त्रालयले रकमान्तर निकासा भएको मन्त्रालय÷निकायसमेत उल्लेख गर्दै रकमसहितको बजेट शीर्षकसमेतको विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरण गर्ने प्रयोजनका लागि १० लाख रुपैयाँ भैपरी आउने–साधारण प्रशासनको बजेट शीर्षकबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई रकमान्तर गरी निकासा गरेको छ ।
त्यसका साथै नेपाल सरकारको मिति २०७६÷०३÷०६ को निर्णयानुसार गठित सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका लागि भैपरी आउने–साधारण प्रशासनको बजेट शीर्षकबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ४७ लाख ६५ हजार १ सय ८७ रुपैयाँ रकमान्तर गरी निकासा दिएको जनाएको छ ।
यसरी अर्थ मन्त्रालयले २०७६ साउन महिनामा झन्डै २ करोड ५६ लाख रुपैयाँ विनियोजित बजेट शीर्षकको खर्चलाई स्वीकृत गर्दै विभिन्न मन्त्रालय तथा निकायका नाममा निकासा तथा रकमान्तर गर्दै सम्बन्धित व्यक्तिहरूसमक्ष पुग्ने गरी निकासा दिएको कुरा जनाएको छ ।
साँघु न्यूज