एउटा गाउँमा गाउँ भेला बसेछ , त्यसको कारण रहेछ गाउँकै एक गरीब किसानकी छोरीलाई त्यही गाउँका मुखियाका छोराले पटक पटक बलात्कार गरेका रहेछन् र त्यसैको न्याय निसाफका लागि त्यो भेला बोलाईएको रहेछ । मुखियाका छोराले किसानकी छोरीलाई धम्क्याएर, फकाएर पटक पटक बलात्कार गरेका रहेछन् तर गरीब किसानकी छोरी डर र त्रासका कारण आफु माथि भएको यौन शोषणको कुरा ओकल्न सकिरहेकी रहिनछिन् । तर, मुखियाका छोराको हद ब्यबहारले उनले घरमा आमालाई खुसुक्क भनिछन् आमाले बाउलाई सुनाईछन् एक कान दुईकान हुदैँ गाउँमा हल्ला चल्न थालेछ । पहिला त मुखिया र मुखियाका बलत्कारी छोराले किसानलाई प्रलोभन, त्रास , डरको प्रपञ्च रचेर कुरो गुपचुप राख्न भनेछन् तर ती किसान अलि फरक खालका रहेछन् उनले दुबै बाउछोरालाई मुखभरिको जवाफ दिएर पठाएछन् र गाउँ भेला डाकेछन् ।
भेला बसेछ , गाउँका जान्ने र ठूलाबडा सबै आएछन् । शुरु भयो केटीको कैरनबाट किसानकी छोरीले रिठे नबिराइ ईतिवृतान्त कहानी सुनाइछे। भेला भएका सबैले जिब्रो टोकेछन् ,मुखिया र मुखियाको छोरो निलो, कालो , हरियो हुदै बैजनीनै भएछन्। छलफलले एउटा चार सदस्यीय न्यायिक समिति गठन गरेछ । चार सदस्यीय न्याय निसाफ समितिको एक घण्टा मिटिङ बसेछ र सबै गाउँलेलाई फेरि भेला हुन उर्दी जारी गरिएछ । गाउँले फेरि फैसला सुन्न जम्मा भएछन् , भेला भएकामा धेरै जसो गरीब किसानै रहेछन् । न्याय निसाफ समितिको बैठकले यस्तो फैसला सुनाए छ ।
फैसलाको विवरण यसप्रकार रहेछ ।
हाम्रा परम आदरणिय मुखिया बा तथा उहाँका सु पुत्र साना काजी र सम्पूर्ण गाउँलेहरुमा आज हामी यो विषयका बारेमा यस प्रकारको निणर्य गरि सुनाउन गइरहेकाछौँ । न्याय निसाफ भनेको सत्य र तथ्यका आधारमा गरिने यस गाउँको परम्परालाई कायम राख्दै कसैलाई न्याय दिदा अर्को पक्षलाई अन्याय पनि नहोस भन्ने पवित्र भावनालाई स्मरण गर्दै हामीले यो निणर्य गरेका हौँ । सबै गाउँले र पिडित र पिडक भनिनेहरुको सहमतिमा बनेको यो समितिले गरेको निणर्यमा कुनै सुनवाई नहुने गरि कसैको पनि मन नदुख्ने गरी निणर्य गरिएको छ ।
यो घटनाका दुबै पक्षको भनाईलाई मूल्याङ्न गरी हेरिकोरी ल्याउँदा साना काजीले आफ्नै गाउँकी चेलीसँग लसपस गरेको देखियो, घरमा श्रीमती हुँदाहुदै बाहिरकी युवतीसँग पटक पटक लसपस गर्दा उहाँ जस्तो ब्यक्तिलाई पटक्कै नसुहाउने कार्य गरियो भन्ने हाम्रो ठहर छ । साना काजीले यी युवतीलाई अन्याय गरे जस्तो देखिन्छ। यी चेलीको मन दुखेकै हुनु पर्छ जसका लागि यी चेलीलाई घरमा उनका आमा बाउले राम्ररी संझाउनु पर्छ जस्तो हामीलाई महशुष भएको छ । यी माथि अन्याय भयो नै भने पनि हुन्छ तर हाम्रो यो न्यायिक समितिको गंभीर चिन्तन र मननबाट के पनि देखिन्छ भने यी चेली निक्कै हलक्क बढेकी, जीउ शरीर मिलेको, आँखा नशालु प्रकारका, लामो कपाल, अनार जस्ता दाँत र हिस्सी परेको यीनको शारीरीक बनोटका कारण जो कोही लोग्ने मान्छे पनि आकषर्ण हुने देखिन्छ । साथै विगत एक वर्ष देखि यीनमा निक्कै गतिलै गरि बैश चडेको कुरा गाउँका अल्लारे ठिटाहरुले जिस्क्याउँदाका क्षणहरुलाई संझदा पनि प्रष्ट हुन्छ अत यो समिति यो फैसला गर्न पुग्दछ कि साना काजीले बलात्कार जस्तो अमानविय जस्तो लाग्ने घटना गरेको भएपनि युवतीको बैँश पनि मुख्य कारक तत्वको रुपमा रहेको देखिन्छ । यदि यी युवतीलाई यस्तो लहलाउँदो बैँशले गाँजेको थिएन भने पक्कै पनि साना काजी आकर्षित बन्ने थिएनन् होला । यो घटनामा एक जनालाई मात्र दोषी मानियो भने हामीले पापको भागी बन्नु पर्ने छ । हामी मात्र होइन यो गाउँनै पापी गाउँ हुनेछ । युवतीको लोभ लाग्दो शरीर र उनमा देखिएको बैशको लालीका कारण आज यो घट्ना हुन पुगेछ यसर्थ कताकता साना काजीको दोष देखिएता पनि कारण भने युवतीनै भएकाले अबका दिनमा यदि यो गाउँमा कसैलाई यस्तै प्रकारको बैश आएको भेटिए आफ्नै घरका बाउ आमाले तरुनी छोरीहरुलाई टुङ्गामा राख्न समेत आजैबाट सूचना गर्दै घटनाको प्रकृति पटके बलात्कार जस्तो भए पनि बैँशका कारण यो नहुने पर्ने कार्य हुन गएकोमा सबैले दुख ब्यक्त गर्दै फैसला सुनाई सकेपछि सदर भएको घोषणा गरिन्छ । ईति सम्वत् ,परम आदरणिय मुखीया बा को दलिन रोज शुभम् ।
न्याय निसाफ गर्ने समितिको फैसला पछि सबै गाउँले हो कि क्या हो भन्दै बाटो लागेछन् । भोली पल्ट गाउँमा पीडित किसान परिवार बाहेक सबैले उल्टो तर्क गर्न थालेछन् । ‘ हो नि त त्यो फलानीलाई कुरकुरे बैशले गाँजेको थिएन भने साना काजी त्यो माथि जाईलाग्ने थिए र ? पाकेको र राम्रो फलमा जस्को पनि त नजर पर्छ नि , बिचारा साना काजी, नखाको बिख लाग्दैन भन्थे हो रछ है त्यसलाई आएको बैशले झन्ने सानाकाजीको ईज्जेतमा दाग लाग्यो जस्ता उल्टा कुरा गाउँभरि चलेछन् । यसलाई मैले एक सामाजिक न्यायको एउटा सामान्य कथाका रुपमा उभ्याएको हुँ । वास्तवमा हाम्रो समाज अहिले पनि यो भन्दा धेरै फरकको छैन । मुखमा जे भनिएता पनि समाजको ठालू चरित्रमा कुनै बदलाव आएको छैन । अहिले पनि साना मसिना कुरा देखि अलिक पेचिला विषयका बारेमा हाम्रो समाजमा छलफल र वहस चलाउने हो भने हरेक पाटामा ठालू चरित्रकै हालिमुहाली छ । देशमा लोकतन्त्र आएको छ तर यसको अनुभूति भनेको ती मान्छेहरुले कहिल्यै गर्न सकेनन् । के का लागि र कसका लागि किन आयो लोकतन्त्र ? सामाजिक न्यायमा मात्र होईन राज्यका हरेक तह तप्कामा अहिले पनि ठालूहरुकै हालीमुहाली छ उनीहरुको भनसुनका आधारमा राज्यका निकायहरुले दिने न्याय कति असल र गुणात्मक होला र ?
आज पनि हामी समाजका साना तिना विषयका बारेमा छलफल चलाउनु प¥यो भने भलाद्मी राख्ने भन्छौँ तर ती भलाद्मी भनिनेहरु कति भद्रता र विद्धता भएका हुन्, तीनीहरुको वर्ग चरित्र केहो ? उनीहरु के आधारमा समाजका प्रतिनिधि पात्र हुन् हामी यसै ठालुहरुलाई पगरी गुथाई दिन्छौँ र गजक्क पारीदिन्छौँ । उनीहरुको पोषाक मात्र सफेद हो की मन पनि सेतो छ र समस्याको जडमा पुगेर त्यसका केस्रा केलाउने ल्याकत छ छैन भनेर हामी हेक्का राख्दैनौ । हामीलाई यति मात्र थाहा छ कि उनीहरु समाजका ठूलाबडा हुन् जसलाई हामी ठूला भन्छौ उनीहरुको सोच र चिन्तन साँगुरो र कुहिएको छ छैन हामी याद गर्दैनौँ आजको हाम्रो समाज अहिले पनि यही ठालुवादले जकडिएको छ र हामी समाजको न्याय भनेको त्यस्तै ठालुहरुको झुण्डबाट अपेक्षा गर्दछौँ र हामीले पाउने न्याय भनेको मुखीया र किसानको जस्तो हुन्छ ।
जब सम्म समाजमा ठालुहरुको यो कु संस्कार र दम्भलाई हामी च्यातेर फ्याक्न सक्दैनौ तब सम्म हामी सधै गरीब किसानको कथा जस्तै न्याय पाउनेछौँ । यहाँ सम्पत्तिमाको तुलनामा तल परेको मान्छेलाई गरीब भनेर परिभाषा गरिन्छ तर त्यो भन्दा ठूलो गरीब सोच र चिन्तनमा शुन्यता र शैतान बसेको हो । धनमा गरीब हुनेसाथ समाजका हरेक पाटा र क्षेत्रमा त्यसको कुनै उपस्थिति नगराउने परम्परागत सोच र चिन्तननै सामान्तवादी ठालू चिन्तन हो । धनमा गरीब भएका मान्छेहरुले कथित धनीहरुको पछि लाग्नु पर्ने , सुकिला मुकिलाहरुले गरेका अपराधहरुमा मौन बसिदिनु पर्ने , सामाजिक क्षेत्रका हरेक पक्षमा ओझेलमा परिनु पर्ने कुनै सामाजिक पदमा सोच्न पनि नहुने यी सबै परम्परागत ठालुवादका हस्तक्षेपहरु हुन् जसलाई अबका युवाहरुले धुस्नो पार्नै पर्छ ।
आम मान्छेहरुको भावना र मर्ममा जब हाम्रो मन र कर्म ठोक्किन पुग्दैन तब सम्म परिवर्तनको कुनै गुड्डि नहाँके हुन्छ । सतही बुझाई , टपरटुइयाँ चिन्तन र मै हुँ भन्ने प्रवृति अक्सर ठालुवादमा रहेको हुन्छ । राजनीति र समाज परिवर्तन जस्ता सुकै एजेण्डाको चाङ लगाएता पनि मूलभुत कुराको चुरो भनेको सामाजिक सम्बन्धहरुसँग गासीएको हुन्छ ।र, नेपालको वर्तमानको सामाजिक चरित्र र त्यसको परिवश भनेको सामान्तवादी सोच र चिन्तनले गाँजेको आवरणमा लोकतन्त्रको लेपन जस्तो मात्र यसकारण पनि देखिन्छ कि जसका आँगनमा लोकतन्त्रको उज्यालो पुग्नु पर्ने त्यहाँ अहिले पनि अध्यारोनै छ पुगेको छ त फेरि पनि मुखीया साब हरुकै महलहरुमा !