काठमाडौं– अव्यस्थित शहरीकरण, जलवायु परिवर्तन, अनियन्त्रित निर्माण कार्य लगायतका कार्यले डेंगुको महामारीलाई बढाएको विज्ञहरुले बताएका छन्।
पछिल्लो केही महिना यता नेपालका धेरै जिल्लामा डेंगुले महामारीको रुप लिएपछि यसबारे चर्चा सुरु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार हालसम्म ६ जनाको मृत्यु भएको छ। करिब पाँच हजार मानिस संक्रमित भइसकेका छन्।
सन् १९९६ मा विश्वमा ६ देशमा मात्र देखिएको डेंगु अहिले १२६ देशमा देखिएको छ। विश्व स्वास्थ्य संगठनको यो तथ्यांकले डेंगुले तिव्र रुपमा मानिसलाई प्रभावित बनाएको देखाउँछ।
बिहिबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले युनिसेफसँगको संयुक्त रुपमा गरेको डेंगु नियन्त्रणबारेको अन्र्तक्रियामा स्वास्थ्य मन्त्रालय मात्र नभई अन्य मन्त्रालय, साझेदार संस्था र जनस्तरसम्मको पहल हुनुपर्ने विषय उठेको छ।
विश्व स्वास्थ्य संगठनकी वैज्ञानिक डा लुनतेन जि वाङचुकले पछिल्लो समय नेपालसहित सिंगापुर, चीन, भुटान, श्रीलंका, बंगलादेश, पाकिस्तान, भारत, थाइल्याण्डलगायतका देशमा डेंगुले गम्भीर रुप लिएको बताइन्।
एनले भनिन्, ‘कुनै एक कारणले मात्र डेंगु फैलिएको होइन। जलवायु परिवर्तनले बढाएको तापमानले उच्च पहाडी तथा हिमाली ठाउँमा लामखुट्टे पुगेको छ, जति विकास निर्माण कार्य बढ्छ त्यति नै डेंगु बढ्छ।’
डेंगु रोगको समस्या स्वास्थ्य क्षेत्र एक्लैको मात्र नभई इन्टरसेक्टरल समस्या भएको उनको भनाई छ। ‘यो डेंगु नियन्त्रण गर्नु हामी सबैको साझा जिम्मेवारी हो,’ उनले भनिन्।
विश्व स्वास्थ्य संगठनको दक्षिण एसियाली क्षेत्र (सेरो) हेर्न भारतस्थित कार्यालयका वरिष्ठ कीटरोग विशेषज्ञ डा बीएन नागपालले डेंगुको लामखुट्टे अस्पताल, प्रहरी कार्यालय, विमानस्थल, डिपार्टमेन्ट स्टोर, सरकारी कार्यालय, नर्सरी, निर्माणस्थललगायतका स्थानमा बढी पाइने भएकाले यी स्थानमा बढी जोखिम हुने बताए।
उनले डेंगुको लामखुट्टे ससाना कन्टेरनरमै विकसित हुने भएकाले पानी जम्नसक्ने ससाना वस्तुहरु हटाउनुपर्ने उनले बताए। घरभित्रको सरसफाई गर्दा पनि अध्याँरो भागमा अझ बढी सरसफाई गर्नुपर्ने र लामखुट्टे मार्ने स्प्रे गर्दा सोफा, खाटमुनि, टेबुलमुनि पनि गर्न उनले सुझाव दिए।
कीटजन्य रोग नियन्त्रणमा कीटविशेषज्ञ र भेक्टर डिजिज कन्ट्रोलमा काम गर्ने जनशक्ति पनि आवश्यक हुने बताए।
‘अहिले धेरै ठाउँमा कीटरोग विज्ञ र यससँग का गर्ने जनशक्ति निकै कम छ, यदि यी जनशक्तिको पर्याप्त व्यवस्था हुने हो भने वर्षभरी काम हुुन्छ र नियन्त्रणसम्बन्धी जनचेतनालगायतका काम पनि गर्न सकिन्छ,’ उनले भने।
केही समयअघि बंगलादेशमा फैलिएको डेंगु रोग महामारी कसरी नियन्त्रण भयो भन्नेबारे उनले त्यहाँको सरकारले रेडियो, टेलीभिजन, मोवाइललगायतका सबै सञ्चारका उपकरणलाई जनचेतनाका सन्देश फैलाउन प्रयोग गरेको बताए।
डेंगु रोगले ज्यानै पनि जान सक्ने भएपछि मानिसहरु अझ सजक भएको उनको भनाई छ। बंगलादेश सरकारले त्यहाँका करिब २५ हजार युवालाई डेंगु रोगबारे तालिम दिएर परिचालन गरिएको उनले जानकारी दिए।
नेपालमा यतिबेला डेंगु–संकटकाल घोषण गर्न समेत माग गरिएको छ। प्रि–मनसुनमा नै प्रकोपको रूप लिएको डेंगु अहिले देशभरका ५६ जिल्लामा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा देखापरेको छ।
नियन्त्रणका लागि बेलैमा प्रभावकारी कदम नचालेको र महामारी रोक्न स्वास्थ्य मन्त्रालय चुकेको भन्दै आलोचना सुरु भएको छ।
स्वास्थ्यमन्त्रीले रोग नियन्त्रणमा पहल नगरेको भन्दै उनको राजीनामा समेत माग भइरहेको छ।
स्वास्थ्य खबरपत्रिका