स्वास्थ्य

तीनतहका सरकारी प्रयास विफल

विमर्श उप्रेती / डम्बर बराल

झापा / यसवर्ष गत वैशाख महिनामा सुनसरीको धरानमा देखा परेको डेंगुले चार महिने अवधिमा देशका ६१ जिल्लामा महामारीको रुप लिएको छ ।
यस वर्ष सो रोगका कारण काठमाण्डौंमा २ सहित ६ जनाले ज्यान गुमाईसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१ जिल्लामा ३ हजार ८ सय ९९ जना डेंगु संक्रमित प्रमाणित भएका छन् ।
सरकारले नियन्त्रण बाहिर गएको घोषणा गरेको यो रोगबाट देशको राजधानी पनि आक्रान्त छ । डेंगुको प्रकोप फैलिएर दैनिक सयौँ संक्रमित हुन थालेका छन् । उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीमा समेत उल्लेख्य मात्रामा संक्रमण फेला पर्न थालेपछि यसले भयावहको रुप लिएको भन्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसले संकटकाल घोषणा गरेर नियन्त्रण र उपचारको उचित व्यवस्था गर्न संसद्मा माग गरेको छ ।
सर्वसाधारणदेखि चिकित्सक हुँदै मन्त्रीसम्म डेंगुको संक्रमणमा पर्नुले त्रास बढाएको छ । अहिलेसम्म टेकु अस्पतालका १४ जना स्वास्थ्यकर्मी डेंगु संक्रमित भेटिएका छन् । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाल र तिलगंगा आँखा अस्पतालका डा. सन्दुक रुइतलगायत संक्रमित बनेका हुन् ।
पछिल्लोसमय देशका विभिन्न प्रदेशहरुमा डेंगु संक्रमण फैलिएसँगै आम नागरिक असुरक्षित महसुस गर्न थालेका छन् । गएको वर्ष ८ सय ११ जनामा मात्रै डेंगु देखिएको थियो । तर, यस वर्षको असारदेखि भदौसम्ममा पूर्वी नेपालको तराईमा डेंगुले महामारीको रुप लिएको छ । सरकारले महामारी नियन्त्रणका लागि चिकित्सकसहितको केन्द्रीय टोली नै परिचालन गरेपनि प्रभावकारी बन्न सकेन । यसबीचमा संघ, प्रदेश र स्थानीय तहहरुले गरेको डेंगु नियन्त्रणको प्रयास विफल भएको छ । डेंगुको प्रकोप बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ पहिलो साता सरोकारवालाहरुसँग विस्तृत छलफल गरेपनि निर्णयको कार्यान्वयन पक्ष फितलो बन्दा संक्रमण काबुमा आउन सकेको छैन ।
झापामा जोखिम बढ्दै
डेंगु रोगका बिरामी देशमै पहिलोपटक झापाको मेचीनगरमा फेला परेको थियो । उक्त रोगकै कारण झापामा अहिलेसम्म दुईजनाले ज्यान गुमाइसकेका छन् । सो रोगले यसवर्ष झापामा कसैको पनि ज्यान लिएको छैन् । तर, संक्रमितको संख्या भने बढ्दो क्रममा छ । झापाका अस्पतालहरुमा डेंगु जँचाउनेहरुको दिनुहँजसो भीँड लाग्ने गरेको छ । ‘बिरामी बढिईरहेका छन्, रोगीको संख्या पाँच सय नाघिसक्यो’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मधुसुदन कोईराला भन्छन्–‘दिनैपिच्छे बिरामी आउँछन्, अब पनि नियन्त्रण गर्न सकिएन भने यसले कहालीलाग्दो रुप लिन्छ ।’ कार्यालयका अनुसार जिल्लाका मेचीनगर, विर्तामोड, भद्रपुर, दमकलगायतका क्षेत्र डेंगुको जोखिममा छन् । झापासहित देशभर डेंगु संक्रमितको संख्या बढिरहँदा नियन्त्रणमा स्थानीय तहले चासो नदिएको भन्दै झापाका सर्वसाधारण आक्रोशित छन् । डेंगु नियन्त्रण सम्बन्धी कार्यक्रम गत वर्ष सकिएको र यो वर्ष सो कार्यक्रम नथपिएको कोईराला बताउँछन् । डेंगु महामारीका रुपमा फैलिईरहँदा समेत स्थानीय तहले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको काँकरभिट्टाका स्थानीय गोविन्द मिश्र गुनासो गर्छन् । स्थानीय तहले नियन्त्रण प्रयास अघि बढाउन सचेतता अपनाउनुपर्ने भएपनि कुनै पनि पालिकाले जिल्ला स्वास्थ्य कार्यालयलाई त्यसबारे जानकारी नगराएको कोईरालाले बताए ।
राष्ट्रिय संकट घोषणा गर्न माग
नेपाली काँग्रेसका राधेश्याम अधिकारीले देशभर डेंगु आतंक बढेकाले राष्ट्रिय संकट घोषणा गर्न माग गरेका छन् ।
राष्ट्रियसभाको बुधबार सम्पन्न बैठकको विशेष समयमा उनले त्यसबारे सरकारको ध्यानाकर्षण गराउँदै यस्तो माग गरेका हुन् । सांसद् अधिकारीले डेंगुको प्रकोप र नागरिकको अवस्था बारे संसद्मा स्वास्थ्यमन्त्रीको जवाफ माग गरे । ५६ जिल्ला डेंगुबाट आक्रान्त बनिरहँदा सरकार संवेदनशील नभएको भन्दै उनले भने–‘अब यसलाई महामारी भन्ने की नभन्ने ?, संकटकाल घोषणा किन नगर्ने ?’ डेंगु जाँचका नाममा निजी अस्पतालले चर्को शुल्क असुलिरहेको भन्दै उनले अविलम्ब परीक्षण शुल्क निर्धारण गर्न सरकारसमक्ष आग्रह गरे । देश डेंगुबाट थला परिरहँदा सचेतना जगाउँदै सरकार भएको अनुभूति गराउनुपर्ने बताए ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का कोमल वलीले तीन तहका सरकारले आपसी सहकार्यमा डेंगु रोग नियन्त्रणमा तत्परता देखाउन ध्यानाकर्षण गराईन् । उनले समग्र देशको स्थिति भयावह भएको चर्चा गर्दै जनचेतना फैलाउन भावी दिनमा संकट दोहोरिन नदिन गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराईन् ।
डेंगुः लक्षण र बच्ने तरिका
डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भएपनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोम गरी तीन प्रकारका हुन्छन् । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफंै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । तर, यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु पनि हुनसक्छ ।
लामखुट्टेले टोकेको मानिसलाई दुई दिनसम्म सामान्य टाउको दुख्ने गर्छ, दुई–तीन दिनपछि लगातार ज्वरो आउँछ, टाउको दुख्ने, जोर्नी र मांसपेशी दुख्नेजस्ता लक्षण देखिन्छन् । यस्ता लक्षण देखिने बित्तिकै चिकित्सकलाई देखाउनुपर्ने, घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको टोकाईबाट जोगिन झुल टाँगेर सुत्ने, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर पुरै छोपिने गरी लुगा लगाउने, घर वरपर सफा राख्ने, लामखुट्टे भएका स्थानमा किटनाशक औषधिको प्रयोग गर्नाले डेंगुको संक्रमणबाट बच्न सकिन्छ ।
विपन्नलाई निःशुल्क डेंगु परीक्षण
चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) ले विपन्नका लागि डेंगुको निःशुल्क परीक्षण सेवा सुरु गरेको छ ।
अस्पतालको इर्मजेन्सी कक्षमा अस्पताल निर्देशक प्रोफेसर डा. दयाराम लम्साल र अस्पताल जनसम्पर्क अधिकृत हरि बोहोराले सेवा थालिएको बताए ।
भरतपुर १० का भरत लामालाई डेंगु परीक्षण गर्ने किट संयुक्त रुपमा प्रदान गर्दै निःशुल्क परीक्षण सेवा सुरु गरिएको घोषणा गरेका हुन् ।
दशैंको मुखमा अधिकाँश जिल्लामा डेंगुले महामारीको रुप लिईरहेका बेला स्थानीय सरकार भरतपुर महानगर र चितवन प्रशासनको अनुरोधलाई ध्यानमा राख्दै अस्पतालले उक्त सेवा थालेको हो ।
सामाजिक अभियान अन्र्तगत निःशुल्क डेंगु परीक्षण गर्न सुरु गरिएको अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डा. हरिश्चन्द्र न्यौपानले जानकारी दिए ।
नियन्त्रणमा सघाउ पुर्याउने उद्देश्यले एक हजारजना विपन्नहरुको डेंगुको निःशुल्क जाँचसहित परामर्श सेवा दिईने अस्पतालका निर्देशक डा. लम्सालको भनाई छ ।

मेचीनगरमा १ सय ५० जना संक्रमित

डेंगु तथा भाइरल ज्वरोको प्रकोप बढेसँगै मेचीनगरका स्वास्थ्य केन्द्र तथा अस्पतालहरुमा बिरामीको चाप अत्यधिक बढ्न थालेको छ ।

दैनिक २ सय बढीको संख्यामा बिरामी उपचारका लागि पुग्ने प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारीमा हाल दैनिक ३ सय देखि ४ सयजना बिरामी अस्पताल पुग्ने गरेका छन् । । तीमध्ये ९० प्रतिशत बिरामी ज्वरोका हुनेगरेका अस्पतालका सिनियर अहेव प्रवेश श्रेष्ठले बताए । श्रेष्ठ भन्छन्–‘पहिले दैनिक सयबढी बिरामी अस्पताल आउँथे, सरकारले स्वास्थ्य बीमा लागु गरेपछि बिरामीको २सय ५० बढी हुन्थ्यो, तर, अहिल ४ सय पुग्न गरेका छन् ।’

अस्पताल आएका बिरामीको पहिला पिभिसी र प्लेटलेस परीक्षण गर्ने गरिएको र त्यसमा शंका लागे मात्र डेंगु परीक्षणका लागि पठाउने गरिएको उनले बताए । अस्पतालमा किट अभाव भएकाले परीक्षणका लागि बाहिर पठाउनुपरेको उनको भनाई छ । मेचीनगरमा डेंगुको उच्च प्रभावित क्षेत्र मानिएको काँकरभिट्टास्थित काँकरभिट्टा स्वास्थ्य चौकीमा प्रत्येक दिन बिरामीको चाप बढ्दै गएको छ । यसअघि दैनिक ६५ ÷७० जना बिरामी उपचारका लागि आउने गरेकामा अहिले दैनिक झण्डै २ सय बिरामी आउने गरेका स्वास्थ्य चौकीले जनाएको छ । स्वास्थ्य चौकीका इञ्चार्ज तालबहादुर खड्का भन्छन्–‘ स्वास्थ्य चौकीमा उपचार गराउन आउने बिरामीको संख्या हरेक दिन बढ्दो छ , ९५ प्रतिशत बिरामी ज्वरो प्रभावित हुने गर्छन् ।’

ज्वरो आउने बित्तिकै डेंगु भयो भनेर आत्तिइँदै बिरामी आउने गरेका कारण दैनिक भीँड बढ्दै गएको र हालसम्म काँकरभिट्टा क्षेत्रमा मात्र १ सय ३५ जनामा डेंगु फेला परेको उनले बताए । स्वास्थ्य केन्द्रमा रगत जाँच गर्ने र शंका लागेमात्र डेंगु परीक्षण गर्ने गरिएको जानकारी गराउँदै उनले स्वास्थ्य केन्द्रमा किट अभावका कारण स्वास्थ्य परीक्षणमा थप समस्या भएको बताए । सरकारले निःशुल्क उपलब्ध गराउने किट स्वास्थ्य केन्द्र तथा अस्पतालहरुमा नहुँदा बिरामीहरु ८ सयदेखि १ हजार रुपैयाँ शुल्क तिरेर स्वास्थ्य परीक्षण गर्न बाध्य छन् । विपन्न वर्गका व्यक्तिहरु डेंगु परीक्षण गर्ने सामथ्र्य नहुँदा जाँच नगराई सिटामोलका भरमा घरमै बस्न बाध्य हुने गरेका छन् । झापा मेचीनगरको काँकरभिट्टामा सन् २०१२मा पहिलोपटक ५ जनामा फेला परेको डेंगु पछिल्लोसमय देशव्यापी रुपमा फैलिँदै गएको छ । तीव्र शहरीकरण र फोहोरको उचित व्यवस्थापन नहुँदा डेंगुको संक्रमण बढ्दै गएको स्वास्थ्यकर्मीहरुको भनाई छ । नगरमा डेंगुको संक्रमण सुरु भएसँगै सचेतना अभियान तीव्र पारिएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख शशीकला राईले बताईन् । उनी भन्छिन्–‘ गत असारमा मेचीनगर ९ मा डेंगु फेला परेसँगै हामीले जनचेतना अभियान सुरु गर्यौं, प्रभावित ठाउँमा बिषादी छिट्ने काम भएको छ ।’ नगरमा हालसम्म १ सय ५० जनामा डेंगुको संक्रमण फेला परेको स्वास्थ्य शाखाले जनाएको छ । डेंगुको भाइरस संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्ने भएकोले आफ्नो क्षेत्रको सरसफाईलाई विशेष ध्यान दिनुपर्ने उनले बताईन् ।janasamsadonline

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button