जीवहरु कुनै न कुनै चुनौतिको सामना गरिरहेका हुन्छन् भने चुनौतिको सामना गर्न नसक्नेहरु सँसारवाट बिदा लिन्छन् । खुल्ला दिशामुक्त क्षेत्रको घोषणासँगै भुस्याहा कुकुरहरुको जीविकोपार्जनमा चुनौति थपिएको छ । मानव आवाश पक्की संरचनाको बनिरहँदा परेवा, भँगेराहरु संकटमा परेका छन् । दैनिक २०० केजी भन्दाबढी हरियो प्रोटिनयुक्त वनस्पति खाएर बाँच्ने हात्तीहरु वन विनाशका कारण लोप हुने खतरामा छन् । नदी तथा खोलाखोल्सामा बहने पानीको स्रोत सुक्दा र विभिन्न कारणबाट पानी प्रदूषित हुँदा जलचरहरु लोपोन्मुख अवस्थामा छन् । पहिला–पहिला स्थानीय खोलामा पाइने माछाहरु आजभोली पाइन छाडेका छन् ।
मानव जीवन कुनै न कुनै उत्पादनको आधारमा मात्र जीवन्त रहन्छ । वस्तु तथा सेवामूलक उत्पादनकर्ताहरु समेत चुनौतिको सामना गर्न बाध्य भएका छन् । हालै सुन्दर यातायात प्रालि नामको यातायात कम्पनीका ब्यवसायीहरुले काठमाण्डौंमा विद्युतिय बसको सेवा विस्तार गरेसँगै इन्धनबाट चल्ने सवारी कम्पनीहरुले चुनौति महसुस गरेका होलान् । मोतिहारीबाट अमलेखगञ्जमा सोझै पाइपबाट इन्धन भित्रन थालेपछि ट्यांकर ब्यवसायीहरु समेत हड्बडाउनु स्वभाविकै होला । अब प्रदेश नं. १ ले नीजि कम्पनी सँगको साझेदारीमा विद्युतिय बसहरु सञ्चालन गर्ने हल्ला चलेसँगै विराटनगर धरान सेवा दिईरहेका राता र हरिया बसका मालिकहरु समेत चिन्तित भएका होलान् । यस्ता अनेकन उदाहरण लिन सकिन्छ चुनौतिका ।
भारतको सिलिगुडीका हस्पिटल र नर्सिङ्ग होमहरुको आम्दानीको ठूलो हिस्सा नेपाली बिरामीहरु थिए भन्दा अत्युक्ति नहोला । तर, केहीवर्षदेखि नेपालमा खुलेका अस्पतालका कारण उनीहरुको आम्दानीमा ठूलो धक्का लागेको छ ।
करोडौं लगानी गरी गाईपालन गरेका कृषकहरुलाई अब केहीवर्षपछि बुढा गाईहरु र बाच्छाहरु चुनौति बन्ने छन् । सामान्यतया १० देखि ११ वर्ष पश्चात गाईको दुग्ध उत्पादन कम हुने भएका कारण गाईलाई कसरी ब्यवस्थापन गर्ने भन्ने चुनौति थपिने छ । गाई भारत निकासी गर्न हाम्रो कानून बाधक छ भने भारतमा समेत मोदी सरकारको सत्तागमन पश्चात गौ हत्यालाई प्रतिबन्ध लगाइएको छ । खेत खनजोत गर्नका लागि मेसिनरी औजारको प्रयोगसँगै गोरुको औचित्य समाप्त भएको छ । यस्तै चुनौतिका कारण नेपालगञ्जमा खुल्ला पशुको संख्या बढेको हुनसक्छ । जसका कारण नेपालगञ्ज नगरपालिका माथि ठूलो प्रश्न खडा भएको छ ।
कतिपय समस्या र चुनौतिहरु समाधान र सामना गर्न राज्य जिम्मेवार हुन आवश्यक छ । राज्यले दूरदृष्टि राखी नीति निर्माण गर्न सक्यो भने यि समस्याहरु कम हँुदै जान्छन् । नीजि क्षेत्रलाई जथाभावी लगानीका लागि खुल्ला गर्नु र लगानी गरिसकेपछि नियन्त्रण गर्नु राज्यको ठूलो कमजोरी देखिन्छ । उदाहरणका रुपमा मानौं काँकरभिट्टादेखि धरान र विराटनगरका लागि कति यात्रुवाहक बसको आवश्यकता पर्दछ भन्ने पूर्वानुमान गर्न नसकिने होईन । तर, सरकारले तत् सम्बन्धी अध्ययन गरेको देखिँदैन बरु अध्ययन गरी नीति बनाउनभन्दा पनि आयात बढाउने र राजश्व संकलन गर्ने तिर ध्यान लगाएको देखिन्छ । अब विद्युतिय बसको सञ्चालन गर्नु राम्रो भएपनि नीजि लगानीकर्ताहरुको लगानी पक्कै पनि तहस नहस हुन जान्छ । ब्यवसायीको घर जग्गा बैंकमा रहेको हुन्छ र ऐन मौकामा राज्यले विकल्प नदिई अन्य ब्यवस्था लागु गर्दछ । जसका कारण लगानीकर्ता हतोत्साहित हुन जान्छन् । वस्तु तथा सेवाको आवश्यकताका आधारमा मात्र लगानी गर्न दिने नीति अख्तियारी गरेको भए पक्कै पनि यो अवस्था आउने थिएन । बैंक तथा वित्तीय सँस्थाहरुलाई लगानीका लागि निर्देशन दिन सकिन्छ तर, जसरी भएपनि राजश्व उठाउने, उत्पादन र उत्पादकत्व बढाउन ध्यान नदिने सरकारी नीति यसका लागि जिम्मेवार रहेको छ ।
सरकारको नीतिका कारण धनकुटा लामो समयसम्म तनावमा रह्यो । क्षेत्रीय सदरमुकामको रुपमा रहेको धनकुटा राज्य पुर्नसंरचना प्रदेश राजधानी बन्न सकेन । त्यहाँ बस्ने नागरिक र विभिन्न पेशा ब्यवसाय गर्ने मानिसहरुमा पर्ने प्रभाव कम गर्न कुनै औद्योगिक प्रतिष्ठान वा शिक्षण प्रतिष्ठान खोल्ने कार्य गर्न नसकिने थिएन । राज्य पुर्नसंरचनाका कारण धेरै ठाउँहरुले यस्तै दशा भोगेका होलान् । सरकारमा बस्नेहरुको दूरदृष्टि यस्तै बेलामा जाँचिने हो ।
तर, आजको विश्वमा कोही पनि कुनै कामका लागि स्वतन्त्रकर्ता हुँदैन । यो भनाई चिन्तक प्रदीप गिरीको हो । नेपालले समाजवादउन्मुख भनेर संविधानमा लेखेपनि सोही अनुसारको बजेट निर्माण गर्न सक्दैन । हाम्रा जस्ता साना र विकासका दृष्टिले पछाडी परेका देशहरुका नीति निर्माणदेखि महत्वपूर्ण आर्थिक प्रणालीहरुको निर्धारण समेत हामी आफंै स्वतन्त्र ढंगबाट गर्न सक्दैनांै । हाम्रा जस्ता साना देशमा विश्व बैंकदेखि अन्र्तराष्ट्रिय मुद्रा कोषहरुको प्रभाव सहजै देख्न सकिन्छ ।
विश्व ब्यवस्था दृष्टिकोणका प्रणेता इमान्युयल वालरस्टाइनले आफ्नो दृष्टिकोणको ब्याख्या गर्दै सम्पूर्ण विश्वलाई एक केन्द्रको रुपमा उल्लेख गरेका छन् । केन्द्रमा रहने देशले पृष्ठका देशलाई शोषण र उत्पीडन गर्ने र उसका हरेका रैथाने गतिविधि र सँस्कृतिलाई प्रभावित पार्ने कार्य गर्दछ । उदाहरणका लागि बहुराष्ट्रिय कम्पनीका उत्पादनहरुले हाम्रा रैथाने उत्पादनलाई विस्थापित गरेका उदाहरणहरु प्रशस्त छन् । हाम्रा रहनसहन र खाद्य परिकारमा समेत बहुराष्ट्रिय कम्पनीहरुले स्थान लिईसकेका छन् ।
अमेरिकाले दिल्लीलाई प्रभावमा पार्दछ भने दिल्लीले काठमाण्डौंलाई । यसैगरी, काठमाण्डौंले कर्णालीलाई । यो देशभित्र लागु हुन्छ । जस्तो काठमाण्डौंले काँकरभिट्टालाई र काँकरभिट्टाले बाहुनडाँगीलाई । कल्पना गरौं त बाहुनडाँगी कतिको पीडामा होला । त्यहाँ भएको स्रोत सबै साविक मेचीनगरले लिन्छ भने विकासका नाममा अति नगण्य कार्य मात्र बाहुनडाँगीले प्राप्त गर्छ । त्यति मात्र हैन राजनीतिक नेतृत्व छनौट गर्ने कार्यमा समेत मेचीनगर नै प्रभावी हुने स्पष्ट छ । बाहुनडाँगीवासीको इच्छा बेगर नै बाहुनडाँगीलाई ‘जवरन’ नगरपालिकामा गाभिएको हो । आखिर बाहुनडाँगीका नागरिक र राजनीतिक व्यक्तिहरु यसका लागि कर्ता भएनन् तर, पनि अरु कोहीले कर्ताको भूमिका निर्वाह गरेको छ ।
मानव समाज विभिन्न युगहरु पार गरेर आजको अवस्थामा आइपुगेको हो । विभिन्न चुनौतिहरुको सामना गरेर नै आजको अवस्थासम्म मानव अस्तित्व कायम रहेको छ । माक्र्सवादका अनुसार हरेक वस्तुको उत्पत्ती, विकास र विनास पनि त्यहि वस्तुबाट नै निहित हुन्छ । आशा गरौं यो प्रवृत्तिको विनाशको बीउ पनि यसैमा छ, ढिलो चाँडो त्यसको अंकुरण हुने नै छ ।janasamsadonline