खबर

इटहरीका मेयरले च्याते प्रहरीकै अगाडि अदालतको आदेश

विनय बाह्रकोटी 

इटहरी– इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले प्रहरीकै अगाडि अदालतको आदेशपत्र च्यातेका छन्। बिहीबार अदालतको आदेश बुझाउन गएका एक युवाको हातबाट पत्र मागेर उनले च्यातेका हुन्।

निवेदक तीर्थराज महतो सहितको समूहले इटहरी उपमहानगरपालिकालाई विपक्षी बनाई निवेदन दिएको थियो। आफ्नो जग्गामा जथाभावी कल्भर्ट बनाउने र पैनी खन्ने काम भएको भन्दै उनीहरुले निवेदन दिएका थिए। सोही निवेदनको आधारमा आदेशपत्र बुझाउन गएका महतोको हातबाट पत्र मागी मेयर चौधरीले च्यातिदिएका हुन्।

इटहरी १७ मा पर्ने निवेदकको जग्गामा कल्भर्ट खनिरहेको स्थानमै पुगेर मेयर चौधरीलाई महतोको समूहले पत्र बुझाएको थियो। पत्र बुझेपछि ‘यस्तै पत्रले हो काम गर्न नदिने’ भन्दै चौधरीले च्यातिदिएको महतो बताउँछन्।

उच्च अदालत विराटनगरका न्यायाधीश प्रेमराज कार्कीको एकल इजलासको आदेशपत्र लिएर महतो चौधरीकहाँ गएका थिए।

अदातलको पत्र बुझाउने बेलामा उपस्थित भएका प्रहरी हवल्दार परशुनारायण शाहकै अगाडि उनले पत्र च्यातेका हुन्। इलाका प्रहरी कार्यालय पकलीका प्रहरी हवल्दार शाहका अनुसार निवेदक कार्कीले पत्र बुझाउँदै गर्दा उनले आफ्नो गाडीभित्र बसेर पत्र च्यातेका थिए।

निवेदक कमला अधिकारी समेतको निवेदनको आधारमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो। पत्रमा १५ दिनभित्र आफै वा कुनै प्रतिनिधिमार्फत लिखित जवाफ दिन भनिएको छ। निवेदकले अन्तरिम आदेशको माग गरेकोले अदालतले आउँदो असोज १ गते गते दुवै पक्षालाई छलफलका बोलाएको छ। सो दिनसम्म निवेदकको जग्गामा कल्भर्ट फोर्ने/भत्काउने काम नगर्नु/नगराउनु भनी दुवै पक्षको छलफल नभएसम्मका लागि अन्तरिम आदेश जारी गरिएको छ।

मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ बमोजिम विपक्षीका नाममा अल्पकालीन आदेश जारी गरिएको आदेशपत्रमा उल्लेख छ।

त्यस्तै अर्का निवेदक शान्ता चौलागाईसमेतको निवदेनमा न्यायाधीश प्रेमराज ढकालको इजलासले सो जग्गामा कुनै पनि काम नगर्नु भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ। सोही इजलासले भदौ ३० गते सोमबारलाई पेशी तोकेको छ। उक्त मितिसम्ममा कित्ता नम्बर ५५४ र १५३५ लगायत जग्गामा असर पर्नेगरी कुनै काम नगर्न भनिएको छ।

यस विषयमा बुझ्न खोज्दा मेयर चौधरीले कुनै प्रतिक्रिया दिन मानेनन्। उता इलाका प्रहरी कार्यलय पकलीका प्रमुख प्रहरी इन्सपेक्टर जिपेश दाहाल पत्र च्याते पनि त्यसपछि काम रोकिएको बताउँछन्।nepallive/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button