नेपालमा अहिले अभियन्ताको उत्पादन यसरी भईरहेको छ कि मानौ चित्रबहादुर के शीले पनि अब संघीयताको हिजो देखि बिरोध गर्दै आएका भएपनि एउटा प्रदेश सम्म चाही संघीयतामा राख्न सकिन्छ जसको नाम अभियन्ता प्रदेश नामाकरण गर्दा हुन्छ भन्ने बेला भएको छ। सामाजिक अभियन्ताका नाममा बजारमा एकाएक देखा परेका अभियन्ता भन्ने हरुका उग्र र अराजक शैलीका बकितम सुन्दा लाग्छ नेपालमा पनि यस्ता हक्कि र ईमान भएका मान्छे रहेछन् , देश र जनताका लागि अझै पनि बोल्ने र केही गर्ने मान्छे अझै त रहेछन् भन्ने तर एकाएक उदायका यी कथित सामाजिक अभियन्तामा मान्छेलाई उग्र र उखरमाउला कुरा गरेर बहकाउने बाहेकको कुनै अर्को कामनै देखिदैन । बिभिन्न भेष र भुषामा अवतरण भएका कथित सामाजिक अभियन्ता भनिने केही सतही ज्ञान भएका अशिष्ट भाषामानै प्रकट भएका यी अभियन्ताहरु सँग नत कुनै विचार छ , न कुनै दर्शन र सिद्धान्तको ज्ञान छ नत यीनको हिजो आफ्नै समाजमा योगदान छ । छ भने यीनीहरुसँग मान्छेलाई बेफकुफ बनाउन , उराल्न , उचाल्न र समाजलाई कित्ताकाट गरेर रिस, राग, ईष्र्या र आपसी भैरभावको बिजारोपण गर्ने बिषाक्त बिउ छर्ने बाहेक कुनै अभिष्टनै छैन ।
अभियन्ता भनेको केहो ? अभियन्ता कसलाई भनिन्छ उसको समाजसँगको सम्बन्ध केहो र कुन विचार र दर्शनबाट उ प्रेरित छ र उसको सामाजिक क्षेत्रमा आफ्नो क्षेत्रबाट गरेको समाजप्रतिको लगानी र सम्बन्ध के हो ? कसैले सोध खोज गरिएको छैन । सामाजिक अभियन्ताको पगरि आफैले गुथेर उग्र र अशिष्ट शैलीका कुरा कथुरेर सामाजिक अभियन्ताका नाममा सल्बलाएकाहरु अराजक प्रवृतिका समाज भाड्ने तत्व बाहेक अरु केही पनि होईनन् । कसैको कमजारी र खराबी पक्षलाई उग्र र अशिष्ट ढङ्गले चर्को स्वरमा कराउँदा सामाजिक अभियन्ता बनिन्छ भन्ने गन्धे सोचका साथ आएका केही पात्र र प्रवृतिले सोच्न पनि पर्छ कि अर्कालाई हिलो छ्यापिरहँदा आफुमा परेको छिटाको याद गर्नु पर्छ र कसैको कमजोरीमा कन्दनी चुडिने गरी चिच्याई रहदा आफुतिर पनि चारवटा औलाले देखाईरहेकाछन् भनेर हेक्का गर्नु पर्छ । एकातिर कुनै कारखानाबाट उत्पादन भए जस्तो गरेर रेडिमेड शैलीमा अशिष्टताको पराकाष्ठमा पुगेर कथित सामाजिक अभियन्ता भनिनेहरु आन्द्रो चुडिने गरि कराउँदा ताली पड्काउनेहरु किन भेला हुदैछन् र ति अभियन्ताहरु किन हौसिदै छन् भनेर कम्युनिष्टको भनिने यो सरकारले ख्याल गरेको जस्तो लाग्दैन ।
आफ्ना आसेपासे र भजनमण्डलीको वरिपरिनै नेपालको उन्नति र समृद्धि देख्ने सरकारले आज किन सामाजिक अभियन्ता भनिने स्वनामधारीहरुको उग्र कुरामा ताली बज्दैछ भनेर हेर्न भ्याएको छैन । मनोज गजुरेलको गाईजात्रे कार्यक्रममा भने जस्तो ‘ सरकारलाई हेप्नी ’ शैलीमा आफ्नो एक सुत्रिय दम्भ मात्र सरकारले देखाएको जस्तो लाग्छ । नेपाली वगीय समाजको मनोविज्ञानको भित्री तहमा चिहाएर र आम जनताको मुलभूत समस्याको पहिचान गरेर काम गर्नु भन्दा सरकार धमाधम मन्त्रिपरिषदका निणर्य सुनाउने र आफ्ना कुरामात्र लाद्ने यत्नमा रहेको देखिन्छ । जनताका असन्तुष्टि उपर सुक्ष्म अध्ययन र विशलेष्ण नगरी सरकारका गलत कार्यको बिरोध गर्नेलाई प्रतिगामीको तक्मा भिराउने यो सरकारको शैलीका कारण पनि आज कथित सामाजिक अभियन्ताहरु सल्बलाउने र चल्मलाउने अवसर भएको कुरा लुकाउनु हुदैन । सरकारका नियमित कार्यहरुत सरकारको दैनिकी नै हुन् तर नेपाली जनताको मुख्य समस्या भनेको छानो मानो र सामाजिक विभेद हो , नेपाली समाजको परम्परागत सोच र चिन्तनलाई त्यस भित्रका उत्तम सभ्यता र संस्कारलाई आत्मसात गरेर मूल समस्याको निराकरण र न्यूनिकरणतर्फ कम्युनिष्ट भनिने सरकारले ध्यान दिएको भए आजका यी कथित सामाजिक अभियन्ता भनिनेहरुले यो अवसर पाउने थिएनन् तर यता पटि यो सरकारले केही सोचेननै भन्नु पर्छ ।
कुनै पनि देशमा जे सुकै तन्त्र आए पनि सतहि एजेण्डा एक हद सम्मको परिवर्तनको पाटो हो तर मूल समस्या भनेको हाम्रो समाजसग जोडिएको मानविय समस्या हो जसलाई कोरा भाषण र मिठासपूर्ण गफगाफले हल हुदैन । र, यसको जडमा पुगेरनै यसको समाधान हुन्छ । गरिबी , उत्पीडन , विभेद , राष्ट्रिय स्वाधिनता , राष्टिय स्वभिमान र आत्मसम्मान जस्ता विषयहरु ओझेलमा पारेर सतहको विकासको बक्तब्यबाजीले देशलाई समृद्ध बनाउँछौँ भन्नु झुटलाई छोप्ने अर्को करतुत हो । आज छिचिमिरा जस्ता देखिएका कथित सामाजिक अभियन्ताहरुले सरकारको कामकारबाही, समाजको अपेक्षा र असन्तुष्टि र उग्रकुराले ताली बज्छ भन्ने कुरा बुझेरनै हल्ला मच्चाउने गरकाछन् यसको असल जवाफ दिन सरकारले के बोलेको छ ? के सरकारको बिरोध गर्नेलाई प्रतिगामी हुन् या प्रतिगमनका गोटी हुन् भनेर धारे हात लाउँदा मात्र हुन्छ कि हामीले हिजो के भनेका थियौँ , हिजो हामी कस्ता थियौँ र आज के गर्दैछौ र कस्ता बन्दैछौँ भनेर निर्मम समिक्षा गर्ने समय आए जस्तो लाग्दैन ?
हिजो सम्म अत्तो पत्तो नभएका सामाजिक अभियन्ताहरुले आज एकाएक आएर गरेका समाज परिवर्तनका कुरामा किन मान्छेहरुले पत्याउन थालेका छन् र उनीहरुको उग्र बोलीमा ताली पड्कन थालेको छ भनेर सरकारले कारण खोत्लन थालेको छ ? यदि छैन भने कारणहरु त पक्कै छन् ति हुन् यो मुख्य समस्या भनेको सरकारप्रतिको जनताको अपेक्षा र समाजको मनोविज्ञानसँग सरकारको कामको मेल नखानु पनि एउटा कारण होला भनेर सरकारले सोच्ने सम्मको काम गरेको छ ? आज यी र यस्ता थुप्रै कारणले गर्दा अराजक शैलीको उडन्ते भाषणले समाजमा एक प्रकारको स्थान पाउँदै छ भनेर सरकारको ध्यान जाओस र समस्याको मूल कारण खोतल्न तर्फ सरकारको मन लागोस ।