काठमाडौं नेपाल जुनियर च्याम्पियन प्रिन्स दाहाल दुबईमा सम्पन्न दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यु–१९ ब्वाइजमा स्वर्णपदक जितेका छन् ।
दुवईस्थित एनएएस स्पोर्टस् कम्प्लेक्समा आइतबार भएको फाइनलमा प्रिन्सले प्रतियोगिताको शीर्ष वरीयताका तथा विश्वको नवौं वरीयताका भारतका वरुण कपुरलाई २–० को सोझो सेटमा पराजित गर्दै स्वर्णपदक हात पारेका हुन् । निकै नै प्रतिस्पर्धात्मक खेलमा प्रिन्सले गतवर्षको विजेता वरुण कपुरमाथि दुवै सेटमा २१–१९ र २१–१९ को जित निकालेका थिए । वरुण विश्व वरीयतामा नवौं स्थानमा रहेका छन् ।
प्रिन्सले सेमिफाइनलमा वसन्त कुमार राजेन्दरनलाई र क्वाटरफाइनलमा रोहन गुर्वानीलाई पराजित गरे । गतवर्ष प्रिन्सले यसै प्रतियोगिताको यु–१५ तर्फको उपाधि जितेको थिए ।
प्रिन्सले मिक्स डबल्समा सानिया चन्दसँग मिलेर रजतपदक हात पारे । यस्तै यु–१९ ब्वाइज डबल्समा नवहान नजिवसँग मिलेर रजतपदक हात पारेका थिए । (हाम्रो खेलकुद) –