काठमाडौं – घरेलु पुरुष भलिबलमा सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा आज उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् ।
खेल नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा दिउँसो १ बजेपछि शुरु हुनेछ । त्यसअघि गण्डकी प्रदेश र नेपाल एपीएफ क्लबबीच तेस्रो स्थानको लागि बिहान ९ बजे खेल हुनेछ । आर्मीले गण्डकी प्रदेशलाई तथा पुलिसले नेपाल एपीएफ क्लबलाई पराजित गर्दै सर्वाधिक धनराशिको भलिबल प्रतियोगिताको फाइनलमा भेट पक्का गरेको हो । दुवै टोली अपराजित रहेर फाइनलसम्मको यात्रा तय गर्न सफल भएको हो ।
आर्मी वर्षको दोस्रो उपाधि जित्ने लक्ष्यमा मैदानमा उत्रनेछ । आठौं र पाथिभरा राष्ट्रिय भलिबलमा पुलिससँग पराजित हुदै उपविजेता बनेको आर्मीले प्रधानसेनापति भलिबलमा पुलिसलाई पराजित गर्दै वर्षको पहिलो उपाधि जितेको थियो । त्यही जितलाई निरन्तरता दिने लक्ष्यमा आर्मी रहनेछ । राष्ट्रिय खेलाडीले भरिपुर्ण आर्मीसँग मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, हरिहजुर थापा, दुर्गा बहादुर खड्का, हरि अधिकारी, इश्वर थापा, राजेन्द्र विष्ट र नरेन्द्र गिरीजस्त खेलाडीको साथ रहेको छ ।
यता पुलिस वर्षको तेस्रो उपाधि जित्ने लक्ष्यमा हुनेछ । आठौं र पाथिभरा राष्ट्रिय भलिबलमा आर्मीलाई पराजित गर्दै वर्षको दुई उपाधि जितिसकेको पुलिस प्रधानसेनापतिको फाइनलमा आर्मीसँग भोगेको हारको बदला लिने लक्ष्यसहित कोर्टमा उत्रनेछ । पुलिससँग पनि राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको छ । कप्तान इमबहादुर राना, कुल बहादुर थापा, दीपकराज जोशी, द्धारिका थापा, विशाल विके, रविन चन्द, भीम गाहा र राजु शेरचन जस्ता चर्चित खेलाडीहरुको साथ रहेको छ । राष्ट्रिय खेलाडीले भरिपुर्ण दुई टोलीबीचको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
गत २४ भदौबाट शुरु भएको प्रतियोगितामा विभिन्न ८ टोलीले सहभािगता जनाएको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको थियो । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाएको थियो ।
प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौंले आयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्ने छन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताका सम्पूर्ण खेलहरु हाम्रो खेलकुद डट कमले प्रत्यक्ष प्रसारण गर्दै आएको छ । (हाम्रो खेलकुद)