काठमाडौं – किर्गिस्तानमा सम्पन्न नादेझ्दा कपमा उपविजेता बन्न सफल नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई दरबारमार्गस्थित किंग्स लाउन्जले सोमबार सम्मान गरेको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूभन्दा माथिल्लो वरीयताका टोलीलाई कडा चुनौती दिंदै नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा राख्न सफल भएको भन्दै लाउन्जले सम्मान गरेको थियो । आगामी दिनमा पनि उच्च मनोबलसहित सफलता हात पार्न लाउन्जका संचालक कुमार गुरुङले बताए । कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह, मुख्य प्रशिक्षक हरि खड्का लगायत अफिसियलहरु पनि उपस्थित रहेका थिए ।
नेपालले फाइनलमा उज्बेकिस्तानसँग ३-२ को हार बेहोर्दै उपविजेता बनेको थियो । समूह चरणमा भने नेपालले किर्गिस्तान र ताजिकिस्तानलाई हराएको थियो । नेपाली टोली हाल दक्षिण एसियाली खेलकुदको तयारीमा व्यस्त छ ।(हाम्रो खेलकुद)