एजेन्सी – डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेलमा इटालियन क्लब नेपोलीसँग स्तब्ध बनेको छ ।
नेपोलीको मैदानमा मंगलबार राति भएको खेलमा लिभरपुल २–० ले स्तब्ध बनेको हो । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा घरेलु टोलीले च्याम्पियनविरुद्ध दुई गोल गर्न सफल भएको थियो ।
घरेलु टोलीका लागि ८२औं मिनेटमा ड्रिएस मेर्टिन्सले पेनाल्टीमा गोल गर्दै खेलमा अग्रता लिएको थियो । एन्ड्रिउ रोबर्टसनले पेनाल्टी बक्समा जोसेे कालेहनलाई फल गरेपछि प्राप्त पेनाल्टीमा मेर्टिन्स चुकेनन् ।
इन्जुरी समयमा थप गरिएको दोस्रो मिनेटमा फर्नान्डो लोरेन्टेले गोल गर्दै लिभरपुललाई २–० ले स्तब्ध पारे ।लोरेन्टे गत सिजनको फाइनलमा टोटेनहमबाट खेल्दै लिभरपुलसँग हार बेहोर्न बाध्य भएका थिए । लिभरपुलले गोलको अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो।
जितसँगै समूह नेपोलीले समूह ‘ईं’ मा महत्त्वपुर्ण ३ अंक जोडेको छ । लिभरपुल अंकविहीन छ । यही समूहको अर्काे खेलमा अस्ट्रियाको साल्जवर्गले बेल्जियन क्लब गेन्कलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको छ ।
साल्जवर्गको जितमा अर्लिङ ब्राउट हल्यान्डले ह्याट्रिक पुरा गरे । हि चान ह्वाङ, डोमिनिक, एन्ड्रियस उलमरले समान १–१ गोल गरे । पराजित जिन्कका जोन लुकुमी र एमविवाना समताले गोल गरे । साल्जवर्ग ३ अंक जोडेर समूहको शीर्षस्थानमा छ । गेन्क पुछारमा छ ।hamrokhelkud