प्रायः कलाकारहरु प्रेम सम्बन्ध बाहिर ल्याउन चाहँदैनन् । यसले करिअरलाई राम्रो नगर्ने बुझाई उनीहरुमा छ । तर, नेपाली फिल्ममा केही यस्ता जोडी छन्, जो खुल्लम खुल्ला प्रेममा रमाइरहेका छन् । यसका एक उदाहरण हुन्, अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी । यी दुईले आफूहरु प्रेममा रहेको कुरा कहिल्यै लुकाएनन् । अहिले उनीहरु फिल्म र भिडियो सँगसँगै गरिरहेका छन् ।
तर, दुईले आफूले गर्ने फिल्ममा एकअर्कालाई सिफारिस गर्ने गरेको चर्चा फिल्मवृतमा छ । विशेषगरि प्रियंकाले आयुष्मानलाई ! तर, उनीहरु यो स्वीकार गर्न तयार छैनन् । सिफारिसको आधारमा नभई एउटै फिल्ममा आफूहरु हुनु मेकरको नै रोजाई रहेको प्रियंका र आयुष्मानको दाबी छ । तर, केही निर्माता प्रेम सम्बन्धमा रहेका सेलिव्रेटी जोडीलाई फिल्म अफर गर्दा एकअर्कालाई सिफारिस गर्ने गरेको गुनासो पोख्ने गरेका छन्
अभिनेता सौगात मल्लले पनि आफूले अभिनय गर्ने फिल्ममा अभिनेत्रीमा प्रेमिका श्रृष्टि श्रेष्ठलाई लिन निर्माता/निर्देशकलाई दबाब दिने गरेको चर्चा छ । उनले श्रृष्टि नभएपछि अनुबन्ध भएको फिल्म समेत छाडेका उदाहरण छन् । फिल्म ‘चपली हाइट ३’ र ‘राम राम’ मा उनले आफ्नो अपोजिटमा प्रेमिका नहुने भएपछि हात झिकेका थिए । तर, आफूले अहिलेसम्म कुनै फिल्ममा अभिनेत्रीमा श्रृष्टिलाई सिफारिस नगरेको उनको दाबी छ ।
फिल्म ‘मासु भात’ र ‘पोइ पर्यो काले’ मा प्रेमिकासँग स्क्रिन साझेदारी गरिसकेका उनी आफूलाई अफर हुने फिल्ममा निर्माता/निर्देशकले नै अभिनेत्रीमा श्रृष्टिलाई लिने इच्छा व्यक्त गर्ने गरेको बताउँछन् । बजारको हल्लालाई खण्डन गर्दै एक भेटमा उनले भने, ‘म कहिल्यै कलाकार छनोटमा फिल्मको टिमलाई इन्टरफेयर गर्दिनँ । म अभिनय गर्ने मान्छे हुँ । फिल्ममा कुन भूमिकामा कस्तो कलाकार चाहिन्छ त्यो निर्देशकले छनोट गर्ने कुरा हो ।’
श्रृष्टिलाई फिल्ममा सिफारिस गर्ने विषयमा उनी अगाडि भन्छन्, ‘हामी प्रेम सम्बन्धमा छौं भन्ने सबैलाई थाहा छ । त्यसैले मलाई फिल्म अफर गर्दा निर्माता र निर्देशकले अभिनेत्रीमा श्रृष्टि राख्दा कस्तो होला भनेर सुझाव माग्नुहुन्छ । मैले हुन्छ भनिदिन्छु । तर, कुनै हालतमा उसलाई राख्नैपर्छ नभए म फिल्म नै गर्दिनँ भनेर कहिल्यै भनेकोे छैन । र, भन्दिनँ पनि ।’ तर, उनी श्रृष्टिसँग फिल्ममा सँगै काम गर्दा खुसी लाग्ने बताउँछन्।
उनले ‘चपली हाइट ३’ र ‘राम राम’ श्रृष्टि नभएकाले नभइ आफ्नो काम व्यस्तताले छाड्नु परेको पनि प्रस्टाए । श्रृष्टिले पनि सौगातको सिफारिसमा आफूले काम पाइरहेको हल्लाको खण्डन गरिन् । प्रेम सम्बन्धमा रहेका कारण आफूहरुलाई एउटै फिल्ममा लिन निर्माता/निर्देशक स्वयंले चाहने उनको भनाई छ । अर्को वर्ष विवाह गर्ने सुरसारमा रहेका सौगात र श्रृष्टि चाँडै मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको फिल्ममा काम गर्दैछन् ।फिल्मीखबर