‘क्यूट गर्ल‘ उपासना सिंंह ठकुरीको दोस्रो फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । उनले गत वर्ष प्रदर्शनमा आएको अहिलेका चल्तीका अभिनेता अनमोल केसीको प्रमुख भूमिका रहेको फिल्म ‘क्याप्टेन’ बाट डेब्यू गरेकी थिइन् । यो फिल्ममा उनको स्वभाविक अभिनय र सुन्दरताको निकै प्रशंसा भएको थियो । उनलाई सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेरिएको छ ।
करिअरको सुरुवातमा नै अनमोलसँग स्क्रिन साझेदारी र चर्चित सिरिजमा काम गर्न पाउँदा आफूले गर्व महशुस गरेको उपासना बताउँछिन् । सोमबार राजधानीमा पत्रकारसँग कुराकानी गर्दै उनले ‘कबड्डी कबड्डी कबड्डी’ बाट आफूलाई अफर आउँदा विश्वास नै नलागेको बताइन् । उनी भन्छिन्, ‘मैले नसोचेको कुरा पाएँ । कहिल्यै ‘कबड्डी’ को सिरिजमा काम गर्न पाउँछु भन्ने सोचेकी थिइनँ । त्यसमा म आफूलाई भाग्यमानी ठान्छु।’
यो फिल्म गर्दा आफूलाई निकै चुनौती महशुस भएको उनको भनाई छ । ‘‘कबड्डी कबड्डी कबड्डी’ माथि दर्शकको निकै ठूलो अपेक्षा छ । त्यसमाथि नाम चलेका कलाकारहरुको अभिनय भएका कारण मेरो कारणले नराम्रो नहोस् भन्नेमा निकै सतर्क थिएँ । यद्यपि, आफ्नो तर्फबाट राम्रो काम गर्ने प्रयास गरेको छु । दर्शकलाई फिल्म मनपर्नेमा विश्वस्त छु’’, उनी सुनिइन् । यसमा उनी अभिनेता दयाहाङ राईको सोल्टिनीको भूमिकामा छिन् ।
उपासना आफूलाई अभिनेता सौगात मल्लको ठूलो फ्यान बताउँछिन् । उनले ‘कबड्डी कबड्डी कबड्डी’ गर्दैगर्दा निर्देशक रामबाबु गुरुङलाई फिल्ममा सौगात मल्ल हुने वा नहुने पनि सोधेकी थिइन् । निर्देशक गुरुङले नहुने बताएपछि उनी केही निराश भएकी थिइन् । ‘म सौगात दाईको सबैभन्दा ठूलो फ्यान हुँ’, उनी भन्छिन्, ‘‘यो फिल्ममा उहाँसँग काम गर्न पाउँछु भन्ने लागेको थियो । तर, उहाँ नहुने भन्ने थाहा पाएपछि केही निराश भएकी थिएँ ।’
‘क्याप्टेन’ मा अभिनेता अनमोल केसी र ‘‘कबड्डी कबड्डी कबड्डी’ मा अभिनेता दयाहाङ राई दुबैसँग काम गर्न आफूलाई सजिलो भएको उनको भनाई छ । ‘‘काम गर्न को सजिलो ?’ भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘पहिलो फिल्म भएकाले अनमोलले मलाई धेरै कुरा सिकायो । ऊसँग काम गर्न निकै सहज भयो । दयाहाङ (राई) दाईले चाहिँ गार्जेनको हिसाबले मलाई सबै कुरा सिकाउनुभयो । विजय (बराल) दाईले पनि धेरै कुरा सिकाउनुभयो ।’
यो फिल्ममा उपासनासँगै दयाहाङ राई, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा वाचन गर्ने फिल्मको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । यो फिल्मले अग्रिम बुकिङ मा मल्टीप्लेक्समा सर्वाधिक सोज पाएको छ ।फिल्मीखबर