
मुक्ति पौडेल
झापा / बढ्दो बाल विवाह महिलामा अनेकौं स्वास्थ्य जटिलता आउने मुख्य कारण बनिरहेको छ । कलिलै उमेरमा हुने बिहेबारीले खासगरी गर्भावस्थामा जटिल स्वास्थ्य समस्या निम्त्याएको पाइएको छ ।
कलिलैमा बिहे गरेपछि चाँडै यौन जीवनमा प्रवेश गर्ने, चाँडै गर्भवती हुने र आमा बन्ने दर बढेको छ । चिकित्सकहरुका अनुसार यही चलनले स्वास्थ्य जटिलता धेरै आइरहेको छ । ‘कम उमेरमा महिलाका अंगहरु राम्ररी विकसित भइसकेका हुँदैनन्’, मोरङ सहकारी अस्पताल विराटनगरका स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साह भन्छन् ‘यसले गर्दा गर्भावस्था र प्रसवमा धेरै समस्या आएको देखिएको छ । मोरङ जिल्लामा यो समस्या बढी देखिएको छ ।’
डा. साहको अनुभवलाई सरकारी तथ्यांकले पनि सही सावित गर्छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखाका अनुसार शैक्षिक र आर्थिक रुपले सम्पन्नहरुकै बसोबास रहेको मोरङमै बालविवाहको दर धेरै छ । मन्त्रालयकी सुनिता सुवेदीका अनुसार सन् २०१६ मा मोरङमा भएका कूल विवाहमध्ये ३३ प्रतिशत बालविवाह थियो । सरकारले ‘बिहेबारी २० वर्ष पारी ’ भनेर धेरै अभियान चलाए पनि उमेरै नपुगी बिहे गर्ने, कलिलैमा बिहे गर्दा सम्बन्ध टिकाउ नहुने , हुँदा पनि महिलामा स्वास्थ्य जटिलता आउने समस्या धेरै भेटिएको छ ।
विश्व स्वास्थ्य संघले प्रकाशन गरेको सन् २०१४ को तथ्याङ्क अनुसार एक करोड ६० लाख किशोरीहरु (१५ देखि १९ बर्षका) बर्सेनि गर्भवती हुने गरेका छन् र १० लाख किशोरीहरु १५ बर्षमा नै आमा बन्ने गरेका छन् । यी गर्भवतीहरुमध्ये ९५ प्रतिशत कम तथा मध्यम आय भएका मुलुकहरुका छन् । सोही तथ्याङ्क अनुसार १५ देखि १९ बर्षका किशोरीहरुका मृत्युको दोस्रो प्रमुख कारण गर्भको जटिलता र प्रसव नैे रहने गरेको छ । करिब ३० लाख किशोरीहरु असुरक्षित गर्भपतन गराउने तथ्य पनि सो प्रतिवेदनमा उल्लेख छ ।
‘गर्भावस्था आफैमा एउटा जटिल अनि बिशेष अवस्था हो । यस अवस्थामा एकातिर आमा बन्ने खुशी जोडिएको हुन्छ भने अर्कातिर महिलाको स्वास्थ्यमा गम्भीर र ज्यान जाने खतरा समेत रहन्छ’, दशकभन्दा लामो समयदेखि महिला स्वास्थ्यका क्षेत्रमा सक्रिय रहेका चिकित्सक साह थप्छन् ‘ किशोरावस्थामा गर्भवती भएमा स्वाभाविक रुपमा गर्भका जटिलताहरु बढी आउँछन् ।’ डा. साहका अनुसार २० बर्षभन्दा कम उमेरमा बच्चा जन्माउँदा एकातिर मातृमृत्यु दर बढी हुन्छ भने अर्कातिर बच्चाको तौल कम हुने तथा मृत्युदर धेरै गुणाले बढी हुने गरेको छ । कम उमेरमा गर्भवती हुँदा रक्तअल्पता हुने, बच्चाको तौल कम हुने, गर्भको अवधि नपुग्दै (३७ हप्ता भन्दा अगाडि) बच्चा जन्मिने तथा गर्भवतीको रक्तचाप बढ्ने र त्यस सम्बन्धि जटिलताहरु थपिने सम्भावना हुने उनको भनाइ छ । गर्भको जटिलताले आमाको स्वास्थ्यमा मात्र होइन गर्भको बच्चामा पनि प्रतिकुल असर गर्ने बताउँदै डा. साहले भने ‘ यस्ता बच्चाहरु कम तौलका हुने, राम्रो शारिरिक विकास नहुने तथा कन्जेनाईटल डिफेक्ट (जन्मपुर्व नै खराबी) हुने सम्भावना बढी हुन्छ ।’
प्रदशे १ का १४ वटै जिल्लाहरुमध्ये हरेक जिल्लामा बालविवाहको समस्या छ । मोरङ, संखुवासभा, ताप्लेजुङ, झापा जस्ता जिल्लामा उमेरै नपुगी बिहे हुने क्रम धेरै रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांकले देखाउँछ । उमेर नपुगी हुने विवाहका अधिकांश घटनामा प्रेम सम्बन्ध मुख्य कारण देखिन्छ । यसबाहेक तराईमा दहेजको समस्या, गरिबीले पनि काम गरेको देखिन्छ ।
प्रविधिको विकास, बढ्दो शैक्षिक चेतना र बढ्दो खुलापनले कलिलै उमेरमा प्रेम सम्बन्ध स्थापित हुने र त्यही सम्बन्धले उमेरै नपुगी विवाहको रुप लिने गरेको समाजशास्त्रका अध्येताहरु बताउँछन् । ‘किशोरकिशोरीहरुको प्रेम सम्बन्धलाई अभिभावकले सकारात्मक रुपमा ग्रहण नगरिदिँदा पनि कलिलैमा भागेर बिहे गर्ने चलन बढेको छ’ समाजशास्त्रका विद्यार्थी चेतराज कट्टेल भन्छन् ‘यदि अभिभावकले छोराछोरीको प्रेम सम्बन्धलाई सहज रुपमा लिने मात्रै हो भने पनि कलिलैमा बिहे गर्ने क्रम घट्छ ।’ उनका अनुसार कलिलैको बिहेले स्वास्थ्यका अलावा सामाजिक र मानसिक समस्याहरु पनि धेरै निम्त्याइरहेको छ । ‘यो क्रम घटाउन र समस्या बढ्न नदिन सामुहिक प्रयासको खाँचो छ’, उनले भने ‘सरकारको मात्रै मुख ताकेर समाधान सम्भव छैन ।’ janasamsadonline