स्वास्थ्य

कृत्रिम स्तनले निम्तेला क्यान्सर

विश्वभर ५ सय ७३ जनालाई क्यान्सर
डिनाइज ग्रेडी

अमेरिकी खाद्य तथा औषधि प्रशासन (फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन)ले आइरिस फर्मास्युटिकल कम्पनी एलगर्नले उत्पादन गरेका कृत्रिम स्तन राख्न प्रयोग गरिने उपकरणको सम्बन्ध दुर्लभ क्यान्सरसँग जोडिएको भन्दै ती उपकरण बजारबाट फिर्ता लिने निर्णय गरेको छ। विस्तारै विश्वबजारबाट एलर्गनका यी उपकरण फिर्ता लिइने समाचार गत बुधबार प्रकाशनमा आएका छन्।

स्तन प्रत्यारोपणबाट क्यान्सर हुने र यसबाट मृत्युसमेत हुने गरेको भए पनि एफडिएले ढिलो गरी मात्र एलर्गनका उपकरण प्रयोग गर्न रोक लगाएको हो। यसअघि गत वर्षको अन्त्यतिरै युरोपेली राष्ट्रले एलर्गनका उपकरण प्रयोग गर्न बन्देज लगाउने निर्णय कार्यान्वयनमा ल्याइसकेका थिए।

स्तन प्रत्यारोपणकै कारण विश्वभरमा नै ५ सय ७३ जनालाई क्यान्सर लागेको एफडिएले बताएको छ। यसमध्ये ३३ जनाको मृत्युसमेत भइसकेको छ। आश्चर्यको कुरा त के छ भने, कृत्रिम स्तन राख्ने उपकरण (टेक्चर्ड इम्प्लान्ट)बाट क्यान्सर लागेकामध्ये ४ सय ८१ जना एलर्गन बायोसेल इम्पान्टसँग जोडिएको प्रष्ट भइसकेको एफडिएको प्रतिवेदनले उल्लेख गरको छ। मृत्यु भएका ३३ घटनामध्ये पनि १३ घटना प्रत्यारोपण उपकरणकै कारण भएको उक्त एजेन्सीको तथ्यांक छ। यी १३ मध्ये १२ केसमा एलर्गनकै उपकरण प्रयोग गरिएको थियो।

‘मृत्युका घटनाको यो तथ्यांक एलर्गनका उपकरण प्रतिबन्ध लगाउने निर्णय लिन हामीलाई निकै जानकारीमूलक भयो,’ एफडिएका सेन्टर फर डिभाइस एन्ड रेडियोलोजी हेल्थ निर्देशक डा जेफ्री सुरेनले भने।

यस्ता उपकरणबाट लाग्ने रोग भनेको ‘एनाप्लास्टिक लार्ज सेल लिम्फोमा’ हो। यो रोग प्रतिरोधात्मक प्रणालीमा हुने विरलै देखिने एक प्रकारको क्यान्सर हो। यो स्तन क्यान्सर होइन, तर प्रत्यारोपण गरिएको अंगको वरिपरि हुने तन्तुमा विकास हुनेगर्छ। यो रोग लागेपछि धेरैजसो अवस्थामा चाँहि प्रत्यारोपण गरिएको अंगका साथै त्यसका खत वरपरका तन्तु निकालेर उपचार गरिन्छ। तर सुरुवाती अवस्थामा नै उपचार हुन सकेन भने शरीरका अन्य भागमा पनि फैलन सक्छ र बिरामीको मृत्यु हुने पनि सम्भावना हुन्छ।

स्तनको आकार ठूलो बनाउन कस्मेटिक सर्जरी गरी स्तन प्रत्यारोपण गर्दा यो रोगको संक्रमण बढेको पाइएको छ। यसका साथै स्तन क्यान्सर भएर प्राकृतिक स्तन नै फाल्नु परेका महिलामा प्रत्यारोपण गर्दा यसको जोखिम बढेको छ। एफडिएले सन् २०११ मा स्तन प्रत्यारोपण र क्यान्सरबीच सम्बन्ध रहेको पहिचान गरेको थियो।

बर्सेनी लाखौं महिलाको स्तन प्रत्यारोपण गरिन्छ। त्यसमा लिम्फोमा क्यान्सरको संक्रमण हुने दर कमै देखिन्छ। अमेरिकन सोसाइटी अफ प्लास्टिक सर्जनको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा स्तन ठूलो बनाउन गरिने उपचार सबैभन्दा बढी प्रचलित प्लास्टिक सर्जरी हो। सन् २०१७ मा मात्र अमेरिकामा ३ लाखभन्दा बढीले स्तन ठूलो बनाउन प्लास्टिक सर्जरी गरेका थिए। यो सन् २०१६ का तुलनामा ३ प्रतिशत बढी हो। यसैगरी सोही वर्ष अमेरिकामा मात्र स्तन क्यान्सर लागेपछि प्राकृतिक स्तन फालेका करिब १ लाख महिलाले मात्र स्तन प्रत्यारोपण गराएका थिए।

लिम्फोमा क्यान्सर लाग्ने दर कमै देखिएको भए पनि सुरक्षाका सम्बन्धमा सचेत रहन एफडिएले आग्रह गरेको छ। ‘जुनसुकै किसिमको पनि स्तन प्रत्यारोपण गर्ने धारणा बनाइरहेका आम मानिसलाई यस्तो क्यान्सर वा अन्य कुनै पनि संक्रमण हुनसक्ने जोखिमका सम्बन्धमा सचेत रहन आग्रह गरिन्छ,’ एफडिएले भनेको छ।

अमेरिकामा बिक्री हुने स्तन प्रत्यारोपण उपकरणमध्ये अन्य कम्पनीका तुलनामा एलर्गनका बायोसेल प्रत्यारोपण उपकरणमा ६ गुणा बढी जोखिम हुने समाचार एजेन्सीले उल्लेख गरेको छ। अमेरिकामा मात्र लाखौं महिलाले बायोसेल प्रत्यारोपण गराएको एफडिएअन्तर्गत अफिस अफ सर्जिकल एन्ड इन्फेक्सन कन्ट्रोल डिभाइसकी निर्देशक डा बिनिता असरले बताइन्। एलर्गनका उपकरण फिर्ता लिने सम्बन्धमा गरेको जानकारीका क्रममा उनले यस्तो बताएकी हुन्।

प्रत्यारोपण गरेको अंग वरपर सुन्निने र तरल पदार्थ जम्मा हुने लिम्फोमा क्यान्सरका मुख्य लक्षण हुन्। यस्ता लक्षण देखिएमा त्यसरी जम्मा भएको तरल पदार्थ बाहिर निकालेर क्यान्सरको परीक्षण गर्नुपर्ने हुन्छ।

स्तन ठूलो बनाउन एलर्गनका उपकरण प्रत्यारोपण गराइसकेका तर यी कुनै पनि लक्षण देखानपरेका महिलाले भने ती उपकरण निकालिहाल्नु नपर्ने एफडिएले स्पष्ट पारेको छ। बन्देज लगाउनु भनेको अब उप्रान्त कुनै पनि चिकित्सक वा अस्पतालले स्तन प्रत्यारोपण गर्दा एलर्गनका उपकरण प्रयोग नगर्नु हो। यसका उपकरण खरिद गरेर पनि प्रयोग हुन बाँकी छन् भने ती चाँहि तत्कालै एलर्गनलाई नै फिर्ता गर्नू भन्न खोजिएको एफडिएको भनाइ छ। एलर्गन स्तन प्रत्यारोपण उपकरण निर्माण गर्ने विश्वकै ठूला कम्पनीमध्ये एक हो।

लिम्फोमा क्यान्सरका विषयमा अध्ययन गरिरहेका अमेरिकाको हस्टनस्थित एमडी एन्डरसन क्यान्सर सेन्टरका प्लास्टिक सर्जन डा मार्क क्लिमेन्सले एलर्गनका विषयमा एफडिएले गरेको निर्णयमा आफ्नो समर्थन रहेको बताए। ‘उनीहरुले यस्तो निर्णय लिनका लागि चाहिने सबै तथ्यांक र सूचना दिने सक्दो प्रयास हामीले गरेका थियौं,’ उनले भने।

गत मार्च महिनामा स्तन प्रत्यारोपणका विषयमा उक्त निकायले २ दिनसम्म गहन छलफल गरेको थियो। सो छलफल स्तन प्रत्यारोपण गरेपछि लिम्फोमा क्यान्सर भएका र सहनै नसक्ने गरी दुखाइ र थकान हुने महिलाका विषयमा केन्द्रित थियो। यी महिलाका समस्यामा ध्यानाकर्षण गर्दै सो छलफल गरिएको एफडिएले उल्लेख गरेको छ। लिम्फोमा क्यान्सर भएका पीडितले स्तन प्रत्यारोपणमा नै बन्देज लगाउन माग गरेका थिए।

तर, गत मे महिनामा प्रत्यारोपण नै गर्न बन्देज लगाउन भने नसकिने निर्णय एफडिएले गरेको थियो। लिम्फोमाको जोखिम कम भएको र सबैखाले स्तन प्रत्यारोपणमा बन्देज लगाउने अवस्था तथ्यांकले पुष्टि नगर्ने उसको भनाइ थियो। तर यस्ता केसको संख्या बढ्दै गएको र मृत्युका घटनासमेत बढेकाले यस्तो निर्णय लिएको एफडिएले भनेको छ।

रेलिन होलराहले सन् २०१३ मा प्रत्यारोपणसम्बन्धी क्यान्सर लिम्फोमाको उपचार गराएकी थिइन्। उनले यस्ता रोगीको उपचारको वकालतसमेत गर्दै आएकी थिइन्। ‘वास्तवमा यो हाम्रा लागि विजय हो,’ उनले भनिन्, ‘हामीले लामो समयदेखि यसको वकालती पनि गर्दै आएका थियौं। यो गर्नैपर्ने काम थियो। तर यति कामले पनि लामो समय लगाउँदा भने निराशासमेत पैदा भएको थियो।’

गत मार्च महिनामा भएको बैठकमा होलराहले प्रमाण उपलब्ध गराएर सहयोगसमेत गरेकी थिइन्। ‘तैपनि हाम्रो सबै काम पूरा भएको छैन,’ उनले भनिन्। लिम्फोमा भएका बिरामीले दिनदिनै सहयोग खोजिरहेको उनी र उनका सहयोगीले सुनेका थिए। तीमध्ये केही महिलाले प्रत्यारोपण गरेका भए पनि निकाल्नुपर्ने अवस्था थिएन। बिरामीमध्ये धेरैजसोको समस्या निदान भएकै थिएन, या त रोगका लक्षणलाई संवेदनशील रूपमा लिने चिकित्सक नै नपाएको बताएका थिए।

एफडिएले बजारबाट फिर्ता लिन निर्देशन दिएका उपकरणको सूचीमा नाट्रेली सलाइन फिल्ड, नाट्रेली सिलिकन फिल्ड, नाट्रेली इन्स्पिरा सिलिकन फिल्ड र आफैं आकार निर्धारण गर्ने नाट्रेली ४१० सिलकन फिल्ड लगायतका बायोसेल प्रोडक्ट थिए। एफडिएको यो निर्णय स्तन ठूलो बनाउन वा कसिलो बनाउनका लागि प्रयोग गरिने शरीरका तन्तु विस्तार गर्ने उपकरण तथा औषधिमा समेत आकर्षित हुन्थ्यो। यो वर्गमा विशेषगरी नाट्रेली १३३ प्लस र नाट्रेली १३३ लगायतका उपकरण पर्दथे। यसका साथै सटर ट्याबमा पनि लागू हुने बताइएको छ।

एलर्गनका विषयमा एफडिएले यस्तो निर्णय लिएपछि उसको सेयर मूल्यमा समेत कमी आएको छ। एफडिएले निर्णय गरेकै दिन दिउँसो एलर्गनको सेयर मूल्यमा करिब शून्य दशमलव ३ प्रतिशतले कमी आएको थियो।

एफडिएका अधिकारीले लिम्फोमा क्यान्सर हुनसक्ने अन्य प्रत्यारोपणमा पनि नियमन जारी राख्ने बताएका छन्। यसका साथै आवश्यक परेका खण्डमा आवश्यक कदम चाल्नेसमेत उनीहरुको भनाइ छ। स्तन प्रत्यारोपणको लेबलिङमा आएको परिवर्तनबारे पनि उनीहरुले अध्ययन गरिरहेको बताएका छन्। जोखिमतर्फ ध्यान जाओस् भनेर ब्ल्याक बक्स जडान गर्ने र सर्जरी गर्दा चिकित्सक र बिरामीलाई सचेत बनाउने जस्ता काम उनीहरुले गर्दै आएको जानकारी दिइएको छ। यसले गर्दा प्रत्यारोपण गराउने महिलाले प्रत्यारोपण उपकरणका फाइदा र बेफाइदा दुवै जानून् भन्ने अभिप्राय रहेको उनीहरुको भनाइ छ।

स्तन प्रत्यारोपणमा प्रयोग गरिने सिलिकन वा सलाइन जुनुसुकै प्रकृतिका ‘कन्टेन्ट’ (सामग्री) भए पनि लिम्फोमा क्यान्सरको कारक मानिँदैन। प्रत्यारोपण गरिएको अंगको बाहिरी भागमा प्रयोग गरिने कन्टेन्ट नै मुख्य कारक हो। टेक्चर्ड इम्प्लान्टमा केही खस्रो सतह हुन्छ, यसले शरीरका तन्तु जोड्न मद्दत गर्ने हुनाले उपकरणलाई चाँडो जडान गर्न मद्दत गर्छ। तर यसैका कारण लिम्फोमा क्यान्सर हुनसक्ने संकेत मिलेको छ।

टेक्चर्ड इम्प्लान्टले किन र कसरी क्यान्सर गराउँछ भन्ने कुरा चाँहि पत्ता लागेको छैन। कतिपय बिरामीमा मृत कोषमा उत्पन्न हुने विकारका कारण विस्तारै क्यान्सर नै हुनसक्ने देखिएको प्लास्टिक सर्जन क्लिमेनले बताएका छन्।

धेरै कम्पनीले टेक्चर्ड इम्पान्ट गर्ने उपकरण बनाउने भए पनि एलर्गनका उपकरण प्रयोग गरेका थुप्रै महिलामा यस्तो क्यान्सर भएको बढी पाइएको छ। अमेरिकामा ५ प्रतिशले मात्र एलर्गनको टेक्चर्ड इम्प्लान्ट गर्ने गरेका छन्। तर युरोपमा त अधिकांशले यही इम्प्लान्ट गर्ने पाइएको छ। यसैकारण पनि युरोपका धेरै मुलुकले यस्तो एलर्गनको टेक्चर्ड इम्लान्टमा बन्देज लगाइसकेका छन्। विश्वका ३८ राष्ट्रले टेक्चर्ड इम्प्लान्टमा प्रतिबन्ध लगाएको प्लास्टिक सर्जन क्लिमेन्सले बताए।
केही दिनअघि मात्र एलर्गनले टेक्चर्ड इम्पान्ट उपकरणको बिक्री–वितरणमा विश्वभर रोक लगाएको बताएको छ।

‘स्तन फालेर होस् वा स्तन ठूलो बनाउन प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेका महिलाले लिम्फोमा क्यान्सर हुने जोखिमको मुखमा आफ्नो जीवन राख्नु हुँदैन,’ नेसनल सेन्टर फर हेल्थ रिसर्चकी प्रत्यारोपणसम्बन्धी जानकार डियाना जुकरम्यानले भनिन्। उपकरणमा फिर्ता गराउने एफडिएको निर्णयले जोखिम कम गरेको तर निर्मूल गर्ने उपाय यही मात्र चाँहि नभएको उनले बताइन्। अन्य प्रकृतिका प्रत्यारोपणमा पनि लिम्फोमा देखिएको उनको भनाइ छ।swsthyakhabarpatrika/from

– भावानुवादः तीर्थराज निरौला

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button