
एजेन्सी – मिलान डर्वीमा एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ मा शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा इन्टर मिलानले एसी मिलानलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो ।
इन्टरको मार्सेलो ब्रोजोभिक र रोमेलु लुकाकुले गोल गरे । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि इन्टरले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको थियो ।
४९औं मिनेटमा ब्रोजोभिकले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । उनले स्टेफानो सेन्सीको पासमा गोल गरेका थिए । ७८औं मिनेटमा रोमेलु लुकाकुले निकोलो बरेलाको पासमा गोल गर्दै इन्टर मिलानलाई २–० को जित दिलाए ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा कम मौका पाएपछि यसै सिजन इन्टर पुगेका रोमेलु लुकाकुले आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिएका छन् ।