एजेन्सी – साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फारकिलो जित निकालेको छ । घरेलु टोली बायर्नले १० खेलाडीमा समेटिएको कोलोग्नमाथि ४–० को फराकिलो जित निकालेको हो ।
बायर्नको फराकिलो जितमा फरवार्ड रोवर्ट लेवान्डोस्कीले दुई तथा फिलिपे कौटिन्हो र इभान पेरिसिसले समान एक गोल गरे । एलिनाज एरिनामा खेलको तेस्रो मिनेटमा नै रोवर्ट लोवान्डोस्कीले जोसुवा किम्मिचको पासमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–० ले अघि बढाए।
दोस्रो हाफमा बायर्नले ३ गोल गर्न सफल भयो । ४८औं मिनेटमा रोवर्टले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई सहज जिततर्फ अग्रसर गारए ।
५९औं मिनेटमा कोलोग्नीका किङ्सले इजिवु सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि बायर्नले त्यसको प्रत्यक्ष फाइदा उठायो ।
६२औं मिनेटमा फिलिपे कौटिन्होले गोल गरेपछि बायर्नले खेलमा ३–० को अग्रता लियो । कौटिन्होको बुन्डेस लिगामा पहिलो गोल हो । ७३औं मिनेटमा कौटिन्होको पासमा इभान पेरिसिसले गोल गर्दै बायर्नलाई ४–० को फराकिलो जित दिलाए ।
जितसँगै बायर्न ५ खेलबाट ११ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित कोलोग्न ३ अंक जोडेर १६औं स्थानमा छ ।
यता, वेर्डर ब्रेमेनमाथि ३–० को सहज जित निकाल्दै आरबी लाइप्जिग बुन्डेस लिगाको शीर्षस्थानमा उक्लिएको छ । लाइप्जिग खेलको ६४औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।