कृषि र किसान

शिक्षणबाट अवकाशपश्चात् व्यावसायिक कृषिमा जम्दै खरेल

बागलुङ। गलकोट नगरपालिका–९ छिसमा स्थानीय मित्रलाल खरेलले व्यावसायिक रुपमा कागती खेती सुरु गरेका छन्। परीक्षणका लागि ३ वर्ष पहिले लगाइएका एक सय कागतीका बिरुवाले राम्रो फल दिन थालेपछि अहिले व्यावसायिक रुपमै कागतीखेती थालिएको ४९ वर्षीय किसान खरेलले बताए।

गत वर्ष ४ सय कागतीका बिरुवा रोपेर व्यावसायिक रुपमै कागती खेती थालेको उनको भनाइ छ। २ दशकअघि स्थानीय सरस्वती आधारभूत विद्यालयमा अध्यापन पेसामा आबद्ध खरेल अवकाशपश्चात् व्यावसायिक कृषि पेसामा सक्रिय छन्।

कागती भारतबाट गाउँमै आयात हुन थालेपछि यसलाई रोक्नका लागि व्यावसायिक कागती खेती गर्ने चाहना भित्रैदेखि जागृत भएको खरेलले बताए। गाउँमै कागतीखेती सम्भव छ भन्ने लागेर परीक्षण गरेँ, त्यो सफल भएपछि यहीँ व्यावसायिक उत्पादन गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेको छु, खरेलले भने।

मेहनत थोरै गरेर पनि आम्दानी धेरै गर्न सकिने भएकाले कागती खेतीको यस क्षेत्रमा राम्रो सम्भाव्यता देखिएको छ। कागतीको राम्रो सम्भावना देखेर तीन रोपनी बारीमा व्यावसायीक रुपमा कागती खेती थालेको छु, उनले भने, बर्सेनि कागतीका बिरुवा थप्दै जाने योजनामा छु।

खरेलले गलकोट कृषि तथा पशुपक्षी उत्पादन तथा बिक्री केन्द्र नामको फार्म स्थापना गरी कृषि पेसा थालेका हुन्। अहिले उनले व्यावसायिक तरुल खेती, जर्सी गाई तथा भैंसीपालन गर्दै आएका छन्। नगरपालिकामा व्यावसायिक रुपमा कागती खेतीको राम्रो सम्भावना भएकाले नगरले कागतीको बिरुवामा अनुदानको कार्यक्रम समावेश गर्दै आएको गलकोट नगरपालिका–९ का वडाध्यक्ष तेजबहादुर थापाले बताए।

समुद्री सतहबाट एक हजार ३ सय मिटरसम्म कागती खेतीको राम्रो सम्भावना भएका कारण नगरपालिकाले गतवर्ष ६ हजार कागतीका बिरुवा अनुदानमा वितरण गरेको नगरपालिकाका कृषि तथा पशु प्राविधिक चिन्तामणि शर्मा गैरेले जानकारी दिए।

गलकोटमा मात्रै अहिले ५ जनाले व्यावसायिक रुपमा कागती खेती सुरु गर्न लागेको नगरपालिकाले जनाएको छ। गलकोट रिघाका दानबहादुर श्रीशले आफ्नो बारीमा अहिले ५ सय कागतीका बिरुवा लगाएका छन्। कागती स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ भने भिटामिन ‘सी’का लागि यसको प्रयोग गर्ने गरिएको छ। कागतीको चुक अमिलो उत्पादन, अमिलो अचार लगायत विभिन्न परिकार बनाउनका लागि कागतीको माग उच्च छ।krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button