खबर

अन्यौलमा भुटानी शरणार्थी

झापा । झापाको बेलडाँगी भुटानी शिविरमा हर्कजंग सुब्बा २७ बर्षदेखिका साक्षी हुन् । अनेकौ कष्ट भोेगे, भोकभोकै कति रात पनि बिताए । उमेरले ७० नाघिसके । घरमा २ जना छन, श्रीमान् श्रीमती । छोरा, छोरी,नाति नातिना अमेरिकातिर छन् । उनी रोगी छन्, छोराले कहिलेकाहीँ उपचारका लागि अमेरिकाबाटै रकम पठाउँछन्, तर उनलाई उताको मोह नै छैन । एकाघरका ८० जना उतै पुगे, उनी भने भुटान फर्कन बसेका छन् । तर भुटान फर्कने कहिले टुंगो छैन् ।

उनले भुटान स्वतन्त्र जनमञ्च बनाएका छन् । त्यसमा उनी जस्तै भुटान फर्कन चहानेहरु छन् । ‘अब मैले अमेरिका गए भने त आफनो घर फर्कने कहिले ?’ उनी सोच्छन्, ‘परिवारका सदस्य अन्यत्र गए तर म त भुटानै जान्छु ।’ तर उनले चाहनासाथ भुटान फर्कन त्यति सहज भने छैन । भुटानबाट लखेटिएका अब ७ हजार हाराहारी भुटानी शरणार्थी अहिले शिविरमा बस्छन् । तिनले अहिले राशनको सटटामा नगद पाउन थालेका छन् । ‘अब स्वदेश फर्कन चाहने मात्रै शरणार्थीहरु शिविरमा छन्,’ सुब्बाले भने, ‘अरु त भविष्य बनाउनका लागि तेस्रो मुलुक पुर्नबास भए ।’

‘शरणार्थी शिविरबाट १ लाख जना मात्रै अमेरिका पुर्नबास भएर गएका छन् । तीनले दुई दशकसम्म शिविरको कष्टकर जिन्दगी ब्यतित गरे,’ भुटानी शरणार्थी शिविर बेलाडागीँका पूर्व सचिव डिबी सुब्बाले भने, ‘कति सपना साकार पार्न गए, कति जिविकाका लागि पनि गए । गएका मध्ये अधिकाशं भने नेपालमा जन्मिएका छन् ।’ तर सुब्बा जस्तै शिविरमा बस्नेको भविष्य अब के भनेर कसैले जवाफ दिन सकेका छैनन् । ‘नेपालमा राख्ने कुरामा हामी सहमत हुन सक्दैनौ, किनभने नेपालले हामीलाई आश्रय दियो,’ सुब्बाले भने, ‘तर अब हामी हाम्रो देश भुटानै फर्कन चाहान्छौ ।’ त्यसका लागि नेपाल, भारत र भुटान विचको त्रिपक्षिय बार्ता आवश्यक रहेको उनको बुझाइ छ ।

शिविरमा अहिले बृद्धबृद्धा र भुटानै जान चाहाने मात्रै छन् । तेस्रो मुलुक पुर्नबासका सबै कार्यक्रम सकिएका छन् । ‘अब शरणार्थीको समस्या समाधानका लागि सबैले सोच्ने बेला आएको छ’, पूर्व सचिव सुब्बाले भने, ‘अब बाँकी रहेका शरणार्थीलाई स्वदेश फर्कन नै दिइनु पर्छ ।’ शिविरमा रहेका अधिकाशं ज्येष्ठ नागरिकको माग पनि उही छ ।

भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिका संयोजक सन्तविर घले पनि स्वदेश फर्कनै भनेर अड्डी कसेर बसेका छन् । ‘अमेरिका जाने भनेर परिवारका सबै जसो गए, तर म त भुटानमै मर्ने हो भनेर गइन्, उनले भने, अब त भुटान नपुगि यतै मरिन्छ जस्तो छ ’, उनले भुटान फर्कन पाउने आशामा हरेक पटक प्रधानमन्त्री, भारतीय प्रधानमन्त्रीलाई चिठी लेखे । तर उनको चिठीको खासै प्रतिक्रिया पाएनन् । नेपालमै सार्क सम्मेलन हँुदा पनि उनको दौडधुप भयो । तर आशा अनुसार उनीहरुको माग नै उठेन । ‘भुटानीको एउटा मात्रै माग छ, त्यो हो स्वदेश फिर्ती,’ उनले भने, ‘अब स्थानीय तहमा समायोजन गर्ने बिकल्प मान्य हुन सक्दैन ।’ अहिले शरणार्थीलाई अहिले बसेकै ठाउँमा समयोजन गर्ने हो कि भन्ने पीरले झनै सताएकोे छ ।janasamsadonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button