
एजेन्सी – सुपरस्टार फरवार्ड नेयमारले निर्णायक गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा विजयी भएको छ । पीएसजीले लियोनलाई उसकै मैदानमा १–० ले हराएको हो ।
बराबरीतर्फ धकेलिएको खेलको अन्तिम समयतिर नेयमारले उत्कृष्ट गोल गर्दै पीएसजीलाई महत्वपुर्ण ३ अंक दिलाएको हो । खेलभर नै घरेलु टोलीलाई दवावमा राखेपनि गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो । खेलको चौथो मिनेटमा नै नेयमारको क्रसमा एन्जल डि मारियाले गोलको सुन्दर मौका खेर फालेको थियो ।
१२औं मिनेटमा डि मारियाले काउन्टर एट्याकमा गरेको प्रहार लियोनका गोलरक्षक एन्थोनी लोपेसले मुस्किलले बचाउदा पीएसजी अग्रता लिनबाट चुकेको थियो । २१औं मिनेटमा लियोनक मोउसा डेम्वेलेले मौका पाएपनि सदुपयोग गर्न सकेन । लगत्तै लोपेसले डि मारियाको अर्काे प्रहारलाई विफल पारिदिए । ४१औं मिनेटमा नेयमारको फ्रिकिलाई लोपेसले सुन्दर तरिकाले बचाए ।
युसुफ कोनेको क्रसमा हुसेन औरले सुन्दर मौका खेर फाल्दा लियोन अग्रता लिनबाट चुकेको थियो । ५९औं मिनेटमा नेयमारको कर्नरमा डिफेन्डर अब्दु डियालोको पावरफुल हेडर क्रसबारमा लाग्दै बाहिरिएको थियो ।
लगातार पोस्ट आक्रमण बुनिरहेको पीएसजीका लागि नेयमारले ८७औं मिनेटमा गोलको खडेरी तोडे । डि मारियाको पासमा नेयमारले बक्सभित्र चार डिफेन्डरबीचबाट पहिलो बारमा च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो ।