कहिले सुरुङ मार्ग त कहिले ‘रक नेटिङ’को चर्चा, स्थानीय तहको चासोमा वैकल्पिक सडक
दीपक घिमिरे
बुटवल- चालु आर्थिक वर्षको भदौ २७ मा बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा नजिकै ढुंगासहितको पहिरोमा २ वटा गाडी पुरिए। उक्त दुर्घटनामा १ जनाको मृत्यु भयो भने ४ घाइते भए।
बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा हुँदै ठूलासाना गरी दैनिक २ हजारको हाराहारीमा सवारीसाधन आवतजावत गर्ने गर्दछन्। यस खण्डमा ७ वर्षको अवधिमा भएका ३८ दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार यो सडकखण्डको करीब ५ किलोमिटर दूरीमा पहिरो र ढुङ्गाले च्यापेर वर्षेनी औषतमा ३ देखि ४ जनाले ज्यान गुमाउने गर्दछन्। आर्थिक वर्ष २०७०/०७१ मा ११ जना, २०७१/०७२ मा ५ जना, २०७२/०७३ मा ४ जना, २०७३/०७४ मा २ जना, २०७४/०७५ मा ४ जना र २०७५/०७६ मा ३ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
विसं २०१८ देखि निर्माण सुरु गरिएको यस सडकखण्डमा २०२८ मा मात्रै सवारी चल्न थालेका थिए। रुपन्देहीबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, बागलुङ लगायतका जिल्लाका लागि दैनिक सयौं यातायातका साधन गुड्ने यो सडकको न त स्तरोन्नति हुन सकेको छ, न त दुर्घटनामा नै कमी आएको छ। बरु बदनामी भने कमाएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देहीको बुटवल चिडियाखोलादेखि पाल्पाको झुम्सासम्मको करीब ५ किलोमिटर सडक ‘मृत्युमार्ग’का रुपमा बदनाम छ।
यो सडक भएर हिड्ने यात्रुलाई भीरबाट ढुंगा खसेर च्याप्ने हो कि, ढुंगासहितको पहिरोले बगाउने हो भन्ने चिन्ताले पिरोल्ने गर्दछ। यही डरले कतिपय यात्रुले दूरीका हिसाबले लामो परे पनि वैकल्पिक बाटोको प्रयोगसमेत गर्ने गरेका छन्। अर्घाखाँचीको पूर्वी क्षेत्र तथा गुल्मीको पश्चिम क्षेत्र जाने यात्रु पहिरोकै डरले कपिलवस्तु गोरुसिंगे हुँदै अर्घाखाँचीको सन्धिखर्क हुँदै गन्तव्यमा पुग्ने गरेका छन्।
तर, गुल्मीको पूर्वी क्षेत्र, पाल्पा, स्याङ्जा, कास्की, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङलगायतका जिल्लामा जानेका लागि यही सडकको विकल्प छैन। बुटवलबाट नारायणगढ-मुग्लिन-पोखरा हुँदै जाँदा समय र पैसा दुवै बढी खर्च हुन्छ।
गुल्मीका कृष्णबहादुर घर्तीले पहिरोकै कारण सिद्धबाबा सडकखण्डमा यात्रा गर्दा डरत्रासको अवस्था सिर्जना हुनेगरेको बताए। घर्ती भन्छन्, ‘अलिअलि पानी पर्यो कि यो बाटो हिँड्नै मन लाग्दैन, आफन्त, इष्टमित्र, साथीभाइ बाध्य भएर यही बाटो आउने भए छिनछिनमा फोन गरेर हालखबर बुझ्नुपर्छ, बाटो नकट्दासम्म पिरोलिरहन्छ।
’
कहिले सुरुङमार्गको त कहिले रक नेटिङको चर्चा
यस सडकमा पहिरो खसेर ज्यान गुमाएको खबरपछि सडकको सुधारमा ध्यान दिइने बताइन्छ। त्योभन्दा बढी त सुरुङमार्गको चर्चा हुन्छ। नेताहरु, सरकारी अधिकारीहरु सुरुङमार्गको चर्चा गर्दै सडकको स्तरोन्नतिलाई लिएर गम्भीर रहको बताउँछन्।
रुपन्देही र पाल्पाका जनप्रतिनिधिहरु सडकको जोखिम हटाउनेबारे धेरैपटक सार्वजनिक रुपमा बोलेका छन्। सडक विस्तार तथा स्तरोन्नति र सुरुङमार्गको चर्चा गर्दै चुनावसमेत जितेका छन्। तर, केही दिनमै यस्ता आश्वासन, बहस र प्रतिवद्धता यत्तिकै सेलाएका छन्।
सिद्धबाबाको पहिरो रोक्न र सडक सुधार गर्न भन्दै वर्षेनी लाखौं रुपैयाँ खर्च हुने गरेको छ। सरकारले पनि सुरुङमार्ग बनाउने भन्दै अध्ययन गरेको गर्यै छ। सुरुङमार्गको अध्ययनका लागि यस वर्ष पनि ५० लाख रुपैयाँ बजेट छुट्टाएर अध्ययन गरिने जनाइएको छ।
डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख केदार नेपाल ‘रक नेटिङ’ प्रविधिभन्दा सुरुङमार्ग बढी उपयोगी र स्थायी विकल्प हुने भएकाले सुरुङमार्गकै लागि सरकारी योजना अघि बढेको बताउँछन्।
सडकको सबैभन्दा बढी जोखिम रहेको ३ किलोमिटर क्षेत्रमा करीब १ सय वटा सानाठूला पहिरो खस्छन्। भूगर्भविद् रञ्जनकुमार दाहाल पहाडको संरचना कमजोर भएका कारण पटक-पटक पहिरो खस्ने गरेको बताउँछन्।
चुरे पहाडको संरचना कमजोर भएकाले पहिरो खसिरहने उनको भनाइ छ। यस खण्डको पहिरो रोक्न जियोटेक सोलुसन्स इन्टरनेसनल प्रालिले रक नेटिङ प्रविधिमार्फत पहिरो रोक्न परीक्षण गरेको थियो। जापान सरकारको सहयोगमा बिपी राजमार्गमा प्रयोग भएको प्रविधि यहाँ पनि उपयोगी हुने ठहरका साथ पहाडमा जाली लगाएर ढुंगालाई अड्याउने प्रयास भएको थियो।
भूगर्भविद् दाहाल भन्छन्, ‘भोटेकोशी हाइड्रोपावरको पहाडमा पनि यो प्रविधि सफल भएको छ, यहाँ पनि यो प्रविधि उपयोगी हुन्छ।’ ६० लाख रुपैयाँ खर्च गरेर गरिएको परीक्षण सफल भए पनि सरकारले यसमा चासो दिएको भने छैन्।
रक नेटिङ प्रविधिको परीक्षणपछि संघ सरकारले सुरुङमार्गको अध्ययन गराएको थियो। स्विटजरल्यान्ड सरकारको सहयोगमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि तयार भएको छ। परामर्शदाता कम्पनी ‘इटेगो’ले तयार पारेको डिपिआरका आधारमा सुरुङ बनाउने संघ सरकारको योजना छ।
डिपिआरअनुसार सुरुङ बनाउन करिब ९ अर्ब रुपैयाँ लाग्छ। सिद्धबाबादेखि दोभानसम्म करिब सवा १ किलोमिटर दूरीको सुरुङ बन्नेछ।
वैकल्पिक मार्ग बनाइँदै
यो क्षेत्रमा बढी दुर्घटना भएपछि प्रदेश र स्थानीय सरकारले वैकल्पिक मार्ग बनाउन थालेका छन्। रुपन्देहीको चरङ्गे मुडाबास-चौकी भञ्ज्याङ-ज्यामिरे-झुम्सा सडक सिद्धबाबाको विकल्पको रुपमा अगाडि बढेको छ।
पाल्पाको तिनाउ गाउँपालिकाले आसपासका अरु नगरपालिका र गाउँपालिकासँग मिलेर गत वर्ष करीब ९० लाख रुपैयाँ खर्चेर वैकल्पिक सडकको ट्र्याक खोलेको थियो।
१६ किलोमिटर लामो यो सडकखण्डको पाल्पाको झुम्सादेखि चौकी भञ्ज्याङसम्म अहिले गाडी चल्छन्। रुपन्देहीको चौकी भञ्ज्याङदेखि मुडाबाससम्मको सडक विस्तार हुनसकेको छैन। यो सडकका लागि प्रदेश सरकारले १० करोड रुपैयाँ बजेट छुट्याएको छ।
नेपाल लाईभ अनलाइनबाट ।