सहायक भूमिकामा खोजिने कलाकारको भीडमा नछुट्ने कलाकार हुन्, शिशिर भण्डारी । उनले दुई दर्जनभन्दा बढि फिल्ममा आफ्नो अभिनय कुशलता देखाइसकेका छन् । फिल्ममा विशेषगरि कमेडी भूमिकामा देखिने उनी अहिले युट्युबमार्फत् सामाजिक कार्यमा सक्रिय छन् । त्यसैले केही समययता उनी फिल्ममा खासै देखिएका छैनन् । तर, फिल्मलाई मायै मारेका भने छैनन् ।
उनको नयाँ फिल्म ‘काले दाई’ असोज १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यसमा उनी सहायक भूमिकामा छन् । सोमबार यो फिल्मको गीत सार्वजनिक कार्यक्रममा उनले सहायक भूमिका गर्नु आफ्नो रहर नभएर बाध्यता भएको बताए । तर, उनी दर्शकले आफूलाई रुचाएका कारण कुनै गुनासो नभएको बताउँछन् । उनी भन्छन्, ‘दर्शकको सन्तुष्टि नै मेरो सन्तुष्टि हो ।’
उनले आफूलाई लिड रोलमा अभिनय गर्ने इच्छा भने रहेको बताए । तर, डेब्यू फिल्मदेखि नै सहायक भूमिकामा अभिनय गरेका कारण मेकर्सले आफूलाई त्यही नजरले हेर्ने गरेको उनको गुनासो छ । उनी भन्छन्, ‘मेकर्सले मलाई जुन भूमिकामा अफर गर्नुहुन्छ त्यसलाई न्याय गर्ने प्रयास गर्छु । आफ्नो अभिनय देखाउन लिड रोल नै गर्नुपर्छ भन्ने छैन । म आफ्नो कामबाट सन्तुष्ट छु ।’
हालै अभिनेता विराज भट्टको फिल्म ‘साङ्लो’ मा गेस्ट अपिरियन्स गरेका उनी हरेक फिल्ममा फरक-फरक भूमिका निर्वाहा गर्न पाएकोमा खुसी व्यक्त गर्दछन् । ‘मैले अहिलेसम्म गरेका कुनै फिल्ममा भूमिका एकैखाले छैनन् । ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’, ‘राधे’, ‘लभ सब’, ‘रोल्पा रोग’ लगायतका फिल्ममा फरक-फरक भूमिका निभाएको थिएँ । ‘काले दाई’ मा पनि फरक छ ।’
उनी यो फिल्मलाई लिएर निकै उत्साहित र आशावादी देखिए । शिशिरले यसपटक फिल्ममा आफ्नो जोडी बाँधिएको पनि बताए । ‘अघिल्ला फिल्महरु हिरोइनलाई जिस्काउने भूमिका मात्र थियो । कहिल्यै रोमान्स गर्न पाइएन । ‘काले दाई’ मा भने मेरो पनि हिरोइन छिन् । यसपटक मलाई रोमान्टिक अवतारमा देख्न पाउनुहुन्छ’, उनले भने । फिल्मलाई शिव शर्माले निर्देशन गरेका हुन् ।फिल्मीखबर