नारायण अधिकारी
चितवन। यस जिल्लामा लगाइएको आयातीत ‘हाइब्रिड’ गरिमा जातको धानको बालाको शुरुआती चरण नै हुन नसकेपछि कृषक चिन्तित बनेका छन् ।
रत्ननगर नगरपालिका वडा नं १० का कृषक ओमप्रसाद रेग्मीले आफ्नोे पाँच कट्ठा खेतमा लगाएको गरिमा जातका धानको गाँज ठूलो भएको तर पसाउन नसकेको बताए ।
स्थानीय साझा एग्रोभेटबाट प्रतिकिलो रू.३५० का दरले किनेर लगेको बीउको धान नपसाएपछि आइतवार कृषि ज्ञान केन्द्रमा पुगेर सो समस्याका बारेमा अवगत गराएको उनले बताए । रत्ननगर नगरपालिका वडा नं ३ का कृषक जयराम पराजुलीले ज्ञान केन्द्रमा क्षतिपूर्ति माग गर्दै निवेदन दर्ता गराएका छन् ।
उनले आफ्नो १७ कट्ठा १० धुर जग्गामा लगाएको धानमा समस्या देखिएको जानकारी दिए । गरिमा जातको धान गएको जेठ २ गते बीउ राखेर असार ३ गते रोपेकामा पसाउँदै नपसाएको दुखेसो उनले गरे । ज्ञान केन्द्रका प्रमुख राजन ढकालले इच्छाकामना गाउँपालिकाबाहेक जिल्लाभरमा सो धानको बालाको शुरुआती चरण नै हुन नसकेको गुनासो आएको बताए ।
केही दिनदेखि दैनिकजसो कृषकले गुनासो गर्ने गरेको भन्दै उनले प्रत्यक्षरुपमा आफूहरुले हेर्दासमेत त्यस्तो देखिएको छ भने । धानको गाँज ठूलो भएको भए पनि प्रजननमा समस्या देखिएको केन्द्रका प्रमुख ढकालले बताए ।
प्रारम्भिक चरणमा लिइएको जानकारीअनुसार सो जातको बीउ विक्री गर्ने यहाँको डिलरले १३ हजार ४०० किलो विक्री गरेको पाइएको छ ।
नेपालमा सो जातको बीउ भित्र्याउने आधिकारिक कम्पनी सनराइज एग्रिकल्चर रिसर्च सेन्टर दाङ हो । सो कम्पनीले गत वर्ष ४० मेट्रिकटन उक्त जातको धानको इजाजत लिएको उनले जानकारी दिए ।
वास्तविक तथ्यांक आइनसके पनि करीब १ हजार ३०० बिघामा गरिमा धान लगाइएको अनुमान छ । जसबाट ५ हजार हाराहारी कृषक प्रत्यक्ष प्रभावित भएको अनुमान गरिएको केन्द्रका प्रमुख ढकालले बताए ।
कार्यालयका बाली विकास अधिकृत माधव पौडेलका अनुसार यो विसं २०७२ मा सूचीकृत जात हो । गरिमा भारतीय उत्पादन हो । यसको जातीय गुणअनुसार ९० देखि ९५ दिनभित्र ५० प्रतिशत फूल खेली सक्नुपर्छ । तर त्यसो हुन नसकेको उनले बताए ।krishipatrika