
एजेन्सी – स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले सन् २०१९ को फिफाको ‘द बेस्ट’ खेलाडीको अवार्ड जितेका छन्।
मेस्सीले इंग्लिस क्लब लिभरपुल तथा नेदरल्यान्डका भर्जिल भान डाइक र पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै यसबर्षको बेस्ट खेलाडीको अवार्ड जितेका हुन् । मेस्सीले कुल ४६ वरीयता अंक जोड्दै छैटौं पटक अवार्ड जित्न सफल भए । भान डाइकले ३८ अंक तथा रोनाल्डोले ३६ अंक पाए । फिफाको वेस्ट बर्ष खेलाडीको छनोट फिफामा आवद्ध सबै देशका प्रशिक्षक र कप्तानले दि बेस्टका लागि मतदान गरेका थिए ।
नेपालका कप्तान विराज महर्जनले भने आफ्नो पहिलो भोट क्रिस्टियानो रोनाल्डोलाई दिएका छन् । दोस्रो भोट मेस्सीलाई तथा तेस्रो भोट भान डाइकलाई दिएका छन् । नेपालका प्रशिक्षक योहान कालिनले आफ्नो पहिलो भोट मेस्सीलाई, दोस्रो भोट रोनाल्डोलाई तथा तेस्रो भोट भान डाइकलाई दिएका छन् ।
यसैगरी नेपालका लागि मिडियाबाट द काठमाडौं पोस्टका खेलकुद ब्युरो प्रमुख रितेश रिजालले मतदान गरेका थिए । उनले क्रमश: मेस्सी, किलियन एमबाप्पे र भान डाइकलाई मत दिए ।
महिलातर्फ अमेरिकी मेगन रापिनोइले आफ्नै देशकी एलेक्स मोर्गानलाई पछि पार्दै ‘द बेष्ट’ अवार्ड जितेकी छन् । मेगनले ४६ तथा एलेक्सले ४२ मत पाए । तेस्रो स्थानमा रहेका इंग्ल्यान्डकी लुसी ब्रन्जले २९ मत पाए ।
नेपाली टोलीकी कप्तान निरु थापाले मेगनलाई ५ अंक, एलेक्सलाई ३ तथा केर सामलाई १ अंक दिएकी छन् । नेपालका प्रशिक्षक हरी खड्काले पनि सोहि अनुसार मतदान गरेका हुन् । पत्रकार रिजालले मेगनलाई ५, लुसीलाई ३ र अडा हेगर्बर्गलाई १ अंक दिए ।hamrokhelkud