स्वास्थ्य

राम्रो डाक्टरमा हुनुपर्ने ६ गुण

डा विष्णुहरि पौडेल

आजभोलि डाक्टर बनाउने प्रवेश परीक्षाको मौसम छ। हाल प्रवेश परीक्षा र त्यसको नतिजा प्रकाशनको क्रम छ।

जनचाहनाको डाक्टर
जनचाहना बुझ्दा के थाहा हुन्छ भने डाक्टर त्यस्तो व्यक्ति बनोस् जसले बिरामीको कथा-व्यथा बुझ्छ, आफ्नै मान्छे जस्तो बुझिने गरी मीठो बोल्छ, नरम हातले सर्वाङ्ग जाँच गर्छ, अनावश्यक जाँच-पड्ताल गर्न लगाउँदैन, उसले दिएको औषधिको एक-दुई मात्राले नै काम गर्यो- भन्ने विश्वास पलाउँछ र केही दिनपछि निको पनि हुन्छ।

के माथि भनिए जस्तै छन् त आजकलका डाक्टर? सायद अधिकांश छैनन्। हामी त्यस्ता डाक्टर बनाउन कहाँ चुक्यौं त? प्रश्न गम्भीर छ किनभने यहाँ जनताको जीवनमरणको सवाल छ। यिनै डाक्टरी गुणहरुका बारेमा केन्द्रित छ यो लेख।

डाक्टरीमा चाहिने गुणहरु
१. परिपक्वता
डाक्टरमा हुनुपर्ने गुणहरुमा एउटा गुण हो परिपक्वता। हामीले चाहेको डाक्टर परिपक्व हुन उमेर पुगेको, पढाइ र भोगाइ पनि राम्रो भएको हुनुपर्छ। त्यसैले उत्तर अमेरिकामा (र अष्ट्रेलियामा समेत) स्नातक पास भएकालाई मात्र चिकित्सा शास्त्रको प्रवेश परीक्षामा सरिक हुन दिइन्छ।

ती पश्चिमा देशहरुको बुझाइ अनुसार स्नातकसम्म पढिसक्दा उमेर निकै परिपक्व हुन्छ भन्ने छ। अर्थात्, १२ कक्षा पासभन्दा १६ कक्षा पास गरेका व्यक्तिमा पारिपक्वता बढी हुन्छ भन्ने उनीहरुको मान्यता हो।

२. बौद्धिक क्षमता र तिक्ष्ण बुद्धि
डाक्टरी पढाइमा पढ्नुपर्ने विषयवस्तुको आयतन ठूलो हुन्छ। यस पढाइमा हामीजस्ता मुलुकहरुमा कम्तीमा २० वटा विषयहरु पढ्नुपर्छ। हुने-खाने देशहरुमा भने डाक्टरी विषयहरुको संख्या ४० नाघ्छ। यति धेरै विषयहरुको संख्या अरु कुनै विधा वा शास्त्रको स्नातक तहमा छैन। थप, पढेका विषयहरु पास भएर मात्र पुग्दैन। पढेका चिजहरु बुझेको हुनुपर्छ किनभने ती चिजहरु भोलि व्यवहारमा लागू गर्नुपर्छ। त्यसैले डाक्टरी अध्ययनका लागि वौद्धिक रूपमा क्षमतावान व्यक्ति चाहिन्छ।

पढ्ने सामग्रीको आयतन धेरै हुने मात्र नभएर थपिंदै जाने पनि हुन्छ। खास गरेर नयाँनयाँ बनिरहेका औषधिहरुको बारेमा पनि अध्यावधिक भइराख्नुपर्ने हुन्छ। प्रविधिको प्रयोगले जटिल हुँदै आएका उपचार पद्धतिमा पनि अध्यावधिक भइराख्नुपर्छ। तिनीहरुमा हात बसाल्दै जानुपर्छ। अर्थात्, आजका डाक्टरले ज्ञान र सिप चुस्त-दुरुस्त पारेर समसामयिक भइरहनुपर्छ। त्यसैले, गतिलो डाक्टर हुन/भइराख्न नियमित रुपमा आफू स्वाध्यायनमुखी हुनुपर्छ। त्यसका लागि तीक्ष्ण बुद्धिको समेत उत्तिकै आवश्यकता पर्छ।

३. तथ्यपरक र तार्किक क्षमता
ज्ञान र सिप तीखो राख्न तिक्ष्ण बुद्धि चाहिन्छ नै। कुशल डाक्टर हुन संश्लेष्णात्मक र विश्लेषणात्मक गुणहरु विकसित भएको हुनुपर्छ। शरीरभित्र कोष र अणुको स्तरसम्म केकस्तो काम भइरहेको छ भनेर अनुमान लगाउन विज गणित र त्रिकोणमितिका सूत्रहरु आवश्यकता अनुसार कुन कहाँ कहिले चाहिन्छन् भनेर गणितमा प्रयोग गरे जस्तै रोग र औषधोपचारको कारक तत्व र असारहरु केलाउन जान्नुपर्छ। अर्थात्, डाक्टरले आफूले गरेको उपचार विधिले शरीरभित्र आँखाले नदेख्ने तहसम्म कसरी काम गरिरहेको छ भनेर बुझ्ने-बुझाउने क्षमता हुनुपर्छ। तथ्यपरक औषधोपचार गर्न प्रमाणहरु केलाउने र जोड्ने खुबी चाहिन्छ। ती विषयवस्तुलाई तर्कसंगत रुपमा व्याख्या गर्नसक्ने क्षमता झन् बढी चाहिन्छ।

४. मानवीय आचरण
डाक्टर हुन ज्ञान र सिपको धनी भएर मात्र पुग्दैन। त्यो व्यक्ति असल मनोवृत्ति राम्रो आचरण भई बिरामीको भलाइको लागि काम गर्ने झुकाव भएको हुनुपर्छ। यो भनेको असल मानवीय आचरण हुनु हो।

५. संस्कारी व्यवहार
मानवीय आचरणभित्र नैतिक आचरण पनि जोडिन आउँछ। यी सबैसँग जोडिएर आउने गुणहरुमा अरुको संस्कार, धर्म, आस्था-विश्वासलाई स्वीकार र सम्मान गर्ने नागरिकको व्यवहार गर्ने आचरण पनि हामीले खोजेको डाक्टरमा हुनुपर्छ।

६. भाषागत प्रवीणता र संचार कौशलता
राम्रो डाक्टरले ज्ञान आर्जन गर्ने भाषा र बिरामीलाई जाँच-पडताल र औषधोपचार प्रक्रियाको बारेमा बुझिने गरी बिरामीको भाषामा सम्झाउने-बुझाउने सञ्चार कौशलता चाहिन्छ। हाम्रो परिवेशमा ज्ञान आर्जन गर्न अङ्ग्रेजी चाहियो। बिरामीसँग बोल्न नेपाली वा स्थानीय भाषामा प्रवीण हुनुपर्योर। ज्ञान आर्जनका लागि र बिरामीसँग बोल्न भिन्न भिन्न भाषाहरु चाहिने भनेको कठिन कुरो हो। जुन देशमा यी दुवै कामका लागि एउटै भाषाले पुग्छ त्यहाँ डाक्टर र बिरामीको बीचमा राम्रो समझदारी हुन्छ; जस्तै युरोपका देशहरुमा। त्यस्तै चीन, जापान र थाइल्यान्डमा पनि। हामीकहाँ यो काम कठिन छ। बिरामीको पक्षलाई राम्रोसँग कुरो स्थानीय भाषामा नबुझाएकै कारण अस्पातलहरुमा तनाव हुने गरेको छ। डाक्टरहरुले पिटाइ पनि खाने गरेका छन्। सञ्चार कौशलताको बारेमा यहाँ प्रस्तुत छ सत्य घटनामा आधारित एक उदाहरण।

एक वृद्ध आफ्नो आँखा जचाउन अस्पताल गएछन्। डाक्टरले निजका आँखाको जाँच गरे। त्यसपछि वृद्धले सोधेछन्– डाक्टर सा’ब म किन राम्रोसँग देख्दिन? डाक्टर (जो महिला थिइन् विदेशबाट आएकी तर नेपाली नागरिक भइसकेकी)ले मिठो नेपालीमा भनिछन्– तपाईं बूढो हुनुभयो, अनि तपाईंको आँखा पनि बूढा भएछन्। त्यसैले तपाईंले राम्रोसँग देख्न नसकेको। बिरामीले ए… भनेर चित्त बुझाएछन्। अन्य अधिकांश हाम्रा नेपाली डाक्टर सा’बहरुले भए सायद यस्तो भन्ने थिए होलान्- तपाईंको डिमिनिस्ड भिजनलाई हामी इफेक्ट अफ एजिङ भन्छौं, तपाईं बुझ्नुहुन्न। अनि बिरामी अमिलो मन गरी आफू अङ्ग्रेजी र चिकित्सा नजान्ने ठानेर डाक्टरले अपमान गरेको मनस्थिति लिएर घर फर्किनु पर्थ्यो।

अब कुरा गरौं हाल नेपालमा प्रचलित डाक्टर पढ्ने प्रवेश परीक्षाको बारेमा। हाम्रा अधिकांश विश्वविद्यालयहरुले लिने गरेका प्रवेश परीक्षामा भौतिकशास्त्र, रसायन शास्त्र र जीव विज्ञानका प्रश्नहरु सोधेर त्यसमा उच्चतम अंक ल्याउने व्यक्तिलाई डाक्टर पढाउने गरेका छन्। ती माथि उल्लेखित विषयहरु जानेकालाई डाक्टरी पढ्न भने सहज हुन्छ भन्न सकिन्छ किनभने चिकित्सा शास्त्रमा ति विषयहरुको बाहुल्यता छ। तर पढ्न सक्ने व्यक्तिमा डाक्टर बन्न लायक माथि उल्लेखित ६ वटा गुणहरु छन् कि छैन भनेर जाँच्ने बारेमा त हामीकहाँ फिटिक्कै केही परीक्षा हुने गरेकै छैन। व्यक्तिभित्र निहित मानवीय गुणको परीक्षा लिने विधिको प्रयोग भएकै छैन। भलै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले चाहिँ केही हदसम्म यो विषय सम्बोधन गर्ने प्रयास भने गरेको बुझिन्छ। त्यसैले बढी प्रचलित सो परीक्षाले डाक्टर हुन लायक मनोभावना छ छैन भन्न पटक्कै सक्दैन। त्यस्तो मनोभावना या मनोवृत्ति बुझ्न अर्कै विशेष परीक्षा चाहिन्छ। अर्थात्, अधिकांश विश्वविद्यालयहरुले गरिरहेका वर्तमान प्रवेश परीक्षा प्रणालीले माथि उल्लेखित डाक्टरी गुणहरु भएको व्यक्तिको पहिचान गर्दैन। अनि कसरी आम जनताले चाहेको डाक्टर बन्छ त? प्रश्न सोचनीय छ। अब पनि त्यस्तै काम नलाग्ने परीक्षा नै सन्चालन गरिरहने हो त? त्यसैले, हालको प्रवेश परीक्षामा आमूल सुधारको आवश्यकता छ। भनाइको मतलब, सरोकारवालाहरुको दिमाग चल्नुपर्योक सही दिशामा।

त्यसैले व्यापक रूपमा मानवीय आचरण मूल्याङ्कन विधिको प्रयोग र यसै विधिको मूल्याङ्कन समेत गरी यसको स्तरीयता स्थापना गर्नुपर्ने आवश्यक छ। यानी, देशकाल र परिस्थिति सुहाउँदो आफ्नै पद्धतिको विकास गरी लागू गर्ने विषय हो यो।

तसर्थ, देश र देशबासीको चाहना वा आवश्यकता पूरा गर्ने डाक्टर उत्पादन गरी वर्तमान जनचाहना सम्बोधन गर्नको निमित्त प्रवेश परीक्षाको विधि र त्यसको सान्दर्भिकतामा आमूल परिवर्तन चाहिएको छ। सरोकारवालाहरुलाई चेतना भया।

(डा पौडेल चिकित्सा शिक्षाविद् र चिकित्सकीय शरीरक्रिया विज्ञान धरानका प्राध्यापक हुन्)swsthyakhabarpatrika

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button