अनिल श्रेष्ठ
रङ्गेली (मोरङ)/ मोरङको रङ्गेली–४ की गर्भवती नीताकुमारी मण्डल घरायसी कामलाई थाती राखेर स्वास्थ्य जाँचको लागि मङ्गलबार सबेरै रङ्गेली अस्पतालमा पुगिन् । उनले यसअघि सोही अस्पतालमा चारपटक प्रसूति रोग विशेषज्ञ चिकित्सकसँग स्वास्थ्य अवस्था जाँच गराएकी थिइन् ।
मङ्गलबार पनि नियमित स्वास्थ्य परीक्षण गराउने योजना बनाएर अस्पताल आएकी हुन् । तर, रङ्गेली अस्पतलामा प्रसूति रोग विशेषज्ञ डा. प्रियङ्का मिश्राले राजीनामा दिएर प्रसूति सेवा बन्द भएको सात दिन पुगेको थियो । उनले निन्याउरो अनुहार पार्दै भनिन्, ‘हस्याङ फस्याङ गर्दै अस्पताल आइपुगेँ । अस्पतालमा डाक्टर नभएको सात दिन पो भएको रहेछ ! दुःख मात्र पाए ।’ अब निजी हस्पिटलमा गएर स्वास्थ्य जाँच गराउनु पर्ने अवस्था आएको उनले बताइन् । ‘नजिक पनि भएकोले यही अस्पतालमा स्वास्थ्य जाँच गराउने योजना बनाएर आएको थिएँ’ उनले भनिन्, ‘आज त ढिलो भयो । अब भोलि विराटनगर गएर स्वास्थ्य परीक्षण गराउनु पर्ला ।’
पहिलो सन्तानलाई जन्म दिन लागेकी मोरङ रङ्गेली–९ फर्साडागीकी गर्भवती जानकीकुमारी ताजपुरिया पनि एक घण्टा समय खर्चेर रङ्गेली अस्पताल आएकी थिइन् । अस्पतालमा प्रसूति सेवा बन्द हुँदा उनी पनि परीक्षण नगराई घर फर्किन बाध्य भइन् । ‘एक घण्टा लगाएर रङ्गेली अस्पताल आएको थिए’ उनले भनिन्, ‘यहाँ आइपुग्दा पो थाहा भयो प्रसूति सेवा बन्द रहेछ । बिना उपचार घर फर्किनु प¥यो ।’ अहिले रङ्गेली अस्पतालमा आएर फर्किनु परेको गर्भवती नीता र कुमारी प्रतिनिधि हुन् । उनीहरू जस्तै असोज १ गतेदेखि सरदर दैनिक ८ देखि १० जनासम्म गर्भवती महिला रङ्गेली अस्पताल आउँदै फर्किने गरेका छन् ।
आमा सुरक्षा कार्यक्रम लागू भएको रङ्गेली अस्पतालमा प्रसूति सेवा सात दिनदेखि बन्द छ । अस्पताल विकास समितिले करारमा नियुक्ति गरेको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रियङ्का मिश्राले राजीनामा दिएपछि रङ्गेली अस्पतालमा प्रसूति सेवा बन्द भएको हो । डा. मिश्रालाई १ लाख ४० रूपैयाँ मासिक तलब दिने गरी गतवर्षको वैशाखमा करारमा नियुक्ति गरी २०७५ जेठदेखि प्रसूति सेवा सुचारू भएको थियो । प्रसूति सेवा शुरू भएको १५ महिनापछि यो सेवा बन्द भएको हो ।
आर्थिक वर्ष २०७५/०७६ मा २ सय ९० जना गर्भवती महिलाको प्रसूति भएको अस्पतालका सूचना अधिकारी गोविन्दबहादुर कटुवालले जानकारी दिए । जसमध्ये २५ जना गर्भवती महिलाको शल्यक्रिया गरी नवजात शिशुलाई जन्म दिएको थियो । ‘करारमा नियुक्ति हुनुभएको प्रसूति रोग विशेषज्ञ डाक्टर प्रियङ्का मिश्राले राजीनामा दिएपछि सात दिनदेखि प्रसूति सेवा बन्द छ’ अस्पतालका सूचना अधिकारी कटुवालले भने, ‘यहाँ आएका बिरामीलाई हामीले अन्य अस्पतालमा रेफर गरिदिने गरेका छौं ।’ अस्पताल प्रशासनले डा. मिश्रालाई असोज १५ गतेसम्म बिरामीको स्वास्थ्य अवस्था जाँच गरिदिन आग्रह गरेका थिए । तर, मिश्राले राजीनामा दिएपछि असोज १ गतेदेखि अस्पताल नआएको बुझिएको छ ।
स्टोरमा थन्किए उपकरण
प्रसूति सेवा बन्द भएपछि अहिले अस्पतालका आइसियु, एनआइसियुमा रहेका उपकरणहरू स्टोर रूममा थन्किएका छन् । ६ शøयाको आइसियु र ३ शय्याको एनआइसियुका उपकरणहरू आइसियु कक्षमा स्टोर गरेर राखिएको छ । स्टोर गरिएका उपकरणहरूमा पनि माकुराले जालो लाउन थालेको छ । ‘अस्पतालमा अत्याधुनिक उपकरणहरू छन् नि’ कटुवालले भने, ‘एक जना विशेषज्ञको पनि दरबन्दी छैन ।’ २० शय्याको जिल्ला अस्पताल रहेको रङ्गेली अस्पताललाई अहिले स्थानीय तहको मातहतमा रहने गरी प्राथमिक अस्पतालको रूपमा परिणत गरिएको छ । जिल्ला अस्पताल हुँदा ४६ जनाको दरबन्दी रहेको यो अस्पतालमा अहिले २८ जनाको मात्र दरबन्दी रहेको सूचना अधिकारी कटुवालले जानकारी दिए । कर्मचारी समायोजनपछि चिकित्सकहरू रङ्गेली अस्पतालमा आउन मान्दैनन् । ‘९ औं तहको सुपरिटेण्डेण्ट र ८ औं तहको २ जना मेडिकल अफिसरको दरबन्दी रहेको छ’ उनले भने, ‘अहिलेसम्म उनीहरू आएका छैनन् । सरुवा भएर यहाँ भएका कर्मचारी जान्छन् । तर आउने कर्मचारी अहिलेसम्म आएका छैनन् ।’ २८ जनाको दरबन्दी भए पनि अहिले अस्पतालमा २० जना मात्र कर्मचारी कार्यरत छन् । अस्पतालमा अहिले सामान्य ओपिडी र आकस्मिक सेवाहरू मात्र सञ्चालित छ ।
वार्षिक २० हजार बिरामी आउँछन्
रङ्गेली अस्पतालमा वार्षिक २० हजार २ सय ३७ जना बिरामीले ओपिडी सेवा लिँदै आएका छन् । यहाँ मोरङको पूर्वी, दक्षिणी, उत्तरी र सीमावर्ती भारतसम्मका आर्थिक अवस्था नाजुक भएका बिरामीले स्वास्थ्य सेवा लिँदै आएका छन् । दैनिक करिब ६० देखि ७० जना बिरामीले सेवा लिने अस्पतालमा एकजना पनि विशेषज्ञ चिकित्सकको दरबन्दी नहुनु दुर्भाग्य भएको स्थानीय रविन्द्र बराल बताउँछन् । अस्पतालको अभिलेखअनुसार आर्थिक वर्ष २०७३/०७४ मा १७ हजार ८ सय ५१ जना बिरामीले ओपिडीमा स्वास्थ्य परीक्षण गराएका थिए भने ०७४/७५ मा १९ हजार ४१ जनाले स्वास्थ्य परीक्षण गराएको देखिन्छ । अस्पतालको अभिलेखअनुसार आर्थिक वर्षमा अस्पतालमा भर्ना भएका बिरामी १ हजार ६ र आकस्मिक कक्षमा ७ हजार ३ सय ७० जना बिरामी देखिन्छ । यस्तै एक्स–रे ३ हजार ७ सय १, इसिजी ५ सय २४, युएसजी ३ हजार ४ सय ७५ जनाले गराएको अभिलेखमा उल्लेख छ ।blastkhabar/from