बलिउडका हिट मेशिन मानिने अभिनेता अक्षय कुमारको नयाँ फिल्म ‘हाउसफुल ४’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा देखिए अनुसार, फिल्ममा उनी डबल रोलमा देखिनेछन् । ट्विटरमा पोस्टर साझेदार गर्दै अक्षयले लेखेका छन्, ‘मिल्नुस् १४१९ का राजकुमार बाला र २०१९ का लण्डन रिटर्न ह्यारीसँग । कन्फ्यूजन र म्याडनेसको धमाका ।’
उनले फिल्मको ट्रेलर २७ सेप्टेम्बरमा सार्वजनक हुने पनि जानकारी गराएका छन् । पोस्टरमा अक्षय कुमार दुई अलग-अलग गेटअपमा देखिएका छन् । फ्ल्यासब्याक सिनमा उनी १४१९ को राजकुमार बाला र वर्तमान समयमा ह्यारी हुनेछन्, जो लण्डनबाट इन्डिया फर्किएको छ । पोस्टरलाई सोसल मिडियामा निकै रुचाइएको छ । र, अक्षयको गेटअपको प्रशंसा भएको छ ।
यसपटक फिल्मको थिम पुनर्जन्ममा आधारित छ । फिल्ममा अक्षयसँगै कृति सेनन, कीर्ति खरबम्दा, बबी देओल, राणा दग्गुबाती, पूजा हेगडे र चंकी पान्डेको अभिनय छ । फिल्मलाई फरहाद सामजीले निर्देशन गरेका हुन् । ‘हाउसफुल ४’ दिपावलीको मौकामा रिलिज हुनेछ । जसको बक्सअफिसमा ‘साँड की आँख’ र ‘मेड इन चाइना’ सँग भिडन्त हुनेछ ।
‘हाउसफुल ४’ को निर्देशन पहिला साजिद खानले गरेका थिए । तर, उनीमाथि ‘ह्यारेसमेन्ट’ को आरोप लागेपछि निर्देशकको जिम्मेवारी फरहाद सामजीले सम्हालेका हुन् । ‘ह्यारेसमेन्ट’ को आरोप लागेपछि फिल्मबाट अभिनेता नाना पाटेकर समेत निक्लनु परेको थियो । ‘हाउसफुल’ को अघिल्ला तीनै सिरिजले बक्सअफिसमा जबरजस्त व्यापार गरेका थिए ।फिल्मीखबर