विचार

प्रहरी महानिरीक्षकविरुद्ध ‘प्रायोजित प्रोपोगान्डा’ !

-रमेश खड्का

समृद्ध नेपाल र सुखी नेपालीको स्वप्नद्रष्टा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सम्हालेपश्चात सुरक्षा र बिकासलाई सँगसँगै डोहोर्योउने सारथीको रुपमा २०७४ साल चैत्र २९ गते नेपाल सरकारद्वारा नेपाल प्रहरी संगठनको रिक्त पदमा सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरिएको यथार्थ कसैको सामु लुकेको छैन ।

उक्त नियुक्तिमा उनले बिभिन्न स्थानमा रहँदा अति उत्कृष्ट कार्य सम्पादन गरेको यथार्थताले काम गरेको तथ्य पनि हामीसामु घाम जत्तिकै छर्लङ्ग छ । जस्तो कि फुटवल म्याच फिक्सिङको घटना होस वा पेट्रोलियम सप्लाईलाई अनियमितता गरेका सरकारी कर्मचारी हुन वा नामुद गुण्डागर्दीमा संलग्न घैटे कुमार जस्ता ब्यक्ति नै किन नहुन, उनले काडो झिके झैं झिकी समाजलाई र नेपाल आमालाई गुण लगाएको त हामी कसैको सामु छिपेको छैन।

त्यस्तै प्रकारले बिभिन्न आन्दोलनको क्रममा काठमाडांैको फिल्डमा खटिई बिना कुनै क्षति हुन दिई भिडलाई ब्यवस्थापन गरेको, आफू मातहतका प्रहरी कर्मचारीहरुलाई टिममा सँगै हिडाई Optimum Output ल्याउन उनको भूमिका प्रशंसनीय रहेको छ ।

संयुक्त राष्टसंघको मुख्यालयमा समेत काम गरेर सर्वेन्द्रले आफ्नो अब्बलताको परिचय त पस्किएकै छन् भने धनुषा प्रहरी प्रमुख रहँदा आफ्नै कमाण्डमा रहेको सहकर्मीलाई समेत प्रहरी आचरण बिरुद्धको कसूरमा demotion गराई संगठनको छवि समेत जोगाएको तथ्य पनि यहाँनेर स्मरण गर्नु सान्दर्भिक हुने देखिन्छ ।

प्रहरी महानिरीक्षक भैसकेपश्चाात उनले प्रहरी संगठनका कर्मचारीहरुको गिर्दो मनोबललाई उकास्न लामो समयदेखि रोकिएको बढुवा र सरुवा सुचारू गराए । यसले गर्दा right person in right place as well as right evaluation को भनाइलाई आत्मसात गरेको आम प्रहरी कर्मचारीहरुको बुझाइरहेको छ ।

जसरी द्वन्दको समयमा मानिसलाई तपाइँलाई के चाहिन्छ ? भनी प्रश्न गर्दा आफ्नो घरमा आनन्दसँग बस्न पाऊँ भन्ने जवाफ आउने अवस्थाबाट हाल समाजमा शान्ति, सुरक्षा अमन चयनको अनुभूति जनताले प्राप्त गरेको अवस्था छ । जनताले प्रहरीको सहयोग माग गरेको केही मिनटमै सहरमा प्रहरी पुगी सेवा प्रदान गरेको अवस्थाले सुरक्षाको प्रत्याभूति गराएको छ ।

यसले सुरक्षा र बिकास भन्ने भनाइलाई नै मलजल गरेको छ । साथै बिप्लव समूहको तथाकथित अराजक जत्थालाई पनि प्रहरीले ध्वस्त बनाई समाजमा शान्ति सुरक्षालाई आश्वस्त तुल्याएको अनुमान गर्न कुनै कठिनाई छैन । अपराधको अनुसन्धानको क्षेत्रमा ९७ प्रतिशत सफलता हासिल भयो भने आइटी को क्षेत्रमा अन्तराष्ट्रिय अवार्ड नै प्राप्त गर्न नेपाल प्रहरीको नेतृत्व सफल भयो ।

त्यस्तै सुशासनको क्षेत्रमा एक संस्थाले गरेको सर्वेक्षणले नेपाल प्रहरीमा भ्रष्टाचार अरु संगठन भन्दा अति न्यून रुपमा अर्थात ०.१ प्रतिशत रहेको तथ्य सार्वजनिक गर्यो । त्यस्तै प्रकारले बेरुजु फर्छ्योटमा पनि प्रहरी संगठन अब्बल हुन गई पदकसहित पुरस्कृत भएकोले सर्वेन्द्रको नेतृत्वले समृद्द नेपाल र सुखी नेपालीको नारालाई आत्मसात गरेको अनुमान गर्न कुनै आइतबार कुर्न पर्दैन ।

जसरी नङ र मासुको सम्बन्ध हुन्छ, त्यसरी नै समुदाय र प्रहरीको सुमधुर सम्बन्ध हुन्छ भन्ने मूल मन्त्रलाई आत्मसात गरी समुदायलाई प्रहरीसँग साच्चिकै साझेदार बनाउने पवित्र उद्देश्यले सर्वेन्द्रलले आफू प्रहरी महानिरीक्षक हुने बित्तिकै समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई संस्थागत रुपमा स्थापित गर्न सफल भए, जस्ले गर्दा प्रहरीले सबै स्थानीय तहसँग सम्झौता गरी उक्त कार्यक्रम लागू गराए । जसमा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, संघ संस्था र बिद्यालयलाई एउटै सञ्जा्लमा आबद्द गराई अपराध र अपराधीहरुको हुर्मत लिन सफल भएको पाइन्छ ।

स्थानीय तहबाट प्रहरी कार्यालयहरुको लागि रकम नै विनियोजित गराई संस्थागत गरिएको कारणले अहिले प्रहरी स्थानीय तह, वडा, गाऊँ र विद्यालय जताततै संगठित रुपमा फैलिएको छ । जनताको हरेक समस्यामा साथ दिँदै सूचना प्राप्त गर्नाले अहिले आपराधिक गतिविधिका सूचना तत्कालै प्रहरी समक्ष आउने र घट्ने योजना बन्दै गरेका अपराध घट्नै नपाएको अवस्था समेत छ । यसले हर प्रहर गाऊँ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने मूल मन्त्रलाई सफलीभूत गराएको छ ।

जसरी घाम लागेको दिनको समय र अवस्थामा सम्पूर्ण चिजबस्तु छर्लङ्ग हुन्छ, त्यस्तै प्रकारले हालको अवस्थासम्म आइपुग्दा नेपाल प्रहरीको खरिद इकाई पनि छर्लङ्ग हुँदै आएको अवस्थामा आइजीपीले आर्थिक प्रशासन मार्फत अनियमितता गरेका छन् भन्ने बेनामी उजुरी अख्तियारमा हाल्न लगाई त्यसै घटनाबाट कतै आइजीपीलाई तान्न सकिन्छ अथवा उनलाई बदनाम गर्न सकिन्छ कि भनी कुचेष्टा गरिँदैछ ।

यो बिभिषण पदचाप हो, जसले कालान्तरमा नेपाल प्रहरी संगठनलाई डुबाउने बाहेक अन्य केही हुनै सक्दैन। जसरी प्रहरी संगठनलाई छिन्नभिन्न पार्न सकियो भने तस्कर, गुण्डा, ठेकेदारको आवरणमा रहेका ठगदारहरु, कथित बिप्लव समूहदेखि बिभिन्न स्वार्थ समूहहरुले खुच्चिङको शैलीमा आफ्नो अभिष्ट पूरा गर्ने कुचेष्‍टा गरेका छन्, त्यो कदापि पूरा हुने छैन ।

जसरी महाभारतको युद्धमा भगवान श्रीकृष्णले गाण्डीब धनुर्धारी अर्जुनको सारथी बनी उनैबाट महाभारत युद्धमार्फत अन्याय र अत्याचारको संहार गर्नुभएको थियो, हाल त्यस्तै प्रकारले सर्वेन्द्र मार्फत् सुरक्षा र बिकासलाई सँगसँगै लैजानै प्रधानमन्त्रीको योजनाले साकार रुप पाउँदै गरेको अवस्था छ ।

वर्तमान प्रधानमन्त्रीबाट सुझबुझपूर्ण तवरले नेतृत्व चयन गरी सर्वेन्द्र खनाललाई आइजीपीको जिम्मेवारी दिइएको र आइजीपी सर्वेन्द्र खनालले समेतले दिलो ज्यान दिई सरकारलाई साथ दिइरहेको वर्तमान अवस्थामा सरकार उनीहरुको नियोजित कदमको सारथी नबन्ने पक्का पक्की देखेपश्चात उनी विद्यमान कानून अनुसार सेवा निबृत्त हुने क्रममा रहेको करिव ५ महिना पछिको सार्वजनिक हुनसक्ने उनको भूमिकालाई धुमिल तुल्याउने कुत्सित मनसायले तथ्यहीन र भ्रामक कुराहरुलाई गोयबल्स शैलीमा प्रचारप्रसार गराई उनको चरित्रहरण गर्न केही तत्वहरू सक्रिय रहेको प्रस्ट देखिएको छ ।

विश्वको शक्तिशाली राष्ट्रमध्ये एक छिमेकी मित्रराष्ट चिनका राष्टाध्यक्षको निकट भविष्यमा नेपालमा हुने भ्रमणको सुरक्षा योजना वनाउदै गरेका र राष्ट्रलाई कसरी समृद्धि र विकासमा लैजानको लागि सुरक्षित समाजको निर्माणको महाअभियानमा योजनावद्ध रुपमा लागेका आइजीपी सर्वेन्द्र खनाललाई बिचलित बनाउने नियतले नै प्रायोजित प्रहार गरिएको संगठनका अधिकारीहरु र आम नागरिकको बुझाई छ । जसरी एक्लो बृहस्पति झुठ्ठा हुने स्थिति आएको थियो, त्यसरी नै एक्लो सर्वेन्द्र झुठ्ठा भन्ने कहिल्यै नहोस । दुधको दुध र पानीको पानी छुट्टियोस र उनी उपर लगाइएको स्याल हुइया केवल मित्थ्या हुन सकोस !

साभार: नागरीक खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button