खबरस्वास्थ्य

धनगढीकी खगित्रा शाहीले जन्माइन् चम्ल्याहा सन्तान, आमा र शिशुलाई उच्च निगरानी

काठमाडौं- धनगढीकी २७ वर्षिया खगित्रा शाहीले बुधबार चम्ल्याहा शिशुलाई जन्म दिएकी छिन्।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा शल्यक्रियामार्फत खत्रीले ४ शिशुलाई जन्म दिएकी हुन्।

केएमसीकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा चन्दा कार्कीले खत्रीलाई डेढ महिनादेखि अस्पतालमा भर्ना गरी उपचार भइरहेको बताइन्। उनले भनिन्,‘डेढ महिनाअघि हामीकहाँ आउँदा बिरामीलाई श्वास फेर्न, हिँडडुल गर्न, बस्न, उठ्नै समस्या थियो। ज्वरो आइरहेको थियो। डेंगु पोजेटिभ देखिएको थियो। त्यसैले भर्ना गरेरै उपचार गरिरहेका थियौँ।’

उनले चम्ल्याहा शिशुको जन्म दुर्लभ हुने बताइन्। डा कार्कीका अनुसार पाठेघरमा ४ शिशु हुर्काउन समस्या हुने भएकोले ३४ हप्तामै शल्यक्रिया गरी बच्चा झिकिएको हो।

पाठेघर निकै तन्किने हुँदा ४ वटा शिशुलाई शरीरमा पूरा समय राख्न लगभग असम्भव जस्तै हुने कार्कीको भनाइ छ। ‘अस्पताल आउँदा उच्च ज्वरो डेंगु पनि भएकोले भर्ना गरेरै निगरानीमा राखेका थियौँ,’ उनले भनिन्।

खगित्राको पहिलो सन्तान छोरी छिन्। पहिलो सन्तान पनि शल्यक्रिया गरी जन्माइएको डा कार्कीले जानकारी दिइन्।

पहिलो सन्तान जन्माएपछि लामो समय दोस्रो गर्भ नबसेपछि उनले सन्तानका लागि उपचार गराइरहेको बताइएको छ। ‘दोस्रो सन्तानको लागि उपचार गराइरहनु भएको रहेछ, तर यो प्राकृतिक गर्भाधारण हो,’ कार्कीले भनिन्।

शिशुहरूमा ३ जना छोरा र १ जना छोरी छन्। जसमध्ये एकको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

चारै शिशुलाई नवजात शिशु सघन उपचार कक्षमा र आमालाई पोष्ट-अपरेटिभ वार्डमा राखी उपचार भइरहेको छ।

‘चार शिशु जन्माएपछि आमाको स्वास्थ्य पनि कमजोर हुन्छ। धेरै रगत बग्ने, अन्य समस्या पनि हुन्छन्। त्यसैले उहाँलाई पनि हाइकेयर उपचार गरिरहेका छौँ,’ कार्कीले भनिन्।

शिशुहरुको तौल कम भएका कारण श्वासप्रश्वासमा कठिनाई हुनसक्ने हुँदा केही साता विशेष स्वास्थ्य निगरानीमा राख्नुपर्ने डा कार्कीको भनाइ छ।

उनले भनिन्, ‘नवजात शिशुको साढे दुई किलोग्राम तौल भए राम्रो विकास भएको मानिन्छ। यी शिशुहरुको तौल १ केजी, १ दशमलब २ केजी, १ दशमलब ५ केजी र १ दशमलब ६ केजी छ। त्यसैले अलि बढी हेरचाह र निगरानी आवश्यक पर्छ।’

४ वटा बच्चा गर्भमा रहेको थाहा पाएपछि धनगढीस्थित अस्पतालले उनलाई काठमाडौं रेफर गरेको थियो। (तस्बिर- बिबिसी नेपाली)

स्वास्थ्य खबरपत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button