कृषि र किसान

भारतीय महको मारमा स्थानीय उत्पादन

पुष्प बराल

झापा / सरकारले महको ‘गुणस्तर मापदण्ड’ नतोक्दा झापामा उत्पादित महले बजार पाउन सकेको छैन । झापाको महले बजार नपाउँदा हजारौ किलो मह गोदाममा थन्क्याउन उत्पादक बाध्य बनेका छन् ।
झापामा महको गुणस्तर नापजाँच गर्ने निकाय छैन । गुणस्तर सम्बन्धी न्यूनतम मापदण्डसमेत नभएका कारण मह उत्पादकले आफूखुसी मूल्य निर्धारण गर्दै बिक्री बितरण गरिरहेका छन् । महको गुणस्तर कायमका लागि न्यूनतम मापदण्ड बन्न नसक्दा नेपाली महले बजार नपाउँदा भारतीय महले नेपाली बजारमा कब्जा जमाएको छ ।
नेपाली बजारमा भारतले सस्तो मूल्यमा मह उपलब्ध गराउने भएका कारण झापामा उत्पादन भएको महले बजार नपाएको हो । झापाको शिवसताक्षी नगरपालिका –११मा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थाले उत्पादन गर्दै आएको मह बिक्री नभएको उत्पादकले जनाएका छन् । बजारमा उचित मूल्य नपाउँदा यो वर्ष २० हजार किलो मह गोदाममा थन्किएको सहकारीकी व्यवस्थापक देवी दाहालले बताइन् । सहकारीले यो वर्ष ६० हजार केजी मह उत्पादन गरेको थियो । महिलाको लगानीमा सञ्चालित उक्त सहकारीले ‘सतासी हनी’ नामक मह उत्पादन गर्दै आएको छ ।
बजारमा भारतीय डाबर कम्पनिको मह ५ सय र पतञ्जलीको मह ४ सय रूपैयाँसम्म प्रतिकिलो पाउन सकिन्छ । सहकारीले उत्पादन गरेको मह भने प्रतिकिलो ७ सय रूपैयाँका दरले बिक्री गर्दै आएको छ । ‘भारतको तुलनामा हामीले उत्पादन गरेको महको मूल्य बढी पर्छ’ दाहालले भनिन्, ‘यहाँको महको लागतमात्र बढी पर्ने होइन,उत्पादन पनि गुणस्तरीय हुन्छ ।’ भारतीय उत्पादनसँग नेपाली महले प्रतिष्पर्धा गर्न नसकेको कारणले मह थन्काएर राख्नु पर्ने बाध्यता रहेको दाहाल बताउँछिन् । उत्पादित मह झापासहित ताप्लेजुङ, धनकुटा, विराटनगर, धरान, काठमाडौँ लगायतका बजारमा बिक्री गर्दै आएको बताइएको छ ।
किसानले उत्पादन गरेको मह सहकारीले खरिद गर्ने गरेको छ । कच्चा महलाई सहकारीले मेसिनमार्फत प्रशोधन गर्ने गरेको छ । २०६३ मा स्थापना भएको सहकारीमा ५ सय २३ जना महिला आबद्ध छन् । जसमा ३ सय ५० जनाले व्यवसायिक मौरीपालन गर्दै आइरहेका छन् । सहकारीका सदस्यसँग २ हजार ५ सय घार मौरी रहेको अध्यक्ष दाहालले बताइन् र । सहकारीले ठूलो परिमाणमा मह उत्पादन गर्ने गरेकाले सरकारले सतासीधामको ‘दुधे’ क्षेत्रलाई मह ब्लक घोषणा गरेको छर । मह ब्लकको क्षेत्र विस्तार तथा उत्पादकत्व वृद्धिका लागि प्रदेश सरकारले गत वर्ष सहकारीलाई २५ लाख रूपैयाँ नगद अनुदानसमेत प्रदान गरेको थियो ।
यस वर्ष पनि ब्लक सञ्चालनका लागि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने दाहाल बताउँछिन् ।
बिर्तामोडमा रहेको सहारा नेपाल बचत ऋण तथा सहकारी संस्था र सतासी महिला मौरीपालन सहकारी संस्थाको लागत साझेदारीमा साहारा, सतासी महिला मह उद्योग स्थापना भएको हो । सतासीले सहकारीमा आवद्ध किसानले उत्पादन गरेको मह खरिद गरेर उद्योगलाई दिने गरेको छ । सहकारीले किसानबाट महको गुणस्तर हेरेर ३ देखि ४ सय रूपैयाँसम्म प्रतिकिलो मह खरीद गर्ने गरेको छ । त्यस पश्चात उक्त मह प्रशोधन गरेर उद्योगले प्रतिकिलो ५ सयदेखि ७ सय रुपैयाँसम्म बिक्री गर्ने गरेको बताएको छ ।
सरकारले स्वदेशी महको प्रवद्र्धनमा ध्यान नदिएको अर्जुनधारा नगरपालिका –९का मौरीपालक कृषक भीम कडरिया बताउँछन् । किसानले आफू खुुशी ब्राण्ड स्थापना गर्ने देखि मूल्य निर्धारण गर्नेसम्मका काम गर्ने गरेकाले नेपाली उत्पादनले बजार पाउन नसकेको कडरिया बताउँछन्।
भारतबाट आउने महलाई राजस्वको दायारामा ल्याउनका लागि क्षेत्रीय राजस्व विभागसम्म पुगेपनि अहिलेसम्म कुनै पहल नगरिएको व्यवसायी कडरिया बताउँछन् । कडरियाले ७२ वटा घारबाट वार्षिक २८ सय किलो मह उत्पादन गर्दै आएका छन् । नेपालमा उत्पादित महको बजार सुनिश्चित गर्न आवश्यक रहेको कडरिया बताउँछन् । आफूले उत्पादन गरेको मह नेपालका विभिन्न बजार साथै तेस्रो मुलुकमा समेत निर्यात गर्ने गरेको कडरियाले बताए । भारतीय महको गुणस्तर परीक्षण गरेर मात्र बजारमा ल्याउन आवश्यक रहेको उनी बताउँछन् । अरबौं रुपैंयाँको मह आयात भइरहँदा समेत सरकारले स्वदेशी महलाई प्राथमिकतामा राखेको छैन । जसका कारण मह उत्पादक किसानहरु मार्कामा परेका छन् ।

janasamsadonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button