मूल खबर

पार्टी कार्यकर्तामाथिको गैरराजनीतिक व्यवहारप्रति नेकपाको आपत्ति

काठमाडौं : नेकपा बाजुराले पार्टीका आठ जना जिल्ला नेताहरुको गिरफ्तारी र उनीहरुमाथिको गैरराजनीतिक व्यवहारप्रति पार्टीले गम्भीर आपत्ति प्रकट गरेको छ । जिल्ला इन्चार्ज विनोदले विज्ञप्ति जारी गरी राज्यपक्षबाट दिइएको धाकधम्की र आतङ्कजन्य व्यवहारप्रति भत्र्सना पनि गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, स्थानीय तहदेखि केन्द्रसम्म भ्रष्ट, जनघाती र राष्ट्रघातीको पहिचान बनाइसकेको केपी वलीको दलाल फासिवादी सरकारको गृह प्रशासन बाजुरा जिल्लामा यतिखेर श्वेतआतङ्क मच्चाउँदै फासिवादकोे नाङ्गो अभ्यास गरिरहेको छ । वैज्ञानिक समाजवादको आदर्शप्रति समर्पित बाजुरा जिल्ला समीति सदस्य क.साइमल सार्की, क.प्रेम रावत, क.प्रदीपविक, क.शैलेन्द्र नेपाली, क.दयाराम नेपाली, क.धर्म साउदलगायत आठ जना कमरेडलाई राज्यद्वारा गरिएको गैरन्यायिक गिरफ्तारीप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘असोज ५गतेदेखि गैरन्यायिक गिरफ्तारी मात्र नभएर नेता–कार्यकर्ताका परिवार तथा केटाकेटीलाई प्रहरीद्वारा गरिएको धाकधम्की र आतङ्कजन्य व्यवहारको जिल्ला पार्टी घोर भत्र्सना गर्दछ । कम्युनिस्टको खोल ओडी दलाल संसदीय व्यवस्थाका पहरेदार बनिसकेका पूर्वएमाले–माकेका कतिपय नेता–कार्यकर्ताहरूद्वारा गरिएको गैरराजनीतिक व्यवहार देखेर ती क्रान्तिका भगौडाहरूप्रति दया लागेर आउँछ । हाम्रो पार्टी के स्पष्ट पार्न चाहन्छ भने दलाल संसदीय व्यवस्थाका मतियार र रक्षकहरूले जतिसुकै दमन, धडपकड र षड्यन्त्रका अप्रेसनहरू चलाए पनि तिम्रा संसदीय अखडाहरू ध्वस्त पारी छिट्टै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना भइछाड्नेछ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘दमन, धडपकड र राज्यआतङ्क बन्द गरियोस् तथा गिरफ्तार कमरेडहरूलाई बिनासर्त ससम्मान रिहा गरियोस्, अन्यथा हाम्रो पार्टी जिल्लामा प्रतिरोध सङ्घर्ष गर्न बाध्य हुनेछ ।’   २०७६, १० आश्विन शुक्रबार १२:४६ ई-रातो खबर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button